कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

वर्षाले देशभर २६२ सडक खण्डमा यातायात अवरुद्ध

एक महिनामा बाढी–पहिरोले सडक र पुलमा एक अर्बभन्दा बढीको क्षति
विमल खतिवडा

काठमाडौँ — निरन्तरको वर्षा अनि त्यसले निम्त्याएको बाढीपहिरो, सडक भासिने आदि समस्याका कराण देशभर २६२ ठाउँमा बाटो अवरुद्ध बनेको छ । शुक्रबार साँझसम्म मुख्य र सहायक सडक गरी यत्तिका स्थानमा अवरोध पुगेको सडक विभागले जनाएको छ । पानी परिरहेकाले सडक अवरुद्ध हुने र क्षति थपिने क्रम जारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । सबैभन्दा बढी क्षति सडकमा भएको छ ।

वर्षाले देशभर २६२ सडक खण्डमा यातायात अवरुद्ध

यसबाट असार १ यता मात्र सडक र पुलमा गरी एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । मुलुकका विभिन्न स्थानबाट क्षतिको विवरण आउने क्रम जारी रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताए । ‘अहिलेसम्म प्रारम्भिक अनुमानअनुसार १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ उनले भने, ‘क्षतिको विवरण संकलन भएर आउने क्रममै छ ।’ यो सडक विभागले हेर्ने राष्ट्रिय राजमार्गहरूको मात्र क्षति रकम भएको उनको भनाइ छ ।

‘फेरि त्यही ठाउँमा नयाँ सरंचना बनाउन बढी खर्च लाग्छ,’ ढकालले भने, ‘पछिल्लो पटक मानवीय र भौतिक क्षति धेरै चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डमा भएको छ ।’ भौगोलिक अवस्थितिलाई ध्यानमा राखेरै विस्तारपूर्व गरिने डिजाइनका सबै काम भएरै स्तरोन्नतिको काम भएको हो । ‘मुख्य राजमार्गभन्दा माथि गाउँ जोड्न जथाभावी सडक निर्माण गरिँदा त्यसको असर राजमार्गहरूमा परेको छ,’ उनले भने, ‘यो सडकमा पनि एउटा समस्या त्यही हो ।’

भौगोलिक अवस्था नबुझी र वातावरणीय प्रभाव मूल्यांकनको कामै नगरी मुख्य राजमार्गबाट गाउँ जोड्ने कच्ची सडक निर्माण गरिँदा त्यसको प्रभाव राजमार्गहरूमा पर्दै आएको उनको भनाइ छ । अहिले सडक विभागले हेर्ने विभिन्न सडक पहिरोका कारण अवरुद्ध छन् । कोशी राजमार्गको लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांकाअन्तर्गत समाटार खण्ड अवरुद्ध छ । असार ६ देखि पहिरो खसेर यातायात ठप्प बनेको यो सडक अझै सञ्चालनमा आउन सकेको छैन । असार १८ देखि अवरुद्ध रहेको डुम्रे–बेंसीसहर–चामेअन्तर्गत लमजुङको तिमाङ खण्डमा अझै सवारीसाधन चल्न सकेका छैनन् । कालीगण्डकी करिडोरको तानसेन–रिडी–कोरलाअन्तर्गत स्याङ्जाको रातोडाँडा र बिसौना खण्ड असार २० बाट पहिरो खसेर अवरुद्ध छ । मध्यपहाडी राजमार्गमा पर्ने बागलुङको काउछे–मनेवा खण्ड असार ६ मा र डोटीको रामपुर खण्ड असार २३ देखि सडक अवरुद्ध छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत नै बागलुङको बोक्सेमा असार २७ र सिन्धुलीको अक्करे भीरमा शुक्रबारदेखि पहिरो खसेर सडक ठप्प छ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको दब्ल्याङ भीरमा असार २१ र यही जिल्लाको कालीखोला खण्डमा असार २६ बाट सडक रोकिएको छ । यता कालीगण्डकी करिडोरअन्तर्गत नै म्याग्दीको सिरुबारी र बैसरीमा असार २७ बाट पहिरोका कारण गाडी चल्न सकेका छैनन् । सल्यानको गुरुचौर–तातली सडक खण्ड पनि शुक्रबार पहिरो खसेर ठप्प बनेको सडक विभागले जनाएको छ ।

राजमार्गहरूमा पहिरोको समस्या आइरहनुको कारण के हो, ‘ड्रोन सर्भे’ गरेर पत्ता लगाउन सडक विभागलाई भनिएको प्रवक्ता ढकालले बताए । ‘घटना घटिसकेपछि मात्र पछुताउने बानी छ हाम्रो,’ उनले भने, ‘त्यसैले यसमा जिम्मेवार निकाय पहिल्यै सचेत भएर लाग्न जरुरी छ ।’ जोखिमयुक्त राजमार्गका विभिन्न खण्डमा प्रत्येक दिन ड्रोनबाट अवलोकन गर्न सके सडकको अवस्था के छ र के भइरहेको छ, थाहा हुने ढकालको भनाइ छ । ‘ड्रोनबाट दैनिक राजमार्गको अवस्था बुझ्न सके समस्या के छ, पहिल्यै जानकारी हुन्छ,’ उनले भने, ‘खतरा रहेको पाइए उक्त राजमार्गमा सवारीसाधन चलाउन दिनुहुँदैन ।’

अहिले सबैभन्दा बढी समस्या नारायणगढ–मुग्लिङ सडक खण्डमा छ । यस सडक खण्डमा बर्खाको समयमा प्रत्येक वर्ष विभिन्न स्थानमा खस्ने पहिरोका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । सवारी चाप धेरै हुने राजमार्ग र सडकहरूमा तुरुन्त मेसिनहरू राखेर पहिरो पन्छाउँदै यातायात सञ्चालन गरिरहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता उमेशबिन्दु श्रेष्ठले बताए ।

‘पहिरोका कारण एक–एक घण्टामा सडक खुल्ने र बन्द हुन्छ,’ उनले भने, ‘कतै–कतै मात्र लामो समयसम्म सडक अवरुद्ध हुन्छ, सवारी चाप कम हुने सडकलाई बिस्तारै खुलाउने गरिएको छ ।’ बढी सवारी चाप हुने ‘लाइफलाइन’ का रूपमा रहेका सडकलाई पहिलो प्राथमिकतामा राखी पहिरो खस्नसाथ पन्छाएर यातायात सञ्चालन गरिएको उनको दाबी छ ।

प्रकाशित : असार २९, २०८१ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×