सोलुखुम्बु — सोलुखोलाको पानीबाट उत्पादित ८६ मेगावाट क्षमताको सोलु दुधकोसी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
विगत ३ दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याउँदा शनिबार दिउँसोदेखि नै विद्युत् उत्पादन ठप्प भएको हो । साहास उर्जा लिमिटेडबाट प्रवर्द्धत विद्युत् आयोजनाको सोलु दुधकुण्ड नगरपालिका-११ तिंलाको भदौरेमा रहेको बाँधस्थलमा रुख ढल्नुका साथै लेदो पसेपछि आयोजना बन्द भएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । ‘ईन्टेकमा ठूला रुख झरेका छन्, लेदो हटाउने काम भइरहेको छ,’ अध्यक्ष पाठकले भने, ‘रुख हटाउनका लागि एक्स्काभेटरहरु परिचालन गर्दैछौं ।’
भदौरेबाट सुरुङमार्ग हुँदै सोलुखोलाको पानी थुलुङ दुधकोशी गाउँपालिका-३ पंचनको मैकुबेंसीमा दुधकोशी खोलाको किनारमा खसाएर विद्युत् उत्पादन गरिएको हो । सुरुङमार्ग र पावर हाउस भने बाढी पहिरोबाट सुरक्षित रहेको आयोजनाले जनाएको छ । उक्त आयोजनाको विद्युत् लाम्मानेस्थित १३२ केभि सोलु करिडोरमा जोडिएको छ ।
पहिरोका कारण क्षतिग्रस्त सोलु दुधकोशी जलविद्युत् आयोजनाको ईन्टेक ।
