२२ जना बेपत्ता, ७४ जना घाइते
हेटौंडा — वाग्मती प्रदेशमा शुक्रबार र शनिबार आएको बाढीपहिरोमा परेर १०२ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक पछिल्ला २ दिनमा बाढीपहिरोका कारण १०२ जनाको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार अपरान्ह ६ बजेसम्म बाढीपहिरोका कारण सबैभन्दा धेरै धादिङमा ३९, काभ्रेमा ३८, सिन्धुपाल्चोकमा १०, मकवानपुरमा ७, दोलखामा ५, रामेछापमा १ र सिन्धुलीमा २ जनाले ज्यान गुमाएका छन् ।
बिहीबारदेखि भएको वर्षाका कारणले आएको बाढीपहिरो कारणमा प्रदेशको धादिङ, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सिन्धुली र रामेछापमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका डीएसपी जितेन्द्र बस्नेतले बताए ।
बाढीपहिरोबाट काभ्रेमा १८ जना बेपत्ता भएका छन् भने सिन्धुपाल्चोकमा २, र दोलखामा २ गरी २२ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा ७४ जना घाइते भएका छन् ।
सबैभन्दा बढी काभ्रेमा ४२ जना घाइते भएका छन् भने सिन्धुपाल्चोकमा १६, धादिङमा ७, मकवानपुरमा ३, रामेछापमा २ र नुवाकोटमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण प्रदेशमा ९८ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने १० वटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
मकवानपुरमा ३६, काभ्रेमा २३ र रामेछापमा २० वटा घर क्षति भएका छन् भने प्रदेशमा बाढीपहिरोले ९ वटा सवारी साधनमा क्षति पुर्याएको छ । प्रदेशमा बाढीपहिरोको जोखिममा रहेका २ सय ४१ परिवारलाई उद्धार गरेर स्थानान्तरण गरिएको छ ।
प्रदेशमा काभ्रे, दोलखा र मकवानपुरका गरी ८७ घर र कार्यालय उच्च जोखिममा छन् । प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १० जिल्लामा ४ हजार १ सय ११ जना प्रहरी परिचालन गरिएको डीएसपी बस्नेतले बताए ।
