चितवन — चितवन-नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परेर त्रिशूली नदीमा हराइरहेका दुई बसमध्येको एक बसमा सात भारतीय नागरिकसहित अन्दाजी २४ जना यात्रु रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३-००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीनजना कर्मचारी, स्थानीय यात्रु १४ वना र भाारतीय नागरिक सातजना रहेको छन् ।
प्रशाासन कार्यालयले ७ जना भारतीय नागरिकसिहत १७ जनाको नाम ठेगाना विवरण पनि सार्वजनिक गरेको छ । सोही ठाउँबाट काठमाडौंबाट रौतहटको गौर जान आउँदै गरेको अर्को बस पनि त्रिशूलीमा खसेर हराएको छ । सो बसका यात्रुमध्ये तीनजना बस नदी मै पुगेपछि पनि पौडिएर बाहिर आएका छन् । उनीहरूमध्ये रौतहट सिस्वा धमौरा गरूडा-९ का जुगेश्वर राय यादव र करूनिया देवाही गोनाही नगरपालिका-१ का नन्दन दासको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जुगेश्वरका छोरी, छोरा र नाति नातिनी चारजना पनि बस मै थिए । उनीहरूको अवस्था अज्ञात छ । छोराको उपचारका लागि काठमाडौं गएर घर फर्कँदै गर्दा घटना भएको उनले बताए । सडकबाट बस पाँच बल्ड्याङ खाएर नदीमा पुगेको जुगेश्वरले सुनाए । अर्का एकजना रौतहट कै सरोज गुप्ता भरतपुरको सरकारी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएर आफन्तकोमा गएका छन् । बस र यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको विपद् उद्धार टोली खटी रहेको छ ।
