कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा

नागरिकतामा बिगो, कैद र जरिवाना हुने कुनै पनि कसुर पुष्टि हुने आधार नदेखिएको र नागरिकता जारी गर्ने क्रममा भएका त्रुटिलाई प्रशासनबाटै सम्बोधन गर्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयको सहमतिमा प्रहरीले गर्‍यो थुनामुक्त

धनुषा — सहकारी बचत अपचलनमा शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ९ दिनअघि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । अनुसन्धानका क्रममा नागरिकतामा बिगो, कैद र जरिवाना हुने कुनै पनि कसुर पुष्टि हुने आधार नदेखिएको र नागरिकता जारी गर्ने क्रममा भएका त्रुटिलाई प्रशासनबाटै सम्बोधन गर्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले स्वीकृति दिएपछि प्रहरीले सिरोहियालाई हाजिर जमानतमा रिहा गरेको हो । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाको स्वीकृतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार साँझ हिरासतमुक्त गरेको हो । काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको प्रधान कार्यालयबाट पक्राउ गरी रातारात धनुषा लगिएका सिरोहियामाथि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले तीन पटक म्याद थपाएको थियो । तर, नागरिकतामा प्रशासनिक त्रुटि मात्र देखिएपछि उनलाई रिहा गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाका सहन्यायाधिवक्ता सुदीप दंगालले अनुसन्धानका क्रममा खुलेका तथ्य, प्रमाण र विषयको अवस्था हेरेर सिरोहियालाई हाजिरी जमानीमा छोड्ने निर्णय भएको बताए । ‘नागरिकतामा बिगो, कैद र जरिवाना हुने कुनै पनि कसुर पुष्टि हुने आधार नदेखिएको र नागरिकता जारी गर्ने क्रममा भएका त्रुटिलाई प्रशासनबाटै सम्बोधन गर्नुपर्ने देखिएको छ, त्यसैले छिटो अनुसन्धान टुंग्याएर प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छौं,’ उनले आफ्नै कार्यालयमा पत्रकारहरूसँग भने ।

सिरोहियाको नागरिकतामा प्रश्न उठाउँदै गृहमन्त्री लामिछानेको पार्टी रास्वपाका मधेश प्रदेश कार्यसमिति सदस्य इन्द्रजित प्रसाद महतोले जाहेरी दिएका थिए । नागरिकतामा भएको नम्बर अर्को व्यक्तिको नागरिकतासँग मिलेको र सिरोहियाको नागरिकतामा भएको हस्ताक्षरमा प्रश्न उठेको भन्ने जाहेरीमा प्रारम्भिक अनुसन्धान पनि नगरी पक्राउ गरिएको थियो । जाहेरी परेपछि सामान्य सोधपुछ नगरी, एक पटक पनि पत्र नकाटी पक्राउ गरेर मात्र अनुसन्धान सुरु गरिएको थियो । तर कसुर देखिने प्रमाण नभेटिएपछि उनलाई अदालतमा समेत पेस नगरी सिधै रिहा गरिएको हो । आधारभूत अनुसन्धानबिनै पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखेको भन्दै सिरोहियाले यो योजनामा संलग्नविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।

‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु,’ रिहाइपछि बुधबार साँझ जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘त्यस्तै म गैरनेपाली रहेको, मसँग दुई/तीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु । आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु ।’

उनले कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले आफूलाई पक्राउ गरिएको भन्नेमा कुनै शंका नरहेको समेत उल्लेख गरेका छन् । ‘फेरि पनि यो हरकतप्रति बिनाउत्तेजना, बिनाप्रतिशोध र बिनासम्झौता कान्तिपुरले आफ्नो पेसागत धर्म अविचलित रूपमा पूरा गर्नेछ । साथै, निर्भीक पत्रकारिता गर्दा आइलाग्ने कुनै पनि आक्रमणको डटेर सामना गर्न तयार रहेको पनि स्मरण गराउन चाहन्छु,’ उनले भनेका छन् ।

विज्ञप्तिमा आफूमाथि लागेको नागरिकतासम्बन्धी आरोप, पक्राउ र त्यसपछि प्रहरी र प्रशासनको शैलीबारे पनि अध्यक्ष सिरोहियाले टिप्पणी गरेका छन् । भनेका छन्, ‘बजारमा अनेकथरी हल्ला गरिए पनि मविरुद्ध मूलतः दुई आरोप लगाइएका थिए । अरू कोही व्यक्तिको नागरिकता र मेरो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु आफैंमा गैरजिम्मेवार हरकत थियो । अझ, नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटि भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई समेत दबाएर प्रहरीबाट मलाई पक्राउ गरिएको थियो ।’

सिरोहियाले नागरिकतामा अक्षर आफैं थपेको भनेर गम्भीर आरोप लगाइएको थियो । ‘हस्ताक्षर कसको हो भन्ने प्रश्नको जवाफ खोज्न नागरिकता जारी गर्ने अधिकारीलाई बोलाएर सोधपुछ गरिएको भए यो प्रश्न तुरुन्तै हल हुने थियो, । तर, सरकारी कार्यालयका अभिलेख हेर्न र अधिकारीसँग सोधपुछ गर्नुको सट्टा मलाई किन पक्राउ गरियो भन्ने प्रश्नको उत्तर सचेत नागरिकले पाइसकेका छन्,’ उनले भनेका छन् ।

पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न आफ्ना वकिलहरूले पटक–पटक आग्रह गर्दा पनि आलटाल भएको विषयलाई पनि उनले सार्वजनिक अभिलेखमा राख्न चाहेका छन् । ‘आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने यस्तो प्रवृत्ति वास्तवमा कानुनी शासनका लागि चुनौती हो । पटक–पटकको ताकेतापछि सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्दा उहाँले हस्ताक्षर आफ्नो हो भनेर बयान कागज गरिदिनुभएपछि मेराविरुद्धको प्रपञ्च समाप्त भएको छ ।’

राज्यशक्तिको चरम दुरुपयोगबीच भएको भयानक षड्यन्त्रबीच पनि नेपाली प्रेसजगत्ले देखाएको ऐतिहासिक ऐक्यबद्धतासामु आफू नतमस्तक रहेको अध्यक्ष सिरोहियाको भनाइ छ । उनले नागरिक समाज, कूटनीतिक नियोग, प्रेस र मानवअधिकारसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठन, कानुन व्यवसायी अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूले न्यायको पक्षमा उठाएको आवाजका लागि आभार व्यक्त गरेका छन् । ‘सम्पूर्ण दुष्प्रचारबीच पनि कान्तिपुरमाथि विश्वास व्यक्त गर्ने विशेषतः जनकपुरका बासिन्दा तथा देश–विदेशका नेपाली दाजुभाइप्रति हार्दिक धन्यवाद भन्न चाहन्छु,’ अध्यक्ष सिरोहियाले भनेका छन् ।

प्रकाशित : जेष्ठ १६, २०८१ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?