कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बाढीपहिरोले खोस्यो खुसी

‘सेनामा भएका भाइको दीक्षान्त समारोहमा सहभागी भई बाआमा, भाइसहित दिदीभिनाजु काठमाडौंबाट फर्कंंदै हुनुहुन्थ्यो, मैले शुभयात्रा भनेको थिएँ । तर त्यो नै अन्तिम कुराकानी भइदियो । भाइको खुसी पनि राम्रोसाग मनाउन नपाउँदै परिवारको खुसी पहिरोले लग्यो ।’

रौतहट, पर्सा — कान्छा भाइ कृष्णनन्दन साह नेपाली सेनाको नौमहिने तालिम सकेको खुसीमा थिए, बौधीमाई नगरपालिका–३ मटिहर्वाका सकुन । कृष्णनन्दनको दीक्षान्त समारोहमा सहभागी हुन केही दिनअघि ५८ वर्षीय बाबु परशुराम, ५६ वर्षीया आमा मीनादेवी, माइलो दाइ सरोज, दिदी रिंकु र भिनाजु नरेश साह काठमाडौं यात्रामा निस्किएका थिए ।

बाढीपहिरोले खोस्यो खुसी

समारोहको खुसीमा सहभागी भएर फर्कंदै गरेका उनीहरूसँग भेट्न नपाउँदै सकुनका लागि शुक्रबार अपशकुन बनिदियो । काठमाडौंबाट फर्कंदै गरेको साह परिवार सवार बसलाई पहिरोले बगाएपछि त्रिशूलीमा बेपत्ता भए । सरोजले भने पौडिएर ज्यान जोगाए ।

सकुनका अनुसार काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस चढ्ने बेलामा बुबाले फोन गरेका थिए । ‘अनि मैले शुभयात्रा भनेको थिएँ । त्यो नै अन्तिम कुराकानी भइदियो,’ सकुनले सुनाए, ‘भाइको सपना त सकार भएको खुसी पनि राम्रोसँग मनाउन नपाउँदै परिवारको खुसी पहिरोले लग्यो । परिवारका चार सदस्य नै गुमाउनुपर्ने पो हो कि भन्ने अवस्था आयो ।’

सकुन जस्तै दुःखी छन्, गरुडा–९ सिसवाटोलकी ४७ वर्षीय उमादेवी राय । सोही बसमा थिए, उमादेवीका श्रीमान् जागेश्वर राय यादवसहित ७ वर्षीय छोरा अशोक, २७ वर्षीया छोरी अमृता, नाति शिवशंकर र नातिनी प्रिती पनि । जागेश्वरले पौडेर ज्यान जोगाए पनि परिवारका अन्य चार जना बेपत्ता छन् । उमादेवीले बिहान ७ बजे दुर्घटनाको खबर थाहा पाएलगत्तै बरोबर मुर्च्छित भइरहेकी छन् । १८ वर्षीय जेठो छोरा सन्तोष आमालाई सम्झाउन खोज्छन् । तर आफैं सम्हालिन नसकेर रुन्छन् ।

उमादेवीका कान्छो छोरा अशोकलाई गत पुसदेखि पेट दुख्ने समस्या देखियो । गाउँकै स्वास्थ्य चौकी र चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा उपचार गराए पनि निको नभएपछि असार २० मा थप उपचारका लागि काठमाडौं हिँडेका थिए । त्यही बेला ढाड दुखाइले पीडित अमृता पनि उपचार गराउन भन्दै दुई छोराछोरीसहित काठमाडौं हिँडेकी थिइन् । सन्तोषका अनुसार बिहीबार राति ८ बजेतिर बाबुले फोन गरेर आफूहरू बस चढ्न लागेको बताएका थिए । खसेको बसबाट जोगिएका जागेश्वरको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शोकमग्न नगवा टोल

शुक्रबार बिहानैदेखि वीरगन्ज–१६ को नगवा टोल शोकमा डुब्यो । काठमाडौं हिँडेको एन्जल यातायातको बस त्रिशूलीमा खसेको र आफ्नो टोलका दुई जना बेपत्ता भएको खबर स्थानीयले बिहानै पाएका थिए । उक्त बसका चालक थिए, २० वर्षदेखि रात्रि बस चलाउँदै आएका नगवा टोलका जवाहिर महतो । उनीसँगै थिए, छिमेकी हरिन्द्र प्रजापती । जवाहिरका भतिजा राहुलले घटना थाहा पाएपछि बिहानैदेखि टोलमा रुवाबासी चलेको बताए ।

स्थानीय ६५ वर्षीय बाबुलाल कुशवाहाले दुर्घटनामा टोलका २ जना परेको खबरले सिंगो टोल शोकमग्न भएको बताए । ‘बिहान उठ्नेबित्तिक्कै सबै टोलबासीले नराम्रो खबर सुन्नुपर्‍यो,’ उनले भने, ‘शोकले बिहान धेरैको घरमा चुलो बलेन ।’ यिनै चालक जवाहिरले गाडी हाँक्न सिकाएका थिए, पर्सा पोखरियाका १९ वर्षीय राहुल साहलाई । साह केही वर्षयता जवाहिरले चलाउने बसमा सह–चालक थिए । बस दुर्घटनामा परेको खबर सुनेपछि वीरगन्ज बसपार्कस्थित एन्जल बस काउन्टरमा आइपुगेका साह बुधबारदेखि बिदामा बसेकाले दुर्घटनाबाट जोगिएको बताए । आफू बिदामा बसेपछि बस साहुले बिहीबार साँझ सिन्धुपाल्चोकतिरका २५ वर्षीय एक युवालाई काममा लगाएको उनले जानकारी दिए ।

यही बसमा सवार थिए, नगवाकै हरिन्द्र प्रजापती । काठमाडौंमा कार्पेन्टरको काम गर्ने हरिन्द्र एक साता अघि रोपाइँ गर्न घर फर्केका थिए । रोपाइँ सकिएपछि उनी शुक्रबार काठमाडौं हिँडेका थिए । हरिन्द्रका छोरा १८ वर्षीय रामजीले सुनाए, ‘हामीलाई टुहुरो बनाएर जानुभयो ।’ वीरगन्ज बसपार्कस्थित प्रहरी चौकी बसपार्कका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक लतिफ अन्सारीले त्रिशूलीमा बगेको एन्जल बसका चालक दलका ३ सदस्यसहित २१ यात्रु रहेको र जसमा ७ भारतीय नागरिक रहेका बताए ।

भतिज खोजिरहेका ललन

भारत बिहार चतवरियाका ४० वर्षीय ललन साह वीरगन्जमा फलफूल बेच्छन् । उनका भतिजा २५ वर्षीय सुनिलले भने काठमाडौंमा फलफूल बेच्दै आएका थिए । काका भतिजा बिहीबार नै भारतस्थित घरबाट फर्किएका थिए । ललनले शुक्रबार साँझ भतिजलाई काठमाडौं जान बस चढाएर फर्केका थिए । शुक्रबार दिउँसो मात्रै उनले बस दुर्घटनाको खबर थाहा पाए । ‘एउटा नौजवान भतिजो गुमाउनुको पीडा म कसरी बयान गर्न सक्छु,’ ललनले भने ।

प्रकाशित : असार २९, २०८१ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×