अध्यक्ष सिरोहियालाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइयो

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

President Sirohia was brought to Medicity Hospital in Kathmandu for further treatment

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि जनकपुरबाट एयरलिफ्ट गरी ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचार तथा थप परीक्षणका लागि मेडिसिटी रेफर गरिएको हो ।उनलाई दिउँसो करिब साढे तीन बजेतिर हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको हो ।

सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण उपयुक्त अस्पतालमा लगेर नियमित स्वास्थ्य परीक्षण गरिरहेका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो । सोही आदेशअनुसार काव्य अस्पतालले अध्यक्ष सिरोहियाले नियमित परीक्षण गराइरहेको मेडिसिटी अस्पताल ल्याइएको हो ।

नेपाल मेडिसिटी अस्पतालका बोर्ड सल्लाहकार नविनकुमारका अनुसार हाल सिरोहियाको आपतकालिन कक्षमा आवश्यक परीक्षणहरू भइरहेको छ । उनका अनुसार परीक्षणको सबै रिपोर्टहरू प्राप्त भएपछि चिकित्सकहरूले सिरोहियालाई के-कस्तो समस्या रहेका छन् भनेर बिफ्रिङ गर्ने छन् ।
सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले गत मंगलबार थापाथलीस्थित कान्तिपुर मुख्यालयको कार्यकक्षबाटै पक्राउ गरी धनुषा लगेको थियो। अर्को दिन बुधबार जिल्ला अदालत धनुषाले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
तोकिएको अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमार्फत थप ५ दिन हिरासतमा राख्ने अनुमति मागेकामा अदालतले आइतबारसम्मको म्याद दिएको थियो । सिरोहियामाथि अनुसन्धानका लागि सोमबार फेरि थप तीनको म्याद थपिएको थियो ।

कान्तिपुर

Link copied successfully