आस्था, अध्यात्म र धार्मिक अभ्यासका विषयमा सोधिएका प्रश्नको जवाफ स्वयं ‘भगवान्’ ले नै फटाफट दिने भएपछि ‘गड च्याटबट’ को लोकप्रियता बढ्दो छ । गीता जीपीटी, बुद्ध बट, कुरान जीपीटी, जीपीटी जिसस, रोबो रब्बाइ, बाइबल एआईलगायतका च्याटबट विश्वभरका प्रयोगकर्तामा चर्चित छन् ।
काठमाडौँ — प्रयोगकर्ताले सोधेका प्रश्नहरूको सटीक जवाफ दिने च्याटजीपीटीको लोकप्रियता बढ्दो छ । पछिल्लो समय त धार्मिक ग्रन्थ, धर्मगुरु र देवीदेवतालाई समेत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा ढाल्ने क्रम बढेको छ ।
प्रयोगकर्ताका लागि च्याटजीपीटीजस्तै लार्ज ल्याङवेज मोडेलमा बनेका ‘गीता जीपीटी’, यहुदी धर्मगुरु रब्बाइको एआई भर्सन ‘रोबो रब्बाइ’, आफूलाई बुद्धको ज्ञानका प्रतिनिधित्व गर्ने पात्रका रूपमा चिनाउने ‘बुद्ध जीपीटी’ जस्ता टुल यतिबेला आकर्षणको केन्द्रमा छन् ।
इमेज तथा भिडियो जेनेरेटिभ एआई टुलको उदयपछि त झन् भगवान्लाई जस्तो चाह्यो उस्तै स्वरूपमा सिर्जना गर्न सम्भव भएको छ । यसले गर्दा इन्टरनेटमा एआईमार्फत बनाइएका भगवान्का ‘गड च्याटबट’ बग्रेल्ती भेटिन्छन् । प्रयोगकर्ताले रुचाइरहेको सबैभन्दा रोचक विषयचाहिँ भगवान् र धार्मिक ग्रन्थका नाममा विकास गरिएका च्याटबट हुन् । यी च्याटबटमा प्रयोगकर्ताले ‘भगवान्’ सँग दोहोरो सवालजवाफ गर्न सक्छन् । एआई नै भए पनि, सोधेका प्रश्नको जवाफ ‘स्वयं भगवान्’ कै नामबाट फटाफट पाउँदा पक्कै रमाइलो हुने नै भयो । तर दुःखको कुरा, एकसाथ धेरै प्रयोगकर्ताले चलाउन खोज्दा कतिपय ‘गड च्याटबट’ पटक–पटक क्र्यास (अवरुद्ध) हुने गरेका छन् ।
सुरुवाती दिनमा (सन् २०२२ को अन्तिमतिर) ओपेनएआईको च्याटजीपीटी पनि अत्यधिक ट्राफिक (प्रयोगकर्ता) का कारण बारम्बार क्र्यास हुने गर्थ्यो । यसले गर्दा सबैले एकैचोटि चलाउन नमिल्ने गरी ओपेनएआईले ‘एकछिन पर्खनु’ भनेर नोटिफिकेसनसमेत पठाउँथ्यो । अहिले भने च्याटजीपीटी एकसाथ अर्बौं प्रयोगकर्ताका जिज्ञासा मेटाउन सक्ने गरी क्षमतावान् भइसकेको छ ।
टर्बो जीपीटी ३.५ प्रविधिमा भारतका विकास साहुले बनाएको गीता जीपीटी धेरै तवरले व्यवस्थित छ तर यो पनि बेलाबखत नचल्ने हुन्छ । यसमा कृष्ण, राधाकृष्ण, योगेश्वर, द्वारकाधीश, पार्थसारथी, गणेश, राम, शिव, बुद्ध, हनुमान र चाणक्यसँग छुट्टाछुट्टै रूपमा प्रश्न सोध्न मिल्छ । सबै भगवान्का लागि फोटोसहितको छुट्टै च्याटरुम बनाइएको छ ।
‘गत वर्ष फेब्रुअरीमा यो वेबसाइट लन्च गर्दा केही घण्टाभित्रै विश्वभरका प्रयोगकर्ताले चलाउन खोजेपछि क्र्यास भयो,’ विकासले इमर्ज न्युजपोर्टलका लागि प्रविधि पत्रकार जस एन्टोनियो लान्जसँग भनेका छन्, ‘भारतमा यस्ता च्याटबट निकै लोकप्रिय छन् ।’ गीता च्याटजीटीपी हाल नेपालीसहित संस्कृत, हिन्दी, मराठी, भोजपुरी गरी १६ वटा भाषामा उपलब्ध छ ।
कलकत्तामा बस्ने २० वर्षीय रेआन खानले मुस्लिम धर्मको पवित्र ग्रन्थ कुरानमा आधारित भई ‘कुरान जीपीटी’ बनाएर गत वर्ष रमजानको पहिलो दिन लन्च गरेका थिए । यसबारे लिंक्डइनमा राति एउटा पोस्ट लेखेर सुतेका रेआन सात घण्टापछि बिहान उठ्दा उनको च्याटबट नै क्र्यास भइसकेको थियो । उनको पोस्टमा थुप्रै सकारात्मक प्रतिक्रिया आए पनि केहीले धम्कीपूर्ण कमेन्ट पनि गरेका थिए ।
अत्तालिएर च्याटबटलाई अफलाइन अर्थात् प्रयोगकर्ताले नदेख्ने बनाएका रेआनले पछि पुनः त्यसलाई लाइभ गरे । विज्ञानका विषयमा लेख्ने अमेरिकी पत्रकार वेब राइटसँगको कुराकानीमा रेआनले मानिसलाई उनीहरूको गहिरो आध्यात्मिक प्रश्नहरूका उत्तरसँग जोड्न एआईले सेतुको काम गर्ने बताएका छन् । ‘आफ्नो धर्मसँग नजिक हुन चाहने तर यसबारे बुझ्न धेरै समय खर्चिन नचाहने मानिस पनि हुन्छन्,’ रेआनले भनेका छन्, ‘मैले कुनै एउटै प्लाटफर्मबाट त्यस्तो गर्न सके कस्तो हुन्थ्यो होला भनेर यो च्याटबट बनाएको हुँ ।’
गीता जीपीटी र कुरान जीपीटीजस्तै धार्मिक ग्रन्थका हजारौं शृंखला र संस्करणमा ट्रेन गराएर बनाइएका बाइबल डट एआई, बुद्धबट, बाइबल जीपीटी, आस्क कुरान, हडिथ जीपीटीजस्ता च्याटबट अहिले इन्टरनेटमा भेटिन्छन् । यिनले ग्रन्थभित्रका सूक्ष्म भाषिक ढाँचा पहिचान गरेर प्रयोगकर्ताका प्रश्नमा बोलीचालीकै भाषा (न्याचुरल ल्यांग्वेज प्रोसेसिङ) मा प्रतिक्रिया प्रदान गर्छन् । यी च्याटबटले केही सेकेन्डभित्रै आध्यात्मिक ज्ञानको संश्लेषण गरिदिन्छन् ।
धार्मिक आस्था, आध्यात्मिकता र धार्मिक अभ्यासका विषयमा प्रयोगकर्ताका जिज्ञासा मेटाउन डिजाइन गरिएका ‘गड च्याटबट’ हरू एकदम नयाँ अवधारणा भने होइनन् । सन् २००४ मा पहिलो पटक ‘बडी क्राइस्ट’ नामक गड च्याटबट विकास भएको ह्याप्पी फ्युचर एआई पोर्टलमा ब्रेन्ट रिचार्ड डिक्सनले लेखेका छन् । धार्मिक प्रश्नका एकदमै असान्दर्भिक र हाँसो उठ्दा जवाफ दिने गरी उक्त च्याटबट बनाइएको उनले स्मरण गरेका छन् ।
उनका अनुसार धार्मिक ग्रन्थ र प्रवचनहरूमा एआईलाई ट्रेन्ड गराएर प्रयोगकर्ताका सबालको सन्दर्भअनुरूप जवाफ दिने असली गड च्याटबट चाहिँ सन् २०१६ मा इस्लामिक एजुकेसन एन्ड रिसर्च एकेडेमीले विकास गरेको थियो । सो संस्थाले ‘युमा’ नामक च्याटबट विकास गरेको थियो, जसलाई कुरान र हडिथ ग्रन्थमा ट्रेन्ड गराइएको र मुस्लिम धर्मबारे जान्न चाहने १ लाखभन्दा धेरैसँग त्यसले अन्तर्क्रिया गरेको थियो ।
डिक्सनको लेखअनुसार सन् २०१८ मा वर्ल्ड च्यालेन्ज नामक इसाइ संस्थाले पनि ‘सेभियर बट’ भनेर प्रयोगकर्तालाई आध्यात्मिक मार्गनिर्देशन र सहायता प्रदान गर्ने गरी च्याटबट बनाएको थियो । पछिल्लो समय विश्वका ठुल्ठूला प्रविधि कम्पनीहरू एआई च्याटबट विकासको प्रतिस्पर्धामा उत्रिएका छन् । एआई प्रविधिले उपलब्ध गराउने कतिपय प्रतिक्रियालाई लिएर विवाद हुने गरेकाले अधिकांश च्याटबटले धार्मिक सवालमा जवाफ दिन रुचाउँदैनन् । यसमा मेटा (फेसबुक) को मेटा एआई टुल भने अपवाद देखिएको छ । गत महिना मात्रै मेटाले भारतीय प्रयोगकर्तालाई उपलब्ध गराएको उक्त टुलले हिन्दु, इसाइ, मुसलमानलगायत धर्म र देवताबारे चुट्किला सुनाएपछि चर्चा र आलोचना भएको थियो ।
इन्डिया टुडेमा पत्रकार दिव्यांशी शर्माले ‘मेटा एआई इज क्यार्किङ जोक्स अन हिन्दु गड्स एन्ड इस्लाम’ शीर्षकको समाचारमा मेटा एआईले हिन्दु भगवान्बारे कस्ता कस्ता चुट्किला सुनाउँछ भनेर उदाहरणसहित लेखेकी छन् । ‘जब हामीले ह्वाट्सएपमार्फत मेटा एआईलाई हिन्दु भगवान्बारे कुनै चुट्किला सुनाऊ भनेर लेख्दा यसले तुरुन्तै जवाफ दियो,’ शर्माले लेखेकी छन्, ‘उसको जवाफ थियो– गणेश भगवान् किन पार्टीमा गए थाहा छ ? किनभने उनी त्यहाँ भएका एक मात्र हात्ती थिए ।’
पत्रकार शर्माले पैगम्बर मोहम्मद, जिसस क्राइस्ट, भगवान् बुद्धबारे पनि मेटा एआईले विभिन्न चुट्किला सिर्जना गरेको उल्लेख गरेकी छन् । चुट्किला सिर्जना गर्नुअघि मेटा एआईले ‘सम्मानपूर्वक गरिएको ठट्यौली’ भनेर उल्लेख गर्ने गरेको छ । तथापि, भगवान्माथि
चुट्किला बनाएको भन्दै कतिपयले आलोचना गरिरहेका छन् । गुगलको जेमिनाइ र माइक्रोसफ्टको को–पाइलट च्याटबटले धार्मिक आस्थाका विषयमा भ्रामक जवाफहरू दिन थालेपछि व्यापक आलोचना भएका थिए । त्यसयता यी च्याटबटले धार्मिक आस्थासँग जोडिएका प्रश्नको खासै उत्तर दिँदैनन् । कुनै धर्मसँग सम्बन्धित चुट्किला त झनै गर्दैनन् । एक पत्रकारले जिज्ञासा राख्दा जेमिनाइबाट यस्तो प्रतिक्रिया आएको थियो, ‘कुनै पनि धार्मिक आस्था वा व्यक्तिलाई खिस्याउने वा अपमान गर्ने कन्टेन्ट सिर्जना गर्दा त्यसले धेरै व्यक्तिलाई चोट पुर्याउन सक्छ वा आपत्तिजनक लाग्न सक्छ ।’
धर्मग्रन्थ, धार्मिक उपदेश र प्रवचनहरू एआई प्रविधिमा मिसाउने कुरामा कतिपय धर्मावलम्बी र धर्मशास्त्रीले पनि विरोध गर्दै आएका छन् । अमेरिकाको भिल्लानोभा विश्वविद्यालयकी थियोलोजी विभाग प्रमुख इलिया डेलियोले धर्मलाई एआई प्रविधिसँग जोडेर ‘भगवान्सम्म पुग्ने छोटो बाटो’ का रूपमा विकास गरिएका गड च्याटबटहरूको आलोचना गर्दै यसलाई गम्भीर चिन्ताको विषय मानेकी छन् । पत्रकार वेब राइटसँगको कुराकानीमा डेलियाले भनेकी छन्, ‘परम्परागत रूपमा लामो समयसम्म अध्ययन गरेर प्राप्त हुने आध्यात्मिक चेतलाई यस्ता प्रविधिले कमजोर बनाउँछन् ।’ तथापि, विश्वका थुप्रै धार्मिक समुदाय, धर्मावलम्बी, फरक धर्मबारे जान्न खोज्ने र रुचि राख्नेहरूले भने धेरै प्रकारका एआई प्रयोगलाई स्वीकार गर्दै आएका छन् ।
(एजेन्सीको सहयोगमा)
