काठमाडौँ — विपद् पूर्व तथा विपद्का पछाडि महत्त्वपूर्ण भूमिका खेल्नलाई स्थापना गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बाढीपहिरोले ठूलो क्षति पुर्याएकै दिन गत शनिबार बेलायततर्फ लागेका छन् ।
गत शुक्रबार र शनिबारको अविरल वर्षाले काठमाडौंसहित देशका विभिन्न भाग बाढी र पहिरोले अस्तव्यस्त बनेको छ । २ सय बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
काठमाडौं आउने पृथ्वी राजमार्ग, बीपी राजमार्ग सबै अवरूद्ध छन् । राजमार्गमा आएको पहिरोमा यात्रुबाहक बस नै पुरिएका थिए । राजमार्गमा तीन दिन बढी समयदेखि यात्रुहरु अलपत्र छन् । उनीहरुको बेलैमा उद्दारका लागि समन्वय हुन नसकेको खबर आइरहेका छन् ।
कार्यकारी प्रमुख पोखरेलले निजी काममा जरूरी परेर आफू बेलायत आउनु परेको कान्तिपुरलाई बताए । उनले मन्त्री तथा सचिवलाई जानकारी गराएर एक साताको बिदा स्वीकृत गराएर आफू यता आएको बताएका छन् । उनले छोरीको स्वास्थ्य उपचारका लागि अत्यावश्यक परेरै पूर्व योजना अनुसार बिदामा बसेको जनाएका छन् । उनले आफूले सक्नेजति समन्वय बाहिरबाट पनि गरिरहेको दाबी गरेका छन् ।
विपद जोखिम न्यूनिकरण ऐन, २०७४ अनुसार तोकिएको काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था गरिएको छ । २०७६ मंसिर २९ बाट प्राधिकरणको स्थापना गरिएको हो ।
गृहमन्त्रालय मातहत राखिएको प्राधिकरणको मुख्य काम विपद्का बेला खोज, उद्धार तथा राहत प्रदान गर्ने, गराउने तोकिएको छ । विपद्का बेला सुरक्षा निकायलाई तत्काल परिचालन गर्ने गरी दुरूस्त राख्ने, विस्थापतिलाई अस्थायी पुनर्स्थापित गराउने जस्ता जिम्मेवारी प्राधिकरणको छ ।
संघ, प्रदेश र स्थानीय तह देखि गैर सरकारी संस्था, निजी क्षेत्र सबैसँग समन्वय गरी प्रभाकारी काम गर्ने जिम्मेवारी पनि प्राधिकरणकै हो । त्यतिमात्रै होइन, विपद्का सम्भावित घट्नाबारेमा सम्बन्धित सबैलाई पूर्व जानकारी गराउने कामपनि प्राधिकरणलाइ तोकिएको छ । उद्धार तथा राहत समबन्धी कार्यको समन्वय तथा परिचालन गर्न राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको सञ्चालन तथा व्यवस्थापन पनि प्राधिकरणले गर्नुपर्छ ।
