निर्देशन हुँदा पनि रात्रिबस नरोकेको विषयमा आन्तरिक छानबिन भइरहेको छ : गृहमन्त्री लेखक

आश्विन १५, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्षाका कारण दुर्घटना हुने भनी रात्रिबस रोक्न गरेको यात्रासम्बन्धी निर्देशिका जारी गरेको अवस्थामा कसरी यातायात सञ्चालन भए भनेर आन्तरिक छानबिन भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री लेखकले पूर्वसूचना जारी गर्दा पनि किन रात्रिबस काठमाडौं प्रवेश गर्न रोकिएन भनेर आन्तरिक छानबिन भइरहेको जानकारी दिए ।

मौसम पूर्वानुमानको सूचनामा आधारित भएर बस सञ्चालन नगर्न र नगराउन सूचना जारी हुँदा पनि किन बस सञ्चालन गर्न दिइयो भनेर सांसदहरूले गृहमन्त्रीलाई सोधेका थिए । धादिङको झ्याप्लेखोलामा  बस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

सो विषयमा गृहमन्त्री लेखकले भने, 'एडभाइजरी नोट जारी गरेका थियौं, तर त्यस्तो अवस्थामा पनि कसरी रात्रिबस चले भन्ने छानबिन गरिरहेका छौँ । आन्तरिक छानबिन भइरहेको छ ।'  गृहमन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपत्ति आएमा कसरी उद्धार, राहतलगायतका काम गर्ने भन्नेबारे सरकारले तयारी गरेको बताए ।

कान्तिपुर

Link copied successfully