वाग्मतीमा सर्वदलीय बैठक : मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय

आश्विन १४, २०८१

सुवास विडारी

All-party meeting in Wagmati: Decision to provide Rs 2 lakh relief to the families of the deceased

मकवानपुर — बाढीपहिरो र डुबानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउन वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु सहमत भएका छन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकले विपद्‌बाट प्रभावित प्रदेशभित्र बसोबास गर्ने परिवारलाई राहत तथा क्षतिपूर्ति स्वरुप प्रतिमृतक दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढीपहिरोले आवासविहीन भएका प्रभावित परिवारलाई अस्थायी संरचना निर्माणका लागि तत्काल एकलाख रुपैयाँ दिने निर्णय भएको सत्तारुढ नेपाली कांग्रेस वाग्मती प्रदेशका सचेतक गोविन्द लम्सालले जानकारी दिए।

उनका अनुसार सर्वदलीय बैठकले तत्काल उद्दार, राहत र पुनर्निर्माणमा जुट्ने निर्णय गरेको छ । बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, भौतिक रुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरु मार्फत बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बाढीपहिरोले वाग्मती प्रदेशका १३ जिल्लामा १ सय ३९ जनाले ज्यान गुमाएका छन् । ५५ जना अझै बेपत्ता छन् । २ सय २६ परिवार प्रभावित हुँदा ३१ वटा घरमा पूर्ण क्षति भएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully