कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सौर्य जहाज दुर्घटना : पाइलट शाक्यलाई आईसीयूबाट सामान्य वार्डमा सारियो

स्वरूप आचार्य

काठमाडौँ — सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन् । 

सौर्य जहाज दुर्घटना : पाइलट शाक्यलाई आईसीयूबाट सामान्य वार्डमा सारियो

अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो । बिहीबार साँझ भने उनलाई क्याबिनमा सारिएको छ । क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

अस्पताल निर्देशक प्रा.डा. थापाका अनुसार शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ । ‘उहाँको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ, ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन्,’ उनले भनिन्, ‘ढाडको हड्डीको शल्यक्रिया गर्ने वा नगर्ने र गर्ने भए कहिले भन्ने निर्णय भइसकेको छैन ।’

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो ।

उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गर्दा क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामै थिए । उनले ‘म ठीक छु, अरूलाई हेर्नू’ भनिरहेका थिए । दुर्घटनालगत्तै उद्धार गरेर क्याप्टेन शाक्यलाई विमानस्थलबाट नजिकै रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित : श्रावण ११, २०८१ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×