पहिरोमा पुरियो राष्ट्रिय खेलाडी बन्ने सपना

खेलबारे बिकल भन्थे, ‘रोनाल्डोको खेल देखेर सानैदेखि खेलम् खेलम् लाग्यो ।’

आश्विन १३, २०८१

लक्ष्मी साह

The dream of becoming a national player ended in a landslide

बारा — एन्फाको छनोटमा परी गत बैशाख अन्तिम साता निजगढको बकैया ठाकुर मावि र वडा कार्यालयबाट प्रशंसा पत्रसँगै बिदाइ भएर सिस्नेरी क्याम्प पुगेका थिए, निजगढ नगरपालिका–८ खैर घारीका १३ वर्षीय बिकल (क्षेत्री) रेग्मी ।

निजगढ–८ कै बकैया ठाकुर माविमा पढ्दै गरेका बिकललाई प्रशंसापत्रबाहेक नगद र बुटसमेत दिएर बिदाइ गरिएको थियो । पढाईसँगै यू–१३ का लागि राष्ट्रिय खेलाडी बन्ने उनको सपना थियो । तर क्याम्प बस्न थालेको साढे चार महिनामै बिकलको सपना शनिबार पहिरोमा पुरिएको छ । 

कक्षा १२ सम्म निःशुल्क पढाई र फुटबल खेल सिक्नका लागि कोर्स गर्न परिवारको अन्तिम बिदाइपछि उनी जेठको पहिलो सातादेखि सिस्नेरीमा बस्न थालेका थिए । सिस्नेरीमा एन्फाले सञ्चालन गरेको बात्सल्यदेवी माविका लागि बिकलसँगै निजगढबाट अरु तीन जना प्रशिक्षार्थी विद्यार्थी छनोटमा परेर गएका थिए ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा सञ्चालित आवासीयसहित फुटबल सिकाउने माविलाई इन्द्रसरोवरको पानीले डुबानमा पार्ने भएपछि क्याम्प (विद्यालय) का ३७ प्रशिक्षार्थीमध्ये ६ जना छोटो बाटो भएर डुबानबाट जोगिन निस्कन प्रयास गरेका थिए । तर छवै जना पहिरोमा पुरिए ।

त्यसै मध्येका एक थिए– बिकल । निम्न परिवारमा हुर्किएर अन्तर्राष्ट्रिय फुटबल खेलाडी रोनाल्डोको खेल देखेर प्रेरित भएका बिकल यू–१३ का लागि छनोट हुने ७५ जनामा पर्ने लक्ष्य राखेका थिए । तर सधैंका लागि बिदा भए ।

जिल्ला, प्रदेश हुँदै केन्द्र (च्यासल) बाट पनि विभिन्न प्रतिगोगितात्मक प्रतिस्पर्धाबाट यू १३ को लक्ष्य राखी छनौटमा परेका उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को छनौटमा परेका थिए । सिमरा, लाल, सिङ्गौललगायतका स्थानीय स्तरमा भएका दर्जनौं प्रतियोतिामा उनले भाग लिदैँ प्रतियोगिता जितेका थिए ।

‘उदाउँदो प्रतिभा थिए–बिकल । तर पहिरोले उदाउन दिएन, अस्ताइदियो,’ बकैया ठाकुरका प्रधानाध्यापक हिमेश घिमिरेले भने, ‘७५ जनामा उनले छनोट हुने लक्ष्य राखेका थिए । पढाइमा पनि अब्बल थिए ।’ बिकलको निधनले निजगढवासी शोकमा छन् ।

एन्फामा छनोट भएपछि बिकलले ‘फरकधार’ यूट्यूब च्यानललाई अन्तर्वार्ता दिँदै भनेका थिए ‘रोनान्डोको खेल देखेर सानैदेखि फुटबल खल्न खेलौंखेलौं लाग्यो । गाउँमै खेल्छु । यू–१३ का लागि राष्ट्रिय खेलाडी बन्ने आशा लिएर पढ्दै खेल्दै मिहनेत गरेको छु । रोनाल्डोको हेडिङ, सर्ट, मन पर्छ ।’

यसैगरी नेपाली खेलाडी आइस घलान आफुलाई मन पर्ने खेलाडी रहेको उनले अन्तर्वार्तामा भनेका रहेछन् । ‘गाउँका साहिला बाजेले खेलप्रति उत्प्रेरित गर्नुहुन्छ,’ उनले अन्तर्वार्तामा भनेका रहेछन् । बिकललाई कक्षा १२ सम्म निःशुल्क पढाउने र खेलाडी तयारी गर्ने उद्देश्यले एन्फाले उनलाई छनोटमा पारेको थियो । अन्तरवार्तामा बिकलले भनेका रहेछन् ‘आमा कमला रेग्मीले खेलप्रति प्रोत्साहन गर्नुहुन्छ ।’

एन्फाले २०८० चैत १५ गतेदेखि सुरु गरेको छनोट प्रक्रियाको विभिन्न चरणमा पास भएर बिकल बैशाख १० मा अन्तिम छनोटमा पारेका थिए । आफुलाई रनिङ र फरवार्ड खेल्न रुची भएको बिकलले अन्तर्वार्तामा भनेका छन् ।

अविरल वर्षासँगै शनिबार सिस्नेरीको पहिरोमा पुरिएर बिकलसहित ६ जना खेलाडीको निधन भएको हो । उनीहरु बारा, सर्लाही, मकवानपुर, काठमाडौंका थिए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully