रोशी खोलालाई तर्काएर बीपी राजमार्गमा ट्य्राक खोलिँदै 

आश्विन १५, २०८१

राजकुमार कार्कीर्

सिन्धुली — बीपी राजमार्गअन्तर्गत नेपालथोक–धुलीखेल खण्डको दुम्जा प्रहरी चौकीनजिक रोशी खोलाले खसालेको सडक मंगलबारदेखि ट्य्राक खोल्न सुरु गरिएको छ । रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर ट्य्राक सडक बनाउन सुरु गरिएको हो । यहाँ करिब १०० मिटर बीपी राजमार्गको सडक रोशी खोलाको बाढीले बगाएको छ ।

सडक डिभिजन कार्यालयबाट एक्स्काभेटर मेसिन लगेर रोशी खोलालाइ डाइभर्ट गरी अस्थायी रूपको ट्य्राक सडक खोल्ने काम सुरु भएपछि दसैंअघि नै नेपालथोक–धुलीखेल खण्ड सुरु हुन्छ भन्ने आश पलाएको स्थानीयहरूले बताएका छन् ।

नेपालथोकनजिक बगाएको एक सय मिटर सडकलाई रोशी खोलालाई डाइभर्ट गरेर अस्थायी ट्य्राक निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालले जानकारी दिए । यो ट्य्राक खुलेपछि काभ्रेको मंगलटारसम्म सवारी सञ्चालन हुने र उताबाट भकुण्डबेसी हुँदै रोशी खोलासम्म आउँदा बीचमा १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्य्राक खोल्नुपर्ने हुन्छ । यो खण्ड ५० किलोमिटर छ ।

बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीन खण्ड सञ्चालनमा रहेको समेत उनले बताए । ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको हमालले बताए ।

संघीय सांसद लेखनाथ दाहाल कामलाई रफ्तार दिएर जतिसक्दो चाँडो सडक खुलाउने प्रयास गरिने बताउँछन् । उनी आफैं त्यस क्षेत्रमा खटिएका छन् । नेपालथोकबाहेक यो खण्डमा ६ स्थानमा रोशीको बाढीले कालोपत्रेसहितको सडकमा पूर्ण क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडा करिब आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २०० मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । 

थली बेसीमा पनि रोशी खोलाले २०० मिटर र नार्के पुलनजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ । रोशी खोलामा बाढी घटेकाले खोलालाइ डाइभर्सन गरेर अस्थायी सडक निर्माण गर्न स्थानीयले सुझाएका छन् ।

कलाघर सिन्धुलीका अध्यक्षसमेत रहेका सुमन मगरले राज्यका सबै संयन्त्र लागेर वैकल्पिक राजमार्गलाई छिटो सञ्चालनमा ल्याउन अनुराध गरेका छन् । सिन्धुलीतर्फ नेपालथोक–खुर्कोट खण्डको सुनकोसी गाउँपालिका दुम्जा, कमेरेफाँट र टुपीडाँडामा बाढीपहिरोले क्षति गरे पनि सडक सञ्चालनमा आइसकेको छ । 

राजकुमार

Link copied successfully