झ्याप्ले खोलामा रोकियो खगोलशास्त्रको जिज्ञासा र कोरिया यात्रा

रातारात काठमाडौं पुग्नुपर्ने चुनौतीमा रहेका ३५ जनाको सपना झ्याप्ले खोलामा पुरियो

आश्विन १५, २०८१

घनश्याम गौतम

Astronomical curiosity and travel to Korea stopped at Zhaple river

बुटवल — राजधानी प्रवेशमार्गको झ्याप्ले खोलाको पहिरोमा पुरिएर परिवारै गुमाएपछि गुल्मी दरबार गाउँपालिका–७ लामडाँडाका ३४ वर्षीय विवेक रायमाझी सम्हालिन सकेका छैनन् । उनले पहिरोमा २ वर्षका छोरा, २६ वर्षीया श्रीमती र ६३ वर्षका बुबा गुमाएका छन् । 

विवेकले ११ वर्षको हुँदा आमा गुमाए । बाबु जुद्धबहादुर भारतको हैदरबादमा जागिरे थिए । घरमा अर्को सहारा नभएपछि विवेक र भाइ विजय मामा मेखबहादुर खत्रीको घरमा बस्न थाले । मामाघरमा हुर्किएका विवेकले २०७८ सालमा प्रमितासँग विवाह गरे । विवाहपछि बुटवल झरे । बुटवलको तिलोत्तमा नगरपालिका–३ शान्तिचोकमा बाइक अड्डा नामको मोटरसाइकल ग्यारेज खोले । श्रीमती प्रमिताले नास्ता पसल चलाइन् । 

अर्को साथीसँग मिलेर फल्स सिलिङको व्यापार पनि सुरु गरेका थिए । विवेकका भाइ विजय काठमाडौंमा बैंकको जागिरे थिए । विजयले दाजुलाई काठमाडौंमा सँगै बसेर व्यवसाय गर्न आग्रह गरेपछि ६ महिनाअघि विवेकले थानकोटमा मोटरसाइकल ग्यारेज खोलेका थिए । प्रमिता नागरिकताको प्रतिलिपि बनाउन काठमाडौंबाट १५ दिनअघि गुल्मी पुगेकी थिइन् ।

केही दिन माइतीमा बसेर उनी नागरिकता बनाएर बुधबार बुटवल झरिन् । रोजगारीका लागि भारतको हैदराबादमा रहेका विवेकका बुबा (प्रमिताका ससुरा) बिहीबार बुटवल आउँदै थिए । बुटवलमा भेट भएपछि शुक्रबार लु१ज ४५७८ नम्बरको बिंगर गाडी चढेर बुटवलबाट काठमाडौं हिँडेकी प्रमिता, उनका २ वर्षका छोरा कृश र ६३ वर्षका ससुरा जुद्धबहादुर धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिए । तीनै जना पहिरोमा पुरिएपछि विवेक अहिले एक्ला भएका छन् । परिवारका नाममा उनीसँग अहिले भाइ विजय मात्र छन् ।

झ्याप्ले खोलाको पहिरोमा त्यही गाडीमै पुरिएर स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थायी घर भएर बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा पढ्ने १५ वर्षका जुम्ल्याहा दाजुबहिनी दीपेश र दीपिका भट्टराई र उनीहरूकी आमा सीताले पनि ज्यान गुमाएका छन् । कालिका मानवज्ञान माविका ‘टपर’ मध्ये थिए, दीपेश र दीपिका । उनीहरू एस्ट्रोनोमी (खगोल शास्त्र) का पनि जिज्ञासु थिए । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुन लागेको कार्यक्रम ‘नेसनल एस्ट्रोनोमी ओलम्पियाड–२०२४’ मा भाग लिन आमा सीतासँगै उनीहरू शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंका लागि माइक्रो चढेका थिए । 

Astronomical curiosity and travel to Korea stopped at Zhaple riverतर, काठमाडौं पुगेर प्रतियोगितामा सहभागी हुने र दोस्रो चरणमा बंगलादेशमा उत्कृष्ट भएर अमेरिका पुग्ने दाजुबहिनीको सपना पहिरोमै पुरियो । बंगलादेशमा आयोजना हुने उक्त ‘कन्फ्रेन्स’ मा ३२ देशका विद्यार्थी सहभागी हुने विद्यालयले जनाएको छ । भट्टराई परिवार बुटवल उपमहानगर पालिकास्थित योगीकुटीमा बस्दै आएको थियो । कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैं ‘कन्फ्रेन्सको फारम’ भरेर छनोटमा परेका थिए । ‘कार्यक्रम यही असोज १७ गते हो,’ उनले भने, ‘सायद काठमाडौंमा पढ्ने दाइदिदीसँग पनि भेटघाट गर्ने मनसायले दुई/चार दिनअघि नै गएको हुनुपर्छ ।’ 

बुटवल उपमहानगरपालिका–१६ सेमलारका ३५ वर्षीय प्रकाश कुँवर १३ वर्षदेखि दक्षिण कोरियामा रोजगारीमा थिए । प्रकाश तीन महिनाअघि विवाह गर्ने गरी नेपाल फर्किए । सात भाइमध्येका छैटौं (ठाइँलो) प्रकाशले साउन २७ मा काठमाडौंकी अनु मल्लसँग विवाह गरे । प्रकाशको जन्मघर गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहमा हो । काठमाडौंमा विवाहपछि घुम्न र विवाह दर्ता गर्न प्रकाश र अनु बुटवल झरेर जन्मघर गुल्मी घुम्न गए । एक साताअघि बुटवल झरेर उनीहरूले बुटवल उपमहानगरपालिका–१६ मा विवाह दर्ता गरे ।

प्रकाशको कात्तिक ४ मा (अक्टोबर २०) मा कोरिया फर्कने टिकट थियो । काठमाडौंमा पनि घर भएका उनीहरू अब उतैबाट कोरिया जाने गरी प्रकाश, श्रीमती अनु र बहिनी सिर्जनालाई लिएर शुक्रबार बुटवलबाट काठमाडौंका लागि माइक्रो बस चढे । बहिनी सिर्जना भारतको बंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर बेलायत जानका लागि भाषा कक्षा पढ्दै थिइन् ।

दाजुलाई कोरियाका लागि बिदाई गर्ने र भाउजूसँग बसेर भाषा कक्षाको परीक्षा दिएर बेलायत पुग्ने सिर्जनाको सपना पनि झ्याप्ले खोला पहिरोमै पुरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका कर्मचारी लक्ष्मण कार्कीले पहिरोमा पुरिएको माइक्रोमा चालक र २ वर्षको बच्चासहित ११ जनाले टिकट काटेको र ३ जना बीच बाटोबाट चढेका थिए । गाडीमा सवार १४ जनाले नै ज्यान गुमाएका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully