कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अल्लोको झोलामा बजेट !

काठमाडौँ — सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार पौने ३ बजेतिर बजेट पारित गरेर सामूहिक तस्बिर खिचायो । मन्त्रिपरिषद्को सामूहिक तस्बिरमा प्रधानमन्त्रीको देब्रेतिर अर्थमन्त्री वर्षमान पुनले बजेट–पुस्तिका राखिएको झोला समातेका थिए । 

अल्लोको झोलामा बजेट !

लगत्तै बजेट वाचन गर्नका लागि मन्त्रिपरिषद्का सबै सदस्य संघीय संसद् भवन नयाँ बानेश्वरतिर लागे । सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसपछि पालैपालो उपप्रधानमन्त्री र मन्त्रीहरू संसद् भवनको प्रांगणमा प्रवेश गरेका थिए । त्यहाँ अर्थमन्त्रीले बजेट बोकेको तस्बिर खिच्न सञ्चारकर्मीहरू कुरेर बसेका थिए ।

त्यसैक्रममा अर्थमन्त्री पुन बजेट–पुस्तिका राखिएको झोला बोकेर संघीय संसद्का दुवै सदनको संयुक्त बैठकतिर जाँदै गर्दा पत्रकारहरूले तस्बिर खिचेका थिए । यसअघिका अर्थमन्त्रीहरूले ‘ब्रिफकेस’ वा विदेशमा बनेको छालाको झोलामा बजेट–पुस्तिका राखेर रातो रिबनले बेरेका हुन्थे । तर, यसपटक भने फरक दृश्य देखियो । अर्थमन्त्री पुनले नेपाली उत्पादनबाट बनेको झोलालाई बाहिरबाट रातो रिबनले बेरेका थिए र त्यही झोलामा बजेट–पुस्तिका राखेर ल्याएका थिए ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

अर्थमन्त्री पुनले बजेटमा नयाँपन दिने बताउँदै आएका थिए । त्यो नयाँपनको आभास बजेट बोक्ने झोलाबाटै दिन खोजेको आकलन त्यतिबेला गरिएको थियो । स्वदेशी उत्पादनलाई बढवा दिने गरी बजेट ल्याउन लागिएको भन्दै संसद् भवनमा सरोकारवालाहरूले कुरा गरिरहेका थिए ।

अर्थमन्त्रीको सचिवालयका अनुसार बजेट राख्नका लागि नेपालमा बनेको झोला प्रयोग गरिएको हो । यसपल्ट स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै अर्थमन्त्री पुनले नेपालमा बनेको कपडाको झोला प्रयोग गरेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान नै काठमाडौंको पर्यटकीय स्थल ठमेलबाट नेपाली उत्पादनबाट बनेको अल्लोको झोला किनिएको हो । अल्लोबाट बनेको उक्त झोलामा राखेर आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गरिएको छ । करिब १ घण्टा ५० मिनेट अर्थमन्त्री पुनले बजेट भाषण गरेका थिए ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×