काठमाडौँ — चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । बसबाट हाम फालेका यात्रुहरूका अनुसार माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।
शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट ३ जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ ।
