बाढीमा मरेका पशुपन्छीको उचित व्यवस्थापन, संक्रमित क्षेत्रमा हिँडडुल गर्दा मास्कको प्रयोग र पानी निर्मलीकरण अति आवश्यक छ । महामारी फैलन नदिन आफू सतर्क रहने र अरूलाई समेत सोहीबमोजिम सल्लाह दिनुपर्छ ।
म जनताले सहज रूपमा स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा बाढीपहिरो तथा पानीको असहज निकासले पछिल्ला दिन नेपालको राजधानीलगायत विभिन्न भू–भागका दृश्य हृदयविदारक बनेका छन् । पीडितहरूमा आवासको समेत अभाव र बाढीका कारण आएको स्वास्थ्य समस्याका कारण समस्या झन्झन् बढेको छ ।
बाढीजन्य दैवीप्रकोपले तहसनहस पारेको मानव जीवन हेर्न त्यति सहज छैन । तर, केही दिनयता पहाडी क्षेत्रमा आएको बाढीपहिरो र जलमग्न तराईका भयावह दृश्य सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती छन् । अझ राजधानीमा देखिएको बाढीको प्रकोपले निकै नै प्रताडित बनाएको छ ।
बाढी तथा जलमग्न सहरका कारण केही दिनदेखि खानाको जोहो गर्न नसकेर भोकभोकै रुनु परेको हृदयविदारक दृश्य होस् वा भेलले बगाएका मृत शरीर, आफ्नो बासस्थान नै उठिबास हुने गरी जलमग्न भएका घरको दृश्य होस् वा पानीमा तैरिरहेका पशुजन्य वस्तुहरूको दृश्य । पीडितहरू पीडामा रहेको बोध हुने हृदयविदारक झलकका केही उदाहरण मात्र हुन् । बाढी प्रकोपका कारण कम्तीका दुई सय व्यक्तिको मृत्यु भइसकेको छ, कैयौं बेपत्ता छन् । अस्पतालमा भर्ना हुनेहरूको संख्या पनि यकिन छैन । सरकारी आँकडा त फगत औपचारिकता मात्र हो, वास्तविक आकलन स्थानीय रूपमै अवलोकन गरे मात्र बुझ्न सकिन्छ, सत्यता यही हो ।
जे होस्, पीडाको समयमा पनि आफ्नो आत्मबल कमजोर पारिनुहुन्न । समस्याको समाधानमा आफू सदैव सचेत रहनु नै उत्तम विकल्प हुनेछ । यस्तै अभ्यासबाट मात्र बाढीबाट उत्पन्न पीडाबाट उन्मुक्ति पाइनेछ । नभए झन्झन् दुःखका भारले थिच्दै कमजोर बनाउनेछ । बाढीबाट उत्पन्न स्वास्थ्य समस्यामा आफू झन् सचेत रहनुपर्छ । बेलैमा सतर्क भएर अगाडि बढ्ने हो भने स्वास्थ्य समस्या वा महामारीबाट सहजै बच्न सकिन्छ । तसर्थ, बाढी प्रकोपमा रहेका सबैले पानी निर्मलीकरण गरेर मात्र पिउने, काँचो खानेकुरा नखाने बरु राम्ररी पकाएर मात्र खाने, खाना खानुअघि वा दिसापिसाब गरेपश्चात् राम्ररी हात सफा गर्ने प्रक्रिया अवलम्बन गर्नुपर्छ ।
संक्रमित क्षेत्रमा हिँडडुल गर्दा मास्कको प्रयोग गर्ने, सुत्केरी तथा बालबच्चाको उचित ढंगले सफाइ गर्ने र उनीहरूको खानपिन तथा सफाइमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । महामारी नफैलियोस् भन्ने उद्देश्यका साथ आफू सर्तक रहने र अरूलाई समेत सोहीबमोजिम सल्लाह दिने गर्नुपर्छ । यसका लागि कम्तीमा आवास क्षेत्रभन्दा परको स्थानमा शौच (दिसापिसाब) गर्ने, मरेका पशुपन्छीलाई आवास क्षेत्रभन्दा परको स्थानमा गाड्ने, संक्रमित भू–भागमा निर्मलीकरण गर्ने धूलो वा झोल (पोटास, फिनाइल) आदिको प्रयोग गरिनुपर्छ ।
बाढीबाट आएको प्रकोपका कारण मानिसको स्वास्थ्यमा मुख्यतः छाला, आँखा तथा आन्द्रासम्बन्धी बढी समस्या सुरुवाती दिनमा देखिन्छ । पछिल्ला दिन श्वासप्रश्वासलगायत अन्य समस्या बल्झने गर्छ । मुख्यतः छालको बाह्य संक्रमण, ढुसी पर्ने, चिलाउने जस्ता समस्याले पीडितहरू झन् समस्यामा पर्ने गर्छन् । आँखा पाक्ने, चिलाउने, रातो हुने र दुख्ने समस्या पनि धेरै व्यक्तिमा हुने गर्छ ।
संक्रमित खानेकुराबाट पेटको समस्या धेरैमा देखिन्छ । ‘फुड प्वाइजनिङ’, झाडापखाला, उल्टी आउने समस्याका कारणले धेरै बाढीपीडितलाई सताउँछ । यीमध्ये केही रोग एकबाट अर्कोमा सर्ने भएकाले महामारी फैलने खतरा सदैव यथावत् रहन्छ, तसर्थ सबैले यी विषयमा ध्यान दिनु जरुरी छ । हुन त विभिन्न सहयोगी संस्थाको ठूलो अनुदानसहितको सेवामार्फत पीडितलाई राहत वितरण त भई नै रहेको छ भने अर्कातिर स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवासमेत प्रदान भइरहेको छ । प्रकोप क्षेत्र र पीडितको उचित व्यवस्थापन र राहतमा सरकार कटिबद्घ हुनुपर्ने देखिन्छ ।
कसरी गर्ने पानी निर्मलीकरण ?
दूषित पानीबाट धेरै रोग फैलने गर्छ । तसर्थ प्रकोप क्षेत्रमा कम्तीमा पानी निर्मलीकरण गर्नु अति आवश्यक मानिन्छ । पानी निर्मलीकरणका धेरै विधि छन् । ठूलाठूला ट्याङदेखि घरमा पानी निर्मलीकरणका विधि फरकफरक तवरका हुन्छन् । अझ बाढी प्रकोप क्षेत्रमा रहेको असुविधालाई ध्यानमा राख्ने हो भने पानी निर्मलीकरणका केही सीमित तरिका मात्र प्रयोगमा आउँछ ।
पहिलो त पानीलाई उमाल्नु नै हो । तर बाढी प्रकोप क्षेत्रमा पानी उमाल्ने व्यवस्था नहुन सक्छ । त्यस अवस्थामा पानीमा निर्मलीकरण गर्ने चक्कीको प्रयोग गरिनुपर्छ । कम्तीमा १० देखि १५ मिनेटसम्म भुलुकभुलुक पानी उमाल्नुपर्ने हुन्छ । चक्कीको प्रयोग गर्दा पानीमा कम्तीमा ३०–६० मिनेट रहेपश्चात् मात्र पानी पिउनयोग्य हुन्छ । यसका अलावा सामान्य रूपमा बोतलमा पनि राखी सूर्यको किरणमा कम्तीमा २ घण्टा राखेमा ‘अल्ट्राभाइलट–रे’ ले जीवाणु निर्मूल पार्न सक्छ । पानीलाई फिल्टरको सहायताबाट छानेर पिउनु अर्को विकल्प हो । तर फिल्टर सहज उपलब्ध नहुने भएकाले यो विकल्प पनि आफैंमा चुनौतीपूर्ण छ । अन्तमा केही नभएमा पानी छानेर वा थिग्राएरसमेत पिउनु राम्रो मानिन्छ । बाढी प्रकोप क्षेत्रमा यसका अलावा अन्य विधि सम्भव नहुने भएकाले पीडितहरूले यिनै विकल्पबाट सक्दो निर्मलीकरण गरेको पानी पिउनु उत्तम हुनेछ ।
महामारीको खतरा हुने स्थानमा पानी निर्मलीकरणबाहेक अन्य कुरामा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । हरेक व्यक्तिले खानेकुरा काँचै नखाने, राम्ररी पकाएर खाने, काँचै खान मिल्ने सलादलाई पनि कम्तीमा तातोपानीमा केहीबेर पखालेर मात्र प्रयोग गर्नु आवश्यक छ । बाढीमा मरेका पशुपन्छी, माछा, घोंघी, गंगटा नखाने बरु तिनलाई उचित तवरले व्यवस्थापन वा गाड्ने गर्नुपर्छ । दिसापिसाबका लागि सम्भव भए स्थायी नभए अस्थायी चर्पीकै प्रयोग गरिनुपर्छ । यस्तो क्षेत्रमा सुताइबसाइसमेत अव्यवस्थित हुने सम्भावना भएकाले सतर्कता अवश्य अपनाउनुपर्छ । तसर्थ झुलको प्रयोग आवश्यक छ, यसबाट लामखुट्टेको टोकाइबाट त बच्न सकिन्छ नै खुला ठाउँमा सुत्दा अन्य साना किरा वा सर्पको टोकाइबाट पनि बच्न सकिन्छ । आवश्यकताअनुसार आफूले लिनुपर्ने नियमित स्वास्थ्य सेवा लिनु आवश्यक हुन्छ ।
पूर्वसतर्कता
अहिले पनि वर्षाको जोखिम जारी नै छ । तसर्थ आफू बसेको क्षेत्रमा बाढीको प्रकोप हुने सम्भावना छ भने वा सरकारले जोखिमपूर्ण क्षेत्र घोषणा गरी सतर्कता अपनाउन अनुरोध गरेको छ भने सोहीबमोजिम निर्देशन पालना गर्नु बुद्धिमतापूर्ण हुनेछ । धेरै खतरा मानिएको क्षेत्रबाट अस्थायी रूपमा बसोबास सार्नु जरुरी हुन्छ भने कम खतरा क्षेत्रमा आवश्यक पूर्वतयारीका साथ बस्नु राम्रो मानिन्छ । यसले भैपरी आउने जोखिमलाई कम गर्न सक्छ ।
धेरै दिनसम्म नबिग्रने आवश्यक खाद्य सामग्री, सफा पानीका बोतल, सम्भावित रोगको निदानका लागि न्यूनतम औषधि वा प्राथमिक उपचारका सामग्री (झुल, टर्चलाइट, आवश्यक सम्पर्क नम्बर, पूर्ण रूपमा चार्ज मोबाइललगायत) सुरक्षित राख्नुपर्छ । यस्तो अवस्थामा आफ्ना बालबालिकालाई स्कुल नपठाउनु नै उचित हुन्छ भने अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कनु विवेकपूर्ण हुनेछ । न्यूनतम यत्तिको व्यवस्था गर्न सकेमात्र धेरै जोखिमबाट बच्न सकिनेछ ।
बाढी तथा पहिरोपीडितहरूलाई उचित राहत, बासस्थानको व्यवस्थालगायत महामारीबाट बचाउने हरप्रयास सरकारी निकायबाट गरिनुपर्छ । जलमग्न सहर बनाउने खोलानालाको बहाव रोक्ने गरी भइरहेको जमिन अतिक्रमण तथा भवन निर्माण जस्ता कार्यलाई आगामी दिनमा हतोत्साहित गर्नुपर्छ । सरकारी निकायले पनि स्थानीय वास्तविकताको अवलोकनका आधारमा महामारी फैलन नदिन वा महामारी फैलिएमा गर्नुपर्ने उचित व्यवस्थापनका लागि सदैव पूर्वतयारी अवस्थामा रहनुपर्छ ।
– साह विराट मेडिकल कलेजको आकस्मिक कक्षमा विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन् ।
