तिलोत्तमा — रुपन्देहीमा शनिबारदेखि हराइरहेको दुध बोक्ने गाडी फेला परेको छ । शनिबार बिहानै मर्चवारदेखि दुध संकलन गर्दै अन्यत्र संकलनका लागि हिंडेको भे १ च २६७६ नम्बरको जिप आइतबार साँझ ६ बजे सिद्धार्थनगर नगरपालिका-१० र मायादेवी गाउँपालिका-२ मा पर्ने घाँघरा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले बताइन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले निरन्तर खोजतलास गरेको गाडीमा रहेका दुध सहितका भाँडा देखेपछि खोज्दै जाँदा गाडी फेला परेको उनले जनाइन् ।
जिपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोध भने अझै बेपत्ता छन् । सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान भैरहवातर्फ आउँदै थियो ।
सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जिप हराएको थियो ।
