कालीकोट — आउने कात्तिकमा दोश्रो सन्तान जन्मिएपछि भक्तपुरबाट घर फर्किने योजनामा थिए गणेश बम । तर, असोज १२ गते बिहान सान्नीत्रिवेणी गाउँपालिका-५ साकेज्यूलाका २५ वर्षीय बमको परिवारमा पहिरोले विपत्ति ल्यायो ।
भक्तपुरको सूर्यविनायक-६ मगरगाउँ नजिकै भिरालो पाखोमा बस्दै आएका उनको टिनको छाना भएको घरमा पहिरो खस्दा २३ वर्षीया पत्नी दमिला कुमारी शाही, २ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया साली मनिषाको एकै चिहान भयो ।
सूर्यविनायकको कुनामा जग्गा भाडामा लिएर टिनले छाना भएको टहरोमा गाई पालेर तरकारी खेती गरी परिवार पाल्दै आएका बमले एकैदिन परिवारका ३ सदस्य गुमाएका छन् ।आफू दुध बेच्न घरबाहिर गएको बेला भान्सामा खाना पकाउँदै गरेकी पत्नी, छोरी र सालीलाई पहिरोले च्यापेपछि घटनास्थलमै मृत्यु भएको उनले बताए ।
'म गाई दुहेर दुध बेच्न गएको थिएँ,' घटनाबारे गणेशले भने, 'पहिरो आएर टहरोमा खसेर तीनै जनालाई च्याप्यो ।' उनले बिहान ८ बजेतिर भान्सामा खाना पकाइरहेको बेला घरमाथिबाट पहिरो खसेर च्यापिँदा सबैको मृत्यु भएको बताए। उनकी साली मनिषा ८ कक्षामा पढ्थिन् ।
पत्नी दमिला ९ महिनाकी गर्भवती थिइन् । डाक्टरले अर्को महिना बच्चा जन्मिने डेट दिएकाले दसैँमा घर नगएर तिहारमा नयाँ सदस्यसहित घर फर्किने योजना थियो उनको । तर, शनिबार आएको विपत्तिले उनको घर फर्किने धोको अधुरै रह्यो ।
दुई वर्षअघि पत्नी गर्भवती भएपछि सुरक्षित बच्चा जन्माउन उनको परिवार कालीकोट छाडेर राजधानी छिरेको थियो । भक्तपुरमा कालीकोटको खाडाचक्र नगरपालिका-६ घर भएका उनका ससुरा मानबहादुर शाही ४ वर्षदेखि भाडाको जमीनमा गाइपालन र तरकारी खेती गर्दै जीवका चलाउँथे ।
घरबाट आएपछि गणेशको परिवार पनि ससुरालीमा आएर आश्रय लिए । गत फागुनमा विरामले सासु बितेपछि बिरक्तिएका ससुरा मानबहादुर घरमा सालासालीको रेखदेख गर्ने जिम्मा गणेशलाई छोडेर भारततिर गए । ६ भाइमध्येका काहिलो गणेशसँग भक्तपुरमा साला सोवन शाही, साली मनिषा, कान्छो भाई निर्मल र आफ्नो ३ जनाको परिवारसहित ६ जना बस्थे ।
शनिबार विद्यालय र कलेज बिदा भएकाले भाई निर्मल र साला सोवन साथीको घर गएका थिए । त्यही कारण पहिरोबाट जोगिए । 'कालीकोटमा त पहिरोको सधैँ डर हुन्थ्यो,' गणेशका भाइ निर्मलले भने, 'राजधानी आउँदा पनि आफन्त गुमाउनुपर्यो।' उनी पढाइसँगै दाइ भाउजुलाई घरको काममा सघाउन भक्तपुर बसिरहेका थिए ।
दुध बेचेर घर फर्किँदा पहिरोले घर भत्किएको देखेपछि आत्तिदै छिमेकीलाई खबर गरेका गणेशले प्रहरी घटनास्थल आउनै आधा घण्टा लागेको सुनाए । प्रहरी आएपछि लास निकाल्ने र घटनास्थलको मुचुल्का गर्ने काम भए पनि शनिबार पोष्टमार्टम हुन सकेन । आइतबार पोष्टमार्टम गरेर लास बुझेपछि उनका दुई दाजु र सुसुरा भारतबाट भोलि बिहान भक्तपुर पुगेपछि दाहसंस्कार गरिने कालीकोट घर भएका आफन्त दुग्गल बमले बताए ।
'गणेश त अझै पनि बेहोस् छन्,' उनले भने, 'आफन्त आएपछि सोमबार दाहसंस्कार गर्ने कुरा छ ।' उनले गणेशको परिवार दुई वर्षपछि कात्तिकमा देउता मान्न र तिहार मनाउन गाउँ जाने योजनामा रहेको सुनाए । भक्तपुरमा परिवारका ३ जना पहिरोमा परेको खबर सुनेर उनको गाउँ साकेज्यूला शोकमा छ ।
दाहसंस्कारको लागि ४५ हजार सहयोग
भक्तपुरमा पहिरोमा परी ज्यान गुमाएका सान्नीत्रिवेणी-५ साकेज्यूलाका गणेश बमको परिवारका सदस्यको दाहसंस्कारका लागि सहयोग स्वरुप ४५ हजार जुटेको छ । यहाँको सान्नी त्रिवेणी गाउपालिकाले ३० हजार र पालिकाका अध्यक्ष मोहनवहादुर केसी, उपाध्यष पार्वती सिंह संन्ज्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमवहादुर बडुवालसहितका शाखा प्रमुख तथा कर्मचारीले सहयोग गरेको १५ हजार रुपैयाँ गरी ४५ हजार रकम संकलन भएको छ ।
संकलन भएको रकम आइतबार गणेशका दाई राजेन्द्रलाई हस्तान्त्रण गरिएको छ ।
