सुर्खेत — कर्णाली प्रदेश सरकारले बाढीपहिरो र डुबान प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
शुक्रबार र शनिबारको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । मंगलबार अपराह्नसम्म बाढीपहिरो र डुबानमा परी २१९ जनाको मृत्यु र २७ जना अझै बेपत्ता छन् ।
त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको छ । मंगलबार राति बजेटबाट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
