बेलिब्रिज भत्किएपछि लार्चापारिनै अड्किए कन्टेनर

आश्विन १३, २०८१

अनिश तिवारी

After the collapse of the Belybridge, the container got stuck

सिन्धुपाल्चोक — उत्तरी नाका तातोपानी जोड्ने एकमात्रै विकल्प कोदारी राजमार्गको लार्चास्थित बेलिब्रिज शनिबार भोटेकोसीले बगाएपछि सीमा नाका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयबाट भन्सार प्रक्रिया सकेर राजधानी काठमाडौँ दसैंका लागि करोडौंका सामाग्री बोकेका सयौँ कन्टेनर लार्चापारि नै थन्किएका छन् । 

भोटेकोसी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठकाअनुसार भोटेकोसी नदीले बेलिबिज्र बगाएसँगै यँहाबाट बाह्रबिसे र राजधानी जोड्ने सडक सम्पर्क पुरै टुटेको छ । यो भेग सुनसान बनेको छ ।

इलाका  प्रहरी कोदारीकाअनुसार तातोपानीबाट चीन जोड्ने कोदारी राजमार्ग (२६ किलोमिटर) मध्ये तातोपानी - हिन्दी खण्डमा ३५ मिटर सडक भास्सिएको छ । पुरानो भ्यान पार्किङदेखि भोटेकोसी ४ गोलेपा पाङ्शेर्पु गाउँ जोड्ने  भित्रि सडकसहित बेलिब्रिज बगाएको छ ।

'यसबाहेक लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुल छेउको भाग लिपिङ खोलामा आएको बाढीले ध्वस्त बनाएपछि जोखिमपूर्ण अवस्था बनेको छ,' वडाध्यक्ष श्रेष्ठले भने । उनले भने, 'लिपिङ र अन्य भेगमा जताततै पहिरो खस्न थालेपछि स्थानीय त्रासमा छन् । सर्तकता लागि स्थानीयलाई यसभेगमा जथाभावी हिडडुल गर्न दिइएको छैन ।'

फेरि पुल बगाएपछि सीमा क्षेत्रको दैनिक जीवनसमेत कष्टकर बनेको छ। बाढीले बगाएको पुल २०३८ सालमा चीन सरकारले बनाएको थियो। 

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाँउपालिकाको भवनभन्दा तल्लो भाग भोटेकोसी बाढीले कटानमा पारेपछि यहाँ तटीय भेग पुरै जोखिममा परेको छ। यहाँको मिसन बोर्डिङ स्कुलको केही भुभाग र एउटा घर शनिबार भोटेकोसीले बगाएको थियो । त्यस भेगमा रहेका ६ घर जोखिममा परेपछि ती परिवारका ३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढी पहिरो

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully