झ्याप्लेखोलामा पुरिएको बुटवलबाट गएको माइक्रोका १४ मध्ये ११ को पहिचान खुल्यो, मृत्यु हुने तीन परिवारका ९ जना
बुटवल — धादिङको झ्याप्लेखोलामा शुक्रबार राति पहिरोमा माइक्रोबस पुरिएर ज्यान गुमाएका १५ वर्षका दीपेश र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थायी घर भएका उनीहरू बुटवलको कालिकानगरमा बसेर कालिका मानवज्ञान माविमा कक्षा १० मा पढ्दै थिए । पढाइमा तीक्ष्ण दुवै विद्यालयसहित बाहिर हुने विभिन्न प्रतियोगितामा पनि भाग लिन्थे ।
त्यही क्रममा एस्ट्रोनोमी ओलिम्पियाड सोसाइटीले काठमाडौंमा असोज १७ गते नेसनल एस्ट्रोनोमी ओलिम्पिया प्रतियोगिता आयोजना गरेको थियो । दाजुबहिनीले अनलाइबाटै फर्म भरेका थिए । उनीहरू पहिलो चरणको २०२४ को प्रतियोगिताका लागि छनोट भएको खबर आयो ।
झ्याप्लेखोला पहिरोमा परी ज्यान गुमाएका जुम्ल्याहा दाजु-बहिनी दिपेश र दीपिका भट्टराई उनीहरूकी आमा सीता ।
काठमाडौंबाट पहिलो चरणमा छनोट भएपछि दोस्रो चरणका लागि बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुन पाइन्थ्यो । बंगलादेशमा हुने प्रतियोगितामा ३२ राष्ट्रका विद्यार्थी सहभागी हुन्थे । बंगलादेशमा विजेता बन्ने विद्यार्थी अन्य प्रतिस्पर्धाका लागि अमेरिका जान पाउँथे । प्रतियोगिता जितेर अमेरिका पुग्ने सपना बोकेका दीपेश, दीपिका र उनीहरूकी आमा सीता भट्टराई सवार लु १ ज ४५७८ नम्बरको माइक्रो धादिङको झ्याप्लेखोलामा शुक्रबार राति पुरियो । गाडी पुरिएपछि उनीहरूको प्रतियोगितामा अब्बल सावित भएर अमेरिका पुग्ने सपना पनि पुरिएको छ ।
कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाका अनुसार दुवै विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । उनीहरूसँगै कालिका मानवज्ञान विद्यालयबाट सोही प्रतियोगितामा सहभागी हुन अन्य ४ विद्यार्थी पनि गएका छन् । असोज १७ गतेको प्रतियोगिता भएपनि अन्य विद्यार्थी त्यसअघि नै काठमाण्डौं पुगिसकेका थिए ।
‘अन्य ४ जना काठमाडौं पुगिसकेका थिए, उनीहरू ढिला भयो भन्ने भएर होला झरीको ख्याल नगरी हिँडेका रहेछन्,’ प्रअ थापाले भने, ‘विद्यालयले दुई अब्बल विद्यार्थी गुमाएको छ ।’
आउँदो एसईई परिक्षामा विद्यालयबाट ४ जीपीए ल्याउने आशा राखेका दुवै विद्यार्थी विद्यालयले गुमाउँदा विद्यालय परिवार स्तब्ध भएको उनले बताए । दुवै विद्यार्थीका बाबु होमनाथ रोजगारीका लागि कोरियामा पुगेको र घटना जानकारी भएपछि नेपाल आउने तयारी गरिरहेको उनका आफन्त दीपक बञ्जाडेले बताए ।
बुटवल उपमहानगरपालिका–१६ सेमलारका ३७ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती ३४ वर्षीया अनु मल्ल र बहिनी २८ वर्षीया सिर्जना कुँवरले पनि सोही गाडीमै पुरिएर ज्यान गुमाएका छन् । प्रकाश २ महिनाअघि कोरियाबाट नेपाल फर्केका थिए । काठमाडौंकी अनुसँग साउन २७ गते विवाह भयो । गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह पहाड घर भएका उनीहरू विवाहपछि घुम्न गुल्मी पुगे । गुल्मीबाट फर्किएर प्रकाश र अनुले विवाह दर्ता गराए ।
प्रकाशको २० दिनपछि अर्थात अक्टोबर १८ गते कोरिया फर्किने टिकट थियो । अन्य परिवार काठमाडौंमै रहेकाले भेटघाट गर्ने र उतैबाट कोरिया फर्किने उद्देश्यले उनीहरुले शुक्रबार बिहान टिकट काटेर हिंडेका थिए । दाजु–भाउजूले आग्रह गरेपछि बहिनी सिर्जना पनि सँगै काठमाडौं हिंडेकी थिइन् । उनले पनि भारतको बेंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर बेलायत जानका लागि भाषा कक्षा पढ्दै थिइन् । भाषा कक्षाको परीक्षा दिनुपर्ने भएकाले काठमाडौंबाटै दिने गरी दाज–ुभाउजूसँगै गएको दाजु गोविन्द कुँवरले बताए । ‘खै के भयो भयो, मैले भन्ने सक्दिनँ,’ शव बुझ्न काठमाडौं जानका लागि भैरहवा विमानस्थल पुगेका उनले टेलिफोनमा भने, ‘दैवले खोजेर लैजान्छ भन्थे त्यस्तै भयो मेरो परिवारमा ।’ शुक्रबार बिहान घरबाट हिँडेका उनीहरू चढेको गाडी पुरिएको भन्ने खबर शनिबार साँझ मात्र थाहा पाएको उनले बताए ।
झ्याप्लेखोला पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको माइक्रोमा सवार गुल्मी दरबार गाउँपालिकाको चारपालाका ६३ वर्षीय जुद्धबादुर रायमाझी, उनकी बुहारी २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका नाती क्रिस रायमाझीको पनि मृत्यु भएको छ । उनीहरू तीनै जना काठमाडौंमा प्रमिताका श्रीमान् विवेकले मोटरसाइकलको व्यवसाय गर्ने भएकाले उतै बस्ने गरी हिँडेका थिए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीमा चढेका कपिलवस्तुको ४ नं. जितपुर घर बताउने बोमबहादुर मगर, भिमाकुमारी र अर्को एक जना सुनवलबाट चढेकाको पहिचान खुलेको छैन । काठमाडौं बस्ने बुटवल रामनगरबाट चढेका २३ वर्षको सामोइल गुरुङको पनि पहिचान खुलेको छ ।
काठमाडौंमा बस्ने गुरुङ बुटवलको रामनगरमा बस्ने आफ्ना हजुरबुबा, हजुरआमा भेट्न आएका थिए । आइतबार स्नातक तहको परीक्षा रहेकाले त्यही परीक्षा भट्टाउन उनी शुक्रबार बिहान गाडी चढेर काठमाडौं जाने क्रममा दुर्घटनामा परेको र अहिले उनका बाबुले शव बुझेको उनकी आफन्त चन्द्रा गुरुङले बताइन् । गाडी रमेशप्रसाद लुइँटेलले चलाएका थिए । घटनामा उनको पनि मृत्यु भएको छ । गाडीमा चालक र २ वर्षका बालकसहित १४ जना चढेको र तीमध्ये अहिलेसम्म बालकसहित ११ जनाको मात्र पहिचान खुलेको कार्कीले बताए ।
