बाढीपहिरो पीडितका लागि कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक सहयोग गर्ने

आश्विन १३, २०८१

कान्तिपुर संवाददाता

Congress MP to support 15 days salary for flood victims

काठमाडौँ — नेपाली कांग्रेसका संघीय सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले यही असोज ११ र १२ गतेको अरिवल वर्षाका कारण भएको बाढी र पहिरोबाट भएको अकल्पनीय जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सो रकम नेपाल सरकारमार्फत प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । यस्तै प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बुढानिलकण्ठस्थित उनको निवासमा बसेको बैठकले देशभरि क्षतिग्रस्त सडक, पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, प्रहरी चौकीलगायत अति आवश्यक पूर्वाधार यथाशीघ्र पुनःनिर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।

यस्तै, बैठकले बाढी पहिरोमा परी घरबारविहीन भएकाहरूको यथाशीघ्र उचित पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । साथै संघीय संसद्का सबै सदस्यलाई विपद् व्यवस्थापनमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आह्वान गरिएको उनले बताए । 

कान्तिपुर

Link copied successfully