अनुसन्धानलाई शीघ्रता दिन अदालतको आदेश

धनुषा जिल्ला अदालतद्वारा सिरोहियालाई थप ३ दिन थुनामा राख्न आदेश

जेष्ठ १५, २०८१

अजित तिवारी, मातृका दाहाल

Court order to expedite investigation

जनकपुर — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न आदेश दिँदै अदालतले अनुसन्धानलाई शीघ्रता दिन आदेश दिएको छ । तर, जसरी पनि पक्राउ गर्ने योजना साथ धनुषा सरुवा गरिएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले योजनाबद्ध ढिलाइ गरिरहेका छन् । 

सर्वसाधारणको बचत सहकारीबाट निजी कम्पनीमा ल्याएर अपचलन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने गत फागुन २३ मा गृहमन्त्री बनेका हुन् । गृह मन्त्रालयको नेतृत्वमा पुगेको दुई सातामै चैत ६ मा रामुराज कडरियालाई प्रजिअमा धनुषा सरुवा गरेका थिए, उनी चैत ८ मा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए । प्रजिअ चक्रपाणि पाण्डेलाई ८ महिना नपुग्दै सरुवा गरेर कडरियालाई पठाइएको थियो । 

धनुषा पुगेको एक महिनामा कडरियाले सबै तयारी गरी वैशाख १६ मा सिरोहियाविरुद्ध जाहेरी दिने व्यवस्था मिलाएका थिए । यसका लागि रास्वपाका मधेश प्रदेश कार्यसमिति सदस्य इन्द्रजितप्रसाद महतोलाई अघि सारिएको थियो । जाहेरी दर्ता भएलगत्तै गृहमन्त्री लामिछानेले एसपी भुवनेश्वर तिवारीलाई धनुषा पठाएका थिए । वैशाख २५ मा एसपी तिवारीले लामिछानेसँग गृह मन्त्रालयमा एक्लै भेटेर नयाँ कार्यक्षेत्र धनुषा आएका थिए । लगत्तै जेठ ८ मा सिरोहियालाई पक्राउ गरिएको हो । 

पक्राउ गर्न हतार गरिएकामा अनुसन्धान गर्न भने ढिलाइ गरिएको छ । आधारभूत अनुसन्धान पनि नगरी सिरोहियालाई पक्राउ गरेका उनीहरूले साक्षीलाई बोलाउन, फरेन्सिक परीक्षण गराउन ढिलाइ गर्दै सिरोहियालाई जसरी पनि लामो समय थुनामा राख्न खोजेका छन् । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले कानुनले परिभाषित गरेअनुसार अनुसन्धान गर्नुभन्दा पनि गृहमन्त्री लामिछानेको सचिवालयको ‘आदेश’ मा काम गर्दै आएका छन् । ‘मन्त्रीहरू आउँछन्, जान्छन् । उनीहरूले राज्यशक्तिको दुरुपयोग गर्न खोजे मन्त्री राष्ट्रसेवक निर्भीक बनेर उभिनुपर्ने हो । तर, स्थायी सरकारको जिम्मेवार अधिकारीले पनि सरुवाको डर र बढुवाको लोभमा आफ्नो जिम्मेवारीविरुद्ध सम्झौता गरेका छन्,’ सिरोहियाका अधिवक्ताको भनाइ छ । 

गृहमन्त्री लामिछानेको दबाबअनुसार सिरोहियालाई थुन्ने प्रपञ्च रचिएकामा एक साताअघि काठमाडौंबाटै नियन्त्रणमा लिइएको थियो । त्यसपछि स्थलमार्गबाट बुधबार बिहान धनुषा ल्याएर सुरुमा तीन दिन, त्यसपछि तीन दिन र तेस्रो पटक सोमबार थप तीन दिन म्याद थपिएको छ । अब उनलाई बिहीबार अदालतमा पेस गर्न भनिएको छ । 

सिरोहियासँग नागरिकता जुधेको भनिएका शिवजी साहु तेलीलाई पनि प्रहरी प्रशासनले दबाबमा राखेको छ । ई–रिक्सा चलाएर दैनिक गुजारा चलाउँदै आएका तेलीलाई बाहिरी मानिससँग नभेट्नु–केही नभन्नु भन्दै उनको संविधानप्रदत्त मौलिक हकमा बन्देज लगाइएको छ । यतिमात्र होइन, तेलीलाई को मानिस भेट्न आउँछन्, यसको पनि निगरानी गर्न प्रशासन–प्रहरीले सुराकी खटाएको छ । 

सिरोहियामाथि अनुसन्धान चलिरहेका बेला कान्तिपुरले केही दिनयता तेलीलाई भेटेर कुराकानी गर्ने प्रयास गरेको थियो । तर, उनी राति मात्र घर आउने र बिहानै अँध्यारोमा निस्कने अवस्थामा छन् । अरू बेला सडकमा रिक्सा चलाइरहेका भेटिने उनलाई कसैसँग नभेट्नु भन्ने आदेश आएकाले काम पनि छाडेका छन् । 

सोमबार भेटेर कुराकानीको प्रयास गर्दा उनी डराएको मनोविज्ञानमा थिए । ‘प्रहरीले कसैलाई नभेट्नु, कसैलाई केही नभन्नु भनेको छ । म तनावमा छु । घरको रोजीरोटी चल्ने सिटी रिक्सा घरमै थन्काउनु परेको छ । यसै पनि दमको समस्या छ । चिन्ताले सताएको छ,’ जनकपुरधाम उपमहानगरपालिका–२ स्थित देवानपोखरी पूर्वस्थित साहुजीटोलको भाडाको कोठामा भेटिएका उनले भने । उनले दुई पटक नागरिकताको प्रतिलिपि लिएको तर त्यसको नम्बर कति हो भन्ने हेक्का नगरेको बताए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully