शनिबार विपद् व्यवस्थापनको बैठक र मन्त्रिपरिषद्को बैठक राख्नेबारे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले खोज्दा मुख्य सचिव अर्यालले फोनसमेत उठाएका थिएनन्
काठमाडौँ — बाढीपहिरोबाट मुलकले विपद्को सामना गर्नुपरिरहेकै बेला तत्काल उद्धार र राहत बन्दोबस्तको प्रशासनिक नेतृत्व गर्नुपर्ने सरकारका मुख्यसचिव एकनारायण अर्याल भने गृहजिल्ला स्याङ्जाका विभिन्न ठाउँमा पञ्चेबाजासहित माला, खादासहितको सम्मान थाप्न व्यस्त थिए ।
सामान्यतः प्रधानमन्त्री स्वदेशमा नहुँदा मुख्यसचिवले राजधानी छोड्न मिल्दैन, त्यसमा पनि मौसम विभागको पूर्वानुमान महाशाखाले एकसाता अघिदेखि नै अविरल वर्षाले विपद् निम्त्याउन सक्ने सूचना दिँदै नागरिक र राज्यका निकायहरूलाई सचेत गराउँदा पनि मुख्यसचिव अर्याल भने शुक्रबार नै स्याङ्जा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा थिए ।
बाढीपहिरो र डुबानबाट राजधानीसहित देशका विभिन्न भागमा नागरिकले उद्धार नपाएर चित्कार गरिरहेको र राज्यका निकायबीच समन्वयको अभाव खड्किएका बेला स्थायी सरकारको नेतृत्वको जिम्मेवारीमा रहेका मुख्यसचिव अर्याल भने स्याङजाका विभिन्न कार्यक्रममा व्यस्त रहे । उनलाई झरीकाबीचमा छाता ओडेर प१ पञ्चेबाचासहित गरिएको स्वागत गरिएको थियो । 
बाढी पहिरोले राजधानी डुबाएको र पहिरोले गाडी यात्रुबाहक बस पुरिएर उद्धार हुन नसकिइरहेको बेला अर्याल भने आफ्नो सम्मानमा आयोजित गरिएका कार्यक्रमा रमाएका थिए ।
यता राजधानीमा प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंहले खोजिरहेका बेला मुख्यसचिव अर्यालले फोनसमेत नउठाएको सिंह निकट स्रोतले बतायो । ‘शनिबार विपद् व्यस्थापन समितिको बैठक र मन्त्रिपरिषद्को बैठक राख्नेबारे छलफलका लागि खोज्दा मुख्यसचिव अर्यालले फोन समेत उठाउनु भएन, उहाँ आइतबारको सर्वदलीय बैठकमा समेत उपस्थित हुनुभएन,’ सिंह निकट स्रोतले भन्यो ।
उता स्याङ्जामा रहेका अर्यालले भने सम्मान कार्यक्रममा मृतकहरूको पछिल्लो तथ्यांक सुनाइरहेका थिए । ‘यो वास्तवमा आज विषम् परिस्थिति छ, यहाँहरूलाई जानकारी भइहालेको छ । अहिलेको समयमा १०७ जनाको मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ । त्यस्तै ६५ जनाभन्दा बढी हराइराख्नुभएको छ । त्यत्तिकै संख्यामा घाइते हुनुभएको छ,’ आइतबारको बधाई तथा सम्मान कार्यक्रममा अर्याल भन्दै थिए, ‘कार्यवाहक प्रधानमन्त्रीज्यूको अध्यक्षतामा मिटिङको आह्वान गर्न रिक्वेस्ट गरेको छु, छलफल हुँदैछ ।’
सोही समयमा कार्यवाहक प्रधानमन्त्री सिंह भने मुलुकमा विपद् आइपरेका बेला मुख्यसचिव अर्यालबाट सहयोग प्राप्त नपाएको गुनासो आफू निकटस्थ मन्त्रीहरूलाई सुनाइरहेका थिए ।
मुख्यसचिव अर्यालले बधाई तथा सम्मान थापेपछि बोल्दै बाढी, पहिरो र डुबानले बेपत्ता भएकाहरू जीवित नै भेटिउन् भनी पशुपतीनाथसँग प्रार्थना गर्दै थिए । ‘राज्यको तर्फबाट केही एड्रेस गर्नुपर्नेछ । जो पीडित हुनुहुन्छ, जो घाइते हुनुहुन्छ, जसले मृत्युवरण प्राप्त गर्नुभयो उहाँहरूको लागि हामीले राज्यको तर्फबाट गर्नुपर्ने विषय छन्,’ मुख्यसचिव अर्याल भन्दै थिए, ‘मृत्युवरण गर्नुहुनेहरूलाई हार्दिक श्रदाञ्जली र परिवारजनमा समवेदना ! जो हराइराख्नुभएको छ उहाँहरूलाई हाम्रो सुरक्षाकर्मीले खोजिराख्नुभएको छ । जीवितै खोज्न सकियोस् भनी भगवान श्री पशुपतिनाथसँग म प्रार्थना गर्न चाहन्छु ।’
मुलुकभरमा बिहीबार रातिदेखि अविरल वर्षा सुरु भएको थियो भने शुक्रबार र शनिबार भीषण वर्षा भएर काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा बाढी, पहिरो र डुबान परेको थियो । सोमबार अपराह्नसम्म बाढीपहिरो र डुबानबाट मृत्यु हुने नागरिकको संख्या २०० पुगेको छ । १ सय २७ जना घाइते छन् भने २६ जना बेपत्ता रहेका छन् । बाढीपहिरोबाट प्रभावित ४ हजार दुई सय २२ जनाभन्दा बढीको सुरक्षाकर्मीले उद्धार गरेको छ ।
तस्बिरहरू : सुधीर पौडेलको फेसबुकबाट
