हिलाम्मे राजमार्गमा भोकैप्यासै पैदल यात्रा

बीपी राजमार्गमा फसेका सयौं यात्रु उद्धार नभएपछि घण्टौं हिँडेर गन्तव्यतर्फ जाँदै 

आश्विन १५, २०८१

ज्योती श्रेष्ठ

Hungry hike on the Hilamme Highway

काभ्रे — घुँडासम्मै डुबाउने हिलोका कारण सडकको नामोनिसान देखिँदैन । यात्रुहरू एकछेउको भित्तो समातेर लामबद्ध बिस्तारै पाइला अघि सार्दै छन् । भित्तो नसमाते हिलोमा अडिने आधार छैन । यसरी हिँड्नेमा पिठ्युँमा दुधेबालक बोकेका महिलादेखि लट्ठी टेक्दै गरेका वृद्धवृद्धा पनि छन् । 

सोमबार दिउँसो बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डे सडकखण्डको दृश्य हो यो (तस्बिर) । बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बीपी राजमार्ग शुक्रबारदेखि नै अवरुद्ध छ । आइतबारदेखि वर्षा रोकिए पनि मुख्य राजमार्गमा सयौं यात्रु फसेका छन् । कैयौं यात्रु उद्धार हुने सम्भावना नदेखेपछि पैदलै गन्तव्यमा पुग्ने प्रयासमा छन् । आइतबारदेखि गन्तव्यतर्फ हिँडेका उनीहरूमध्ये कतिपयले पानीसमेत पिउन नपाएको गुनासो गरेका छन् । 

जनकपुरकी रविनाकुमारी साह बैंकको परीक्षा दिन बिहीबार काठमाडौंतर्फ हिँडेकी थिइन् । जनकपुरबाट हिँडेको गाडी शुक्रबार काभ्रेको मंगलटारबाट अघि बढ्न सकेन । ‘माथिबाट पहिरो आएर पुरिएला भन्ने पीर भयो,’ उनले भनिन्, ‘सडक पनि रोशी खोलाले कटान गरिरहेको थियो । कहाँ जाने, के गर्ने भएको थियो ।’ त्यसपछि पैदलै काठमाडौं आउन लागेकी उनी रोशी तर्न खोज्दै थिइन्, खोलाले बगाएर केही परसम्म पुर्‍यायो । उनलाई त वरपर भएका साथीहरूले तानेर बचाए तर कागजात, कपडा र सामान भएको झोला बगायो । ‘भाग्यले बाँचेर आइयो,’ उनले भनिन् । शरीरमा भएको एकसरो कपडाबाहेक उनको साथमा अहिले केही छैन । ‘उद्धारका लागि प्रहरी–प्रशासनलाई कति खबर गर्‍यौं, हाम्रो कुरा कसले सुन्छ र ? सरकारका तर्फबाट कुनै सहयोग नमिल्ने भएपछि आइतबार बिहानदेखि १६ घण्टा हिँडेर यहाँ (बेला) सम्म आइपुगियो, अब त काठमाडौं पुगिन्छ भन्ने आस छ,’ उनले भनिन् । 

Hungry hike on the Hilamme Highwayबीपी राजमार्ग काठमाडौंलाई पूर्वी पहाड र तराई जोड्ने प्रमुख सडक हो । यही सडकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सयौं यात्रु फसेका थिए । रविनाजस्तै बीपी राजमार्गका विभिन्न खण्डमा फसेका थुप्रै यात्रु घण्टौं हिँडेर सोमबार काभ्रेको पाँचखाल नगरपालिकास्थित बेलासम्म आइपुगेका हुन् । बीपी राजमार्गका सिन्धुलीतर्फको नेपालथोक–खुर्कोट, खुर्कोट–सिन्धुलीमाडी र सिन्धुलीमाडी–बर्दिवास खण्ड ‘डाइभर्सन’ गरेर सञ्चालनमा आए पनि धुलिखेल–नेपालथोक खण्ड भने अझै अवरुद्ध छ, जसका कारण काठमाडौंतर्फ आउने र रामेछाप तथा सिन्धुली जाने यात्रुहरू हिँड्न बाध्य भएका हुन् ।

मुख्य राजमार्गमा पहिरो र बाढीले थुपारेको लेदोका कारण यात्रुलाई हिँड्न पनि कष्टकर छ । पिठ्युँमा दुधेबालक (छोरी) बोकेर हिलाम्मे सडकमा पार गर्दै गरेकी एक महिलाले भनिन्, ‘बाटोको नामोनिसान कतै भेटिँदैन, घुँडासम्म आउने हिलो छ, बाध्यता परेपछि त्यही हिलोमा भए पनि जानैपर्‍यो, भकुन्डेसम्म पुगिन्छ कि भन्ने लागेको छ ।’

रामेछापको तामाकोशी अस्पताल मन्थलीमा स्वास्थ्य शिविरका लागि काठमाडौंबाट शुक्रबार हिँडेका मुटरोग विशेषज्ञ डा. अभिषेक ठाकुरको टोली शिविरसम्म पुग्न भ्याएन । सडक अवरुद्ध भएपछि उनी शुक्रबारदेखि मंगलटारमै रोकिए । ‘पहिरोका कारण हामी शुक्रबार र शनिबार मंगलटारमा बस्यौं,’ उनले भने, ‘पैदल भए पनि फर्कने भनेर बाटो खोज्दै जंगलको बाटो पहाड खोला तर्दैर् १३ घण्टामा भकुन्डे आइपुग्यौं, बाटोमा धेरै बिरामी पनि देख्यौं, सामान्य उपचार पनि साथीहरूले गर्नुभयो, हामीले दुई दिन रोशीमा जे देख्यौं, त्यो निकै नै दर्दनाक थियो ।’

पोखरा घर भएका विकास बराल सिन्धुलीदेखि काठमाडौं फर्कंदै थिए । बाढी र पहिरोले राजमार्ग अवरुद्ध भएपछि उनी काठमाडौंसम्म पुग्न पाएका छैनन् । मंगलटारमा शुक्रबार र शनिबारको रात जसोतसो कटाएपछि हिँडेरै काठमाडौं पुग्न उनी पनि अन्यसँग मिसिए । ‘बाटो सबै बन्द छ, एम्बुलेन्समै दुई जनाको मृत्यु भएको देख्यौं, खोलाले बगाएर ल्याएको पनि देख्यौं, तर उद्धार कसरी गर्ने, कसले गर्ने ? स्रोतसाधन केही छैन, औषधि उपचार छैन, खानका लागि पानीसमेत छैन, निकै दर्दनाक स्थिति थियो,’ मंगलटारमा दुई दिनमा देखेको कुरा बताउँदै उनले भने ।

झापाबाट काठमाडौं हिँडेका लेखनाथ न्यौपाने बाढी र पहिरोका कारण बीपी राजमार्गस्थित रोशी गाउँपालिका–११ कालढुंगामा रोकिएका थिए । ‘दुईपट्टिबाट रोशी खोला बगिरहेको छ, हाम्रो आँखा अगाडि नै १०/१२ वटा घर बाढीले बगाएर लग्यो । खोला काट्दै अलि पर स्कुलमा दुई रात बस्यौं, खानापिना केही नभएपछि त्यहाँबाट आइतबार बिहान हिँडेका हौं,’ उनले भने, ‘बाटो हिँड्न पनि कहाँ सजिलो छ र, तल पहिरो माथिबाट पनि पहिरो । बाटोमा हातखुट्टा भाँचिएका र घाउचोट लागेका कति छन्, उनीहरूले सामान्य उपचारसमेत पाएका छैनन् ।’ जेनतेन भकुन्डेमा आएर खाना–बास पाएको उनले बताए । 

Hungry hike on the Hilamme Highwayराजमार्गस्थित बेलामा करिब डेढ घण्टा रहँदा २ सय जना यात्रु हिँडेरै आइपुगेका थिए । बेलामा भेटिएका धेरै यात्रुले त्यहाँसम्म आइपुग्न २० घण्टासम्म हिँडेको सुनाइरहेका थिए । उनीहरूका अनुसार सोमबारसम्ममा सयौं यात्रु हिँडेरै बेलासम्म आइपुगेका छन् भने अझै धेरै यात्रु मंगलटार, कालढुंगा र नार्केमा अलपत्र छन् । आइतबार साँझ भकुन्डेसम्म आइपुगेका यात्रुहरूका लागि त्यहाँका जनप्रतिनिधि, स्थानीय र स्वयंसेवकहरूले खाने–बस्ने प्रबन्धका साथै सामान्य औषधोपचारको व्यवस्था गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार सोमबार मात्रै ३५ सय पैदल यात्रु काभ्रे भन्ज्याङसम्म आइपुगेका थिए । रोशी गाउँपालिकाको मंगलटार, कालढुंगा र नार्केमा फसेका लगभग सबै यात्रुको सोमबार उद्धार भएको उनले जानकारी दिइन् । उनका अनुसार हाल बीपी राजमार्गको रोशी क्षेत्रमा करिब ५ सय वटा गाडी र तिनका चालक भने अलपत्र परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख विकास तामाङका अनुसार काभ्रेको चौकी डाँडा–नेपालथोक सडक खण्डको २९ किलोमिटर बाटो पूर्ण रूपमा बन्द छ । अहिले धुलिखेलदेखि चौकी डाँडासम्म एकतर्फी यातायात सुचारु गरिएको छ । ‘चौकी डाँडानिर करिब ५० मिटर सडक नै बगाएको छ । त्यसका साथै दर्जनौं स्थानमा बाढीपहिरोले सडक बिग्रिएको, भासिएको छ,’ उनले भने, ‘त्यो स्थानको सडक अहिले तत्काल खोल्न सकिने अवस्था छैन । त्यसैले पनि उद्धारमा कठिनाइ भइरहेको छ ।’ 

नेपाली सेनाको कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहका अुनसार सोमबार सेनाको हेलिकोप्टरले काभ्रेका रोशी क्षेत्रमा फसेका ४ सय २८ जनाको उद्धार गरेको छ । उनका अनुसार निजी हेलिकोप्टरहरूबाट पनि करिब १ सय जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार नेपाली सेनाका साथै निजी हेलिकोप्टरले आइतबार १ सय ५५ घाइतेसहित यात्रु गरेर कुल ३ सय ३७ जनाको उद्धार गरेको थियो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully