सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्यो : माओवादी केन्द्र 

आश्विन १३, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । 

आइतबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको अनुमान हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादीले बाढीपहिराको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा ‘हेल्प डेक्स’ राख्ने निर्णय गरेको छ । पार्टी सदस्य र जनप्रतिनिधिबाट राहत कोषमा आर्थिक सहायता गर्ने र पार्टीपंक्तिलाई राहत पुनःनिर्माणमा केन्द्रित गर्ने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले बताए । 

माओवादी केन्द्रले दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सशक्त आवाज उठाउने निर्णयसमेत गरेको छ ।

गत बिहीबारदेखि शनिबार अपराह्नसम्मको अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन् । सयौं घाइते र भौतिक संरचनामा ठूलो क्षति गराएको छ ।  

कान्तिपुर

Link copied successfully