रौतहट — नेपाल-भारत सीमाक्षेत्रमा भारतले एकतर्फी रुपमा लगाएको बाँधका कारण डुबानमा परेको रौतहटको सदरमुकाम गौर डुबान आइतबार अपरान्हबाट कम हुँदै गएको छ । भारतले सीमाक्षेत्रको बाँधमा लगाएको सुलिस गेट खोलेपछि गौर क्षेत्रको पानी घट्न थालेको हो । पानी घट्न थालेपछि जनजीवन समान्य बन्दै गएको छ ।
अविरल वर्षाका कारण बाग्मती र लालबकैया नदीमा पानीको सतह बढेसँगै बाँध र दायाँबायाँको क्षेत्र कटान सुरु गरेपछि शनिबार रातिदेखि नै रौतहटको सदरमुकाम गौर जलमग्न भएको थियो ।
सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले भारतीय प्रशासनले सुलिसगेटको ढोका खोलेपछि जलमग्न गौरमा पानी घट्दै गएको बताए । ‘अब केही राहत हुन्छ । पानीले निकास नपाएकाले सदरमुकाम गौर जलमग्न भएको हो,‘ उनले भने, ‘भारतीय पक्षसँग कुराकानी भएपछि बाँधको गेट खोलेको हो ।’
गौर क्षेत्र डुबानमा पर्दा सुलिसगेट खोलेर पानी निकास दिनुपर्ने मौखिक सहमति भएपनि भारतीयले गेट खोल्न आनाकानी गर्दै आएको थियो । यही बिषयलाई लिएर सांसद पुजा चौधरीले दुई महिनाअघि राष्ट्रिय सभाको बैठकमा गौर–बैरगनिया सीमा क्षेत्रमा भारतले लगाएको बाँधको सुलिसगेट खोल्न नदिएपछि बर्सेनि ससदरमुकाम गौर डुबानमा पर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
नगरप्रमुख साहको पहलमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भारतको सितामाढी जिल्लाका प्रमुख (डीएम) ऋषि पाण्डेसँग सुलिसगेटको ढोका खोल्न अनुरोध गरेका थिए । त्यसपछि भारतीय पक्षले पूर्वतर्फको एउटा गेटको ढोका खोलेको हो । अहिले त्यही गेटबाट पानी दक्षिणतर्फ पास भइरहेको छ ।
बाढीको पानि पसेपछि गौरमा रहेको सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको भन्सार सुरक्षागार्ड चौकी डुबानमा परेको छ । बाग्मती र लालबकैया नदीमा आएको बाढीले बाँध कटानमा पारेपछि सदरमुकाम गौर लगायतका क्षेत्र जलमग्न भएको हो । अहिले गौरको मुख्य सडकमा २ र भन्सार क्षेत्रमा ३/४ फिट पानी जमेको नगरप्रमुख साहले बताए ।
