धावनमार्ग छाडेलगत्तै खस्यो जहाज

मृतकहरूको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुँदै

श्रावण १०, २०८१

सुदीप कैनी, स्वरुप आचार्य

The plane crashed after leaving the runway

काठमाडौँ — विस्तृत परीक्षण र मर्मत (सी–चेक) का लागि काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी को–पाइलटसहित १८ जनाको मृत्यु भएको छ, जसमध्ये १७ नेपाली र एक यमनी नागरिक हुन् । पाइलट मनीषरत्न शाक्य घाइते छन् । 

प्रहरीका अनुसार दुर्घटनामा परी को–पाइलट सुशान्त कटुवालका साथै अमितमान महर्जन, सागर आचार्य, दीलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । जहाजमा चालक दलका दुईसहित १९ जना थिए ।

विमानस्थलका उपमहानिर्देक प्रेमनाथ ठाकुरले धावनमार्ग छाडेर आकाशतर्फ उड्दै गर्दा जहाज दुर्घटनामा परेको जानकारी दिए । कोटेश्वरतर्फबाट उडान भरेको केही मिनेटमा नै जहाज दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वपट्टि भुइँमा बजारिएको थियो । त्यसपछि कालो धूवाँको मुस्लो निस्केको र लगत्तै आगो दन्किएको देखिएको प्रत्यक्षदर्शीले बताए । जहाजमा सल्किएको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल, अग्नि नियन्त्रक, नेपाल नागरिक उड्डयन प्राधिकरण संयुक्त रूपमा जुटेका थिए । जहाजमा लागेको आगो नियन्त्रणमा लिन करिब आधा घण्टा लागेको थियो । ४० मिनेटपछि शवहरू संकलन गरिएको थियो । पाइलट शाक्यको भने ११ बजेर ३४ मिनेटमै उद्धार गरिएको थियो । 

सौर्य एयरलाइन्सका कर्मचारी र उनीहरूका आफन्त जहाज दुर्घटनामा परेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार त्यहाँको ह्यांगरमा जहाज राखेर विस्तृत परीक्षण र मर्मतका लागि उक्त एयरलाइन्सले अनुमति लिएको थियो । सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा रुटमा नियमित उडान भने गर्दैन । परीक्षण र मर्मतका लागि जहाज जाँदै गर्दा कम्पनीका अन्य कर्मचारी र उनीहरूका आफन्तसमेत पोखरा गएको हुन सक्ने नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए ।

The plane crashed after leaving the runway

जहाज दुर्घटनाका कारण झन्डै एक घण्टा त्रिभुवन विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । त्यतिबेला विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भए । अवतरण तालिका पाएका कतिपय विमानलाई ‘होल्ड’ गरिएको थियो । मलेसियाको क्वालालम्पुर र बंगलादेशको ढाकाबाट आएका विमान उतै ‘डाइभर्ट’ गरिएको थियो । दिउँसो सवा १२ बजेपछि विमानस्थल नियमित सञ्चालनमा आएको थियो ।

जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत विमानस्थल पुगेका थिए । दुर्घटनास्थलको अवस्था बुझेपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ‘ब्रिफिङ’ लिएका थिए । उनले घटना ज्यादै दुःखद र अकल्पनीय भएको बताए । ओलीले निधन भएकाहरूमा श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले घाइते क्याप्टेन शाक्यको स्वास्थ्यलाभको कामना पनि गरेका छन् । यससम्बन्धमा सरकारले आवश्यक निर्णय लिने बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए । घटना कसरी भयो, मानवीय कि प्राविधिक कमजोरी भयो भन्ने बुझ्न पनि उनले आग्रह गरे । 

The plane crashed after leaving the runway

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा साँझ बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दीपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । ४५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई समय दिइएको छ । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शोकका लागि बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको बताए ।

‘आगामी दिनमा दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालक कम्पनीले जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र त्यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ,’ उनले भने ।

सौर्य एयरलाइन्स जहाज दुर्घटना

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

स्वरुप आचार्य कान्तिपुरका तत्कालिन प्रदेश ब्युरो संयोजक हुन् । उनी स्वास्थ्य बिटमा कलम चलाउँछन् ।

Link copied successfully