काठमाडौँ — बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । दसैंको मुखैमा कतै बाढीले सडक बगाएको छ त कतै जिल्ला जोड्ने पक्की पुल बगाएर आउजाउ बन्द छ ।
सबैभन्दा बढी क्षति भने बीपी राजमार्गको नेपालथोक खण्डमा भएको छ । जहाँ विभिन्न खण्ड गरेर एक किलोमिटर भन्दा बढी सडक बगेको छ । जसले गर्दा यो खण्डमा यातायात ठप्प छ ।
देशभर सडक पूर्वाधारको अवस्था के छ र कहिलेसम्म सबै सडकहरू सञ्चालनमा आउँछ भनेर कान्तिपुरका विमल खतिवडाले सडक विभागका महानिर्देशक रामहरि पोखरेलसँग गरेको संक्षिप्त कुराकानी :
सडक पूर्वाधारमा के कति क्षति भयो ?
सडक विभागका महानिर्देशक इन्जिनियर रामहरि पोखरेल
प्रारम्भिक क्षतिका विवरण आएका छन् । केही आउने क्रममै छ । अहिलेसम्म प्रारम्भिक विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको छ । यो निर्माणमा लाग्ने लागतसहितको प्रारम्भिक क्षति हो । बाढी बर्खाले ५ वटा पक्कि पुल र २ वटा बेलिब्रिजमा क्षति भएको छ ।
अवरुद्ध सडक खुलाउन कसरी काम भइरहेको छ ?
अहिले सडक सञ्चालनमा ल्याउने हिसावले मात्र काम भइरहेको छ । थप काम गर्न बजेट चाहिने हुन्छ । त्यसका लागि अर्थ मन्त्रालयबाट बजेट माग गर्नुपर्छ । हामीसँग छुट्टै स्रोत छैन । विभिन्न खण्डमा खसेको पहिरो पन्छाएर सडक खुलाई यात्रा सहज गराउने काम मात्र भएको छ । पुल बगेको ठाउँमा बेलिब्रिज राख्ने तयारी छ । यसका लागि पनि बजेट नै चाहिन्छ ।
दसैंसम्म सडक पूर्वाधार कसरी सहज बन्छन् ?
पानी नपरेर फटाफट काम हुन पाए बढीमा एक हप्ताभित्र सबै सडक सञ्चालन गर्न सकिन्छ । जहाँ मेसिनहरु भेटिन्छन् । त्यसैलाई प्रयोग गरेर पहिरो पन्छाउने काम गरेका छौं । मुख्य राजमार्गहरूमा तयारी अवस्थामा पहिरो पन्छाउने मेसिनहरू राखेर काम गरिएको छ । मौसमअनुकूल भएको खण्डमा सबै सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउन समस्या हुने छैन ।
बीपी राजमार्गको धेरै ठाउँमा सडक बगेको छ, दसैंअघि यो सडक सञ्चालनमा आउँछ ?
यो राजमार्गको धेरै ठाउँमा समस्या छ । सडक विभागबाट प्राविधिक सहितको टोली भकुण्डेबेंसी जाँदै समस्या भएको ठाउँमा पुगिसकेको छ । कहाँ सम्म समस्या छ । टोलीले सबै हेर्ने छ । भकुण्डेबेसीदेखि नेपालथोकको विभिन्न खण्डमा धेरै समस्या छ । जहाँ सडक बगाएको छ, त्यहाँ रोशी खोलाको पानी घट्नासाथ अस्थायी रूपमा खोलाबाटै ग्राभेल राखेर सडक बनाइने छ ।
विभिन्न ठाउँमा रहेका मेसिनहरूलाई लगेर सडक खोल्ने काम भइरहेको छ । यस क्षेत्रको धेरै ठाउँमा पानी नपरे एक हप्ताभित्र अस्थायी रूपमा सडक सञ्चालनमा आउने छ । दसैंअघि नै सडक खोल्नेगरी नै काम हुँदै छ । खुर्कोटको पुल मर्मत गरेर सवारी सञ्चालनमा ल्याउने काम पनि भइरहेको छ ।
