पोस्टमार्टम पूरा, क्षतिपूर्ति टुंगो लागेपछि मात्रै शव बुझ्ने आफन्तको अडान

दुर्घटना भएयता सौर्य एयरलाइन्सका कुनै पनि उच्च पदस्थ अधिकारीहरू सान्त्वना दिनसमेत नआएको भन्दै मृतकका आफन्तद्वारा रोष प्रकट

श्रावण ११, २०८१

स्वरूप आचार्य

The position of the relatives to understand the body only after the post-mortem is completed and the compensation is settled

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिएको छ । शव पहिचान कार्य शुक्रबार बिहान सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने त्रिवि शिक्षण अस्पतालको तयारी छ । मृतकका परिवारजन भने बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडानमा छन् । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार १८ शवमध्ये एक महिला र एक बालकको शव पहिचानका लागि कुनै समस्या छैन । ‘अन्य १२ शवलाई परिवारले दिएको विवरणअनुसार पहिचान गर्न सकिन्छ जस्तो लाग्छ,’ उनले भने, ‘चार वटा शव भने आगोले डढेका कारण पहिचान गर्न कठिन हुन सक्छ ।’

डा. चौधरीका अनुसार लुगा, बोकेका ग्याजेट, शरीरमा रहेको ट्याटु वा चोटपटकबारे परिवारले दिएको विवरणका आधारमा शव पहिचान गरिन्छ । शल्यक्रिया गरेको भए त्यसको विवरणका आधारमा चिन्न सहज हुन्छ । कसैले दाँतको उपचार गराएको भए त्यसको विवरणबाट शव चिन्न सजिलो हुन्छ । ‘मृतकको दाँत देखिने गरी हाँसेको तस्बिर भए त्यो पनि उपलब्ध गराउन आग्रह गरेका छौं,’ डा. चौधरीले भने, ‘तपाईंहरूले सबै दाँत एकै प्रकारको देखे पनि हामी फरक देख्छौं । औंठाको छापबाट पनि पहिचान गर्न सकिन्छ ।’

डीएनए म्याचिङलाई भने शव पहिचानको अन्तिम विधिका रूपमा मात्रै प्रयोग गरिन्छ । ‘डीएनए परीक्षणका लागि नमुना संकलन गर्नै पनि कठिन हुन्छ । त्यसमाथि परीक्षणको नतिजा आउन थोरैमा पनि १२ दिन लाग्छ,’ डा. चौधरीले भने, ‘सकेसम्म डीएनए परीक्षण नगरीकनै शव पहिचान गर्ने विधिलाई प्राथमिकता दिन्छौं ।’

फरेन्सिक विज्ञ डा. चौधरीको नेतृत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पतालका समेत गरी २५ भन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी पोस्टमार्टममा खटिएका थिए । डा. चौधरीका अनुसार विमान दुर्घटनामा परेकाले पोस्टमार्टममा मृत्युको कारण खोज्नुपर्दैन तर शव आफन्तजनलाई बुझाउनयोग्य बनाउनै धेरै समय लाग्छ । ‘भोलि (शुक्रबार) ४ बजेसम्ममा पहिचान भएका शव परिवारलाई बुझाउने कोसिसमा छौं,’ डा. चौधरीले भने । 

विमान दुर्घटनामा ज्यान गुमाएकाहरू आफन्त एवं परिवारजनले शव हस्तान्तरण अघि नै बिमा र यथोचित क्षतिपूर्ति रकम टुंगो लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराईसँग माग गरेका छन् । मृतकका आफन्तलाई भेट्न मन्त्री पाण्डे र एयरलाइन्सका एकाउन्टेबल म्यानेजर भट्टराई बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यही बेला मृतकका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान सुनाएका हुन् ।

दुर्घटना भएयता सौर्य एयरलाइन्सका कुनै पनि उच्च पदस्थ अधिकारीहरू आफूहरूलाई भेट्न वा सान्त्वना दिन नआएको बताउँदै उनीहरूले रोष प्रकट गरेका थिए । ‘एयरलाइन्सकै कर्मचारीहरू दुर्घटनामा पर्दासमेत कम्पनीले एउटा समवेदना सन्देशसमेत निकालेको छैन, भेट्न आउने त परको कुरा,’ एक आफन्तले भने, ‘हामीले के आधारमा कम्पनीका प्रतिनिधि भनेर आएका मान्छेको विश्वास गर्ने ?’

शिक्षण अस्पतालको फरेन्सिक विभाग रहेको भवनमा जम्मा भएका प्रायः सबै आफन्तले सौर्य एयरलाइन्सले मृतकका परिवारलाई बेवास्ता गरेको आरोप लगाइरहेका थिए । एयरलाइन्सले आफ्नो मागको उचित सम्बोधन नगरे आपराधिक घटनाका रूपमा छानबिन गर्न प्रहरीमा जाहेरी दिने तयारी पनि रहेको उनीहरूले सुनाए । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले दुर्घटनापछि उचित बिमाका लागि कम्पनीले कानुनी प्रतिनिधिमार्फत बिमा कम्पनीसँग छलफल सुरु गरिसकेको जानकारी दिएका थिए ।

‘काममा खटिएकै अवस्थामा हाम्रा कर्मचारीहरू दुर्घटनामा परे भनेर बिमा कम्पनीसँग कुरा गर्न वकिल राखिसकेका छौं । त्यसमा हामीले जतिसक्दो धेरै बिमा प्राप्त गर्नका लागि कुरा गर्छौं,’ उनले भने, ‘अहिले नै यति रकम भनेर उद्घोष गर्दा हामी तल पर्ने अवस्था आउन सक्छ । त्यसैले यतिउति रकम नभनौं ।’ उनले सबैले यथोचित क्षतिपूर्ति प्राप्तिको अवस्था सिर्जना गर्न एयरलाइन्स लागिरहेको बताए । 

मृतकका आफन्तले भने निर्णय गर्न सक्ने एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने माग गरेका थिए । मन्त्री पाण्डेले भने शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् । मन्त्री पाण्डेकै पहलमा शुक्रबार दिउँसो २ बजेअघि मन्त्रालय, एयरलाइन्सका उच्च प्रतिनिधि र मृतकका आफन्तबीच अस्पतालमै छलफल हुने भएको छ ।

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ जहाज ‘फेरि फ्लाइट’ (गैरव्यावसायिक उडान) मा थियो ।

सौर्य एयरलाइन्स जहाज दुर्घटना

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully