काठमाडौँ — आइतबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक फेरि ठप्प भएको छ । सोमबार साँझ मलेखुबाट ५ सय मिटर काठमाडौंतर्फ सुख्खा पहिरो खसेपछि सडक ठप्प बनेको हो ।
अहिले यो खण्डमा यातायात सञ्चालनमा आउन सकेको छैन । सुख्खा पहिरो खसेर सडक अबरुद्ध बनेको नागढुंगा–मुग्लिङ सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए।
उनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । एकतर्फी सञ्चालनमा रहेको सडक दुइतर्फी गर्नेगरी पहिरो पन्छाउने काम भइरहेको बेला थप पहिरो खसेको आयोजनाले जनाएको छ ।
यो सडकको विभिन्न खण्डमा खसेको पुरै पन्छाउन नसक्दा एकतर्फी रुपमा मात्र यातायात सञ्चालनमा आएको छ । सबै पहिरो पन्छाएर दुइतर्फी यातायात सञ्चालन गर्न केही दिन लाग्ने आयोजनाले जनाएको छ ।
