आफ्नै प्राविधिक बोकेको जहाज विमानस्थलमै खस्यो

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दक्षिण कोटेश्वर विन्दुबाट करिब १२ सय ५० मिटर गुडेर ‘टेक अफ’ गरेको सौर्य एयरलाइन्सको जहाज ७ सय मिटर उडेर असन्तुलित हुँदै भुइँमा बजारिएको थियो

श्रावण १०, २०८१

सुरज कुँवर

The plane carrying its own technicians crashed at the airport

काठमाडौँ — विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । हरेक वर्षजस्तो भइरहेका दुर्घटनाले नेपालको हवाई सुरक्षाप्रति विश्वको ध्यान खिचिएको छ । 

फेरि फ्लाइट (गैरव्यावसायिक उडान) मा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध सुविधा प्रयोग गरी नियमित परीक्षण तथा मर्मत गर्न उडेको जहाजमा सौर्य एयरलाइन्सको प्राविधिक तथा व्यवस्थापनका कर्मचारीहरू सवार थिए । दुर्घटनामा ४ वरिष्ठ इन्जिनियरको मृत्यु भएको छ । यमनी नागरिक पनि दुर्घटनामा परेका छन् । उनी नेपालमै बसेर वायुसेवा कम्पनीमा काम गर्दै आएका इन्जिनियर हुन् । मृतकमध्ये सौर्यका आइटी हेड मनुराज शर्मा, श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज पनि छन् । प्रिजा उर्जा मन्त्रालयमा पूर्णकालीन र सौर्य एयरलाइन्समा करारमा कर्मचारी रहेको सौर्यका उपमहाप्रबन्धक उमेश आचार्यको भनाइ छ । 

बुधबारको दुर्घटनामा जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) र पाइलट तथा एटीसीबीचको संवाद रेकर्ड गर्ने ककपिट भ्वाइस रेकर्डर (सीभीआर) नागरिक उड्डयन प्राधिकरणले फेला पारिसकेको छ । यस घटनाको कारण यी दुई उपकरणबाट पत्ता लगाउन सकिनेछ । यसबाहेक उडानका प्रमुख कमान्डर तथा सौर्य एयरलाइन्सका अपरेसन निर्देशक मनीषरत्न शाक्य जीवितै उद्धार भएकाले उनले पनि दुर्घटनाको कारण बताउनेछन् ।

The plane carrying its own technicians crashed at the airport

धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर) को अन्तिम विन्दुबाट करिब १२ सय ५० मिटर गुडेर सौर्यको जहाज ७ सय मिटर उडेर असन्तुलित भएको सीसीटीभीमा देखिन्छ । ढलपल गर्दै उडेको जहाज दायाँ पखेटाले भुइँ छोएर बजारिँदै धावनमार्ग बाहिर खाल्डोमा खसेको थियो । यसअघि जहाजले एयर डाइनेस्टी हेलिकोप्टरको स्टेसन र सँगैको कन्टेनरलाई पनि हुत्याउँदै तीन सय मिटर तल बजारिएको थियो । दुर्घटना हुनु ५ मिनेटअघि मात्रै एयर डाइनेस्टीका कर्मचारी खाना खान गएकाले उनीहरू जोगिएको एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डितले बताए । उनका अनुसार कन्टेनरमा रहेको हेलिकोप्टरका स्पेयरपार्ट्स, इन्जिनलगायत करोडौंका उपकरणमा क्षति पुगेको छ । सौर्यको जहाज तीन टुक्रा भएको छ । ककपिटको भाग एयर डाइनेस्टीको कन्टेनरभित्र पसेकाले पाइलट जोगिएको अग्नि नियन्त्रणमा संलग्न विमानस्थलका एक कर्मचारीले बताए । उद्धार कार्य तत्कालै सुरु भएको उनको दावी छ । 

११ः११ मा दुर्घटनाग्रस्त भएको विमानमा लागेको आगो करिब १ मिनेटमै नियन्त्रण लिइएको थियो । क्याप्टेन शाक्यलाई विमानस्थलकै एम्बुलेन्सले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याएको थियो । १ बजेर १८ मिनेटमा १८ वटै शव शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । दुर्घटनालगत्तै सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका थिए, काठमाडौंभित्रका ६० वटा एम्बुलेन्स उद्धारका लागि विमानस्थलमा पुगेका थिए । 

The plane carrying its own technicians crashed at the airport

हावाको कुनै प्रभाव नभएको र झन्डै ७ हजार मिटरसम्मको ‘भिजिबिलिटी’मा बुधबार विमानस्थलका एटीसीहरूले आन्तरिक उडानका जहाजलाई उडान र अवतरण गराइरहेका थिए । सौर्यको पछिपछि श्री र बुद्ध एयरको जहाज उड्ने तरखरमा थिए । तर दुर्घटनालगत्तै ती दुवै जहाज धावनमार्ग नपसी ट्याक्सीवेबाट फर्किए । 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ११ः११ देखि १२ः१५ सम्म विमानस्थल बन्द गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएसँगै भैरहवा, पोखरा र सिमराबाट काठमाडौं आउँदै गरेका ७ वटा जहाज त्यतै फर्केका थिए । क्वालालम्पुरबाट आउँदै गरेको मलेसियन एयर दिल्ली र ढाकाबाट आउँदै गरेको विमान बंगलादेशतिरै ‘डाइभर्ट’ भए । 

The plane carrying its own technicians crashed at the airport

प्राधिकरणमा भएको सौर्यको उक्त जहाजको मर्मत तालिकाअनुसार यसलाई सी–चेकमा पठाउनुअघि अझै १ सय १९ घण्टा उडाउन मिल्थ्यो । मर्मतसम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार, कम्पनीहरूले आन्तरिक विमानस्थलमा मर्मत गर्न असम्भव भए विदेश लैजान सकिने समयको मार्जिन राख्ने गर्छन् । त्यसैअनुसार सौर्यले १ सय १९ घण्टाको अवधिअघि नै जहाजलाई ‘पोजिसनिङ’ (मर्मत सुरु हुनुअघि खडा गर्ने कार्य) गर्न पोखरा लैजाँदै थियो । 

जहाजको सी–चेकका क्रममा कम्तीमा ३ सयवटा प्राविधिक परीक्षण हुने भएकाले सौर्यले टर्कीबाट दुई विज्ञ इन्जिनियर बोलाउन प्राधिकरणबाट अनुमति लिइसकेको थियो । ‘एक ट्रक सामान र केही जुनियर प्राविधिकलाई केही दिनअघि पोखरा पठाइसकेका थियौं,’ सौर्यका मार्केटिङ प्रमुख मुकेश खनालले भने, ‘यसअघि हामी सीआरजेको सी–चेक चीनमा गर्थ्यौं ।

The plane carrying its own technicians crashed at the airport

यस पटक नेपालमै गर्ने भनेर हाम्रै प्राविधिक र इन्जिनियरहरूसहित पोखरा जाने निर्णय कम्पनीले गरेको हो ।’

१० वर्षअघि चार्टर उडानमार्फत स्थापना भएको सौर्य नेपालमा सीआरजे–२०० जेट विमानबाट आन्तरिक उडानको सेवा दिने पहिलो वायुसेवा हो । यसले हाल दुईवटा विमानबाट भद्रपुर र विराटनगरमा दैनिक ओहोरदोहोर गरी ८ वटा उडान गर्दै आएको छ । 

२०१२ भदौमा सिमरामा भएको पहिलो हवाई दुर्घटनायता बुधबारसम्म ६९ वर्षमा नेपालमा १ सय ८ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, सौर्यको दुर्घटनासहित नेपालमा भएका सानाठूला जहाज/हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको संख्या कम्तीमा ९ सय ५९ पुगेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र र बाहिर भएका ७ वटा दुर्घटनामध्ये यूएस बंगला, सीता एयर र पोखरामा भएको यतीको दुर्घटना भएकै प्रकृतिको दुर्घटना बुधबार दोहोरिएको छ ।

चार वर्षअघि बंगलादेशबाट आउँदै गरेको यूएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना हुँदा ५१ जनाले ज्यान गुमाएका थिए । डेढ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा यती एयरलाइन्सको एटीआर विमान दुर्घटना हुँदा ७२ जना र १४ वर्षअघि काठमाडौंबाट लुक्ला जाँदै गरेको सीता एयरको डोर्नियर जहाज ‘टेकअफ’कै क्रममा मनहरामा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

The plane carrying its own technicians crashed at the airport

सरकारले पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पुरानै शैलीमा घटना जाँचबुझ आयोग गठन गरेकामा वायुसेवासँग सरोकार राख्नेहरूले असन्तुष्टि जनाएका छन् । ‘संयुक्त राष्ट्र संघअन्तर्गत रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सिकागो सन्धिअनुसार दुर्घटना जाँच गर्न र त्यस्तै प्रकृतिका दुर्घटना नदोहोरिउन् भन्ने उद्देश्यले स्रोत र विज्ञतासहितको स्वतन्त्र जाँचबुझ आयोग गठन हुनुपर्छ भनेको छ,’ नेपालको हवाई सुरक्षाबारे जानकार एक वरिष्ठ एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले कान्तिपुरसँग भने, ‘उस्तै प्रकृतिका अनि सुविधासम्पन्न विमानस्थल आसपासमा घटना दोहोरिरहँदा सरकारले आयोग गठन गरेर झारा टार्न खोजेको देखियो । यो आयोगले पनि पुरानै आयोगहरूको शैलीमा काम गर्दा हामीले अझै हवाई दुर्घटना सामना गरिरहनुपर्नेछ ।’ 

The plane carrying its own technicians crashed at the airport

सौर्य एयरलाइन्स जहाज दुर्घटना

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully