बाढीपहिरो अपडेट : सिन्धुपाल्चोकमा १० को मृत्यु, २ जना बेपत्ता

आश्विन १४, २०८१

अनिश तिवारी

Flood update: 10 dead, 2 missing in Sindhupalchowk

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण शनिबार तीन गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले घर पुर्दा दश जनाले ज्यान गुमाएका छन् । अन्य दुई जनाको अवस्था खुल्न सकेको छैन। उनीहरू बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयको तंथ्याकअनुसार शनिबार बेपत्ता भएकामध्ये अधिकांश पहिरोमा मृत फेला परेका हुन् ।

सुनकोसी गाउँपालिका-४ च्यानेस्थित सिन्धुबीच रिसोर्ट छेउ पहिरोले पुर्दा मृत्यु हुनेमा दोलखा जिल्लाका नेपाली सेनाका प्रमुख सेनानी कर्णेल ३५ वर्षीय मिलन केसीसहित कोरियन नागरिक कोरिया सेवल प्रान्तका ३५ वर्षे यु वो हावान  र ३५ वर्षे लिइई जेन वो हुन् ।

शनिबारनै यही रिर्सोटमा पहिरोले जोखिममा परेका १५ जनालाई सकुशल उद्धार गरेर सुरक्षित स्थानमा लगिएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिए ।  

शिक्षिका तृष्णासहित उनकी छोराछोरी मृत भेटिए 

लिसंखुपाखर गाउँपालिका-३ स्थित आफ्नै घरमा शनिबार पुरिएर बेपत्ता शिक्षिकासहित उनका दुई सन्तानको शव आइतबार भेटिएको छ । पहिरोले घरसहित जग बगाएको देखेपछि स्थानीयले जनप्रतिनिधि र सुरक्षाकर्मीलाई खबर गरेका थिए । 

तृष्णा मोक्तानको घर पहिराले पुरिएको छ । उनीसहित उनका एक छोरा र छोरीलाई पहिरोले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । गएराति गएको पहिरोले छोप्दा यही वडाका पूर्व वडाध्यक्ष काजीबहादुर तामाङसहित उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको थियो ।

शिक्षिका तृष्णा मोक्तान, उनका ६ वर्षीय छोरा युकेश, ९ वर्षीया छोरी सनसेनको शव पहिरो क्षेत्रमा फेला परेको लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाले बताए । उता जुगल गाउँपालिका-१ कुनेगाउँमा पहिरोले ३ घर बगाउँदा बेपत्ता चार जनामध्ये दुईको शव फेला परेको छ ।

इलाका प्रहरी जलविरेका अनुसार जुगल गाउँपालिका-१ कुनेगाउँबासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेको ५ वर्षे बालकको शव पहिरोबाट निकालिएको छ । मृतक मिजारकी श्रीमती ४५ वर्षकी ठूलोकान्छी र जुगल गाउँपालिकाका २४ वर्षीय अविनाश नेपाली हुन् ।

बेपत्ता अविनाश ठूलीकान्छीको बहिनीको छोरा र मृतक बालक अविनाशकै छोरा हुन् । बेपत्ता दुवैको खोजी भइरहेको छ । जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले मृतक मिजारको घरमा अविनाश र उनका छोरा केही दिनअघि पाहुना बनेर आएको बताए ।

'वरिपरि पहिरोले क्षतिग्रस्त बनाएपछि सबै सुरक्षित स्थानमा सरेका छन्, मिजारको घरसहित अन्यतिर केही क्षति पुर्‍याएको छ,' उनले भने । यसबाहेक जुगल गाउँपालिका-३ ,तेगामा पहिरोले ३ घर पूर्ण रुपमा क्षति पुगेको छ । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully