काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिशूली नदीमा बेपत्ता भएका बसका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिइएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गएराति पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री दाहालले सो विषयमा आफूले चितवन जिल्ला प्रशासन कार्यालय र त्यहाँको स्थानीय निकायलाई सचेत गराउँदै खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको बताएका हुन् ।
'मुग्लिङ-नारायणघाटको बीचमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएपछि मैले चितवन जिल्ला प्रशासनसँग, त्यहाँको महानगरपालिकासँग बिहान मात्रै कुरा गरेर स्थिति के छ, खोजी र उद्धारको निम्ति तदारुपताका साथ खोजी गर्न निर्देशन दिएको छु,’ प्रधानमन्त्री दाहालले भने ।
