कफी बनाउने ग्यारेज

विदेशबाट फर्केर झापाका लुका राईले दमकमा ‘ग्यारेज’ क्याफे सञ्चालनमा ल्याएका छन् । पुराना गाडीका पार्टपुर्जाले सजाइएको क्याफे कफी पारखीका लागि मात्र होइन, कफी बनाउन सिक्नेका लागि पनि केन्द्र बनेको छ । 

फाल्गुन २६, २०८०

पर्वत पोर्तेल

Coffee making garage

झापा — पुराना गाडीका पार्टपुर्जाले भरिएको छ कोठा । मोटरसाइकलको तेल ट्यांकीदेखि थोत्रा हेल्मेट छन् । अटोको काम नलाग्ने बडी । भित्ताभरि सजाइएका विभिन्न देशका नम्बर प्लेट । पुराना साइकलका रिङ । अनि ड्रम काटेर बनाइएको ‘एन्टिक’ सोफासेट । त्यही सोफामा लेखिएको छ, गाडीको ब्रान्ड यामाहा, सुजुकी, होन्डा आदि । नझुक्किनु होला यो गाडी बनाउने हैन, कफी बनाउने ‘ग्यारेज’ हो । 

झापाको उम्दा सहर दमकको थाना रोडसँगै सटिएको छ, ‘ग्यारेज’ क्याफे । कवाडी सामानहरूको सजावटले क्याफेमा रौनकता थपेको छ । क्याफेका सञ्चालक हुन्, शिवसताक्षी–९ दुधे, झापाका ३५ वर्षीय लुका राई । क्याफेका योजनाकार र डिजाइनर उनी आफैं हुन् । ‘क्याफेको इन्टेरियर डिजाइन मैले आफैं गरेको हुँ,’ लुकाले सुनाए, ‘यो बनाउँदा मैले कुनै मिस्त्री पनि प्रयोग गरिनँ ।’ 

मान्छेले काम नलाग्ने भनी मिल्काएका कवाडी सामानलाई लुकाले टपक्क टिपेर क्याफेमा सजाएका छन्, जसले क्याफेको रूपरंग नै भिन्न देखिएको छ । उनले बिर्तामोडदेखि विराटनगरसम्म धाएर थोत्रा सामान बटुलेका हुन् । दमकमा करिब दुई दर्जन क्याफे छन् । त्यो भीडमा उनको क्याफे भिन्न छ । ‘एकपटक छिरेको मान्छे फर्किएर आउने वातावरण मैले बनाएको छु,’ लुकाले सुनाए, ‘ग्राहकले चाहेजस्तो वातावरण क्याफेमा छ ।’ 

Coffee making garageलुकाको क्याफे कथा रोचक छ । मध्यमवर्गीय परिवारमा जन्मे । १० कक्षा सकेर विदेशिए । किन किन उनलाई १० कक्षाभन्दा माथि पढ्न मनै भएन । खासमा बाध्यताले हैन रहरले विदेशिएका थिए उनी । देश घुम्ने अनि, टन्न पैसा कमाउने रहर । 

सन् २००६ मा पहिलोचोटि कतार उड्दा १८ वर्षका मात्र थिए उनी । हेल्परका रूपमा देश छाडेका थिए उनले । घरको इन्टेरियर डिजाइनमा ६ वर्ष काम गरे । एकै कम्पनीमा लामो समय बिताएपछि दिग्दार लागेपछि उनले कम्पनी र काम मात्र होइन, देश नै फेरे । सन् २०१२ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीको विनबुदिक कम्पनीमा काम गर्ने गरी । शेख परिवारको कम्पनीमा उनी सिनियर हाउसकिपिङ सुपरभाइजर बने । नेपाल तथा अन्य देशका महिलालाई उनी हस्पिटालिटी तालिम दिन्थे । 

खाडीमा आउजाउ गरेरै १४ वर्ष बित्यो । यो अवधिमा सोचे जति पैसा पनि कमाए । अबुधाबीमा त उनको मासिक पारिश्रमिक नै पाँच लाख रुपैयाँ थियो । अबुधाबीमा झन्डै आठ वर्ष बिताए । मासिक पाँच लाखका दरले आठ वर्षमा उनले कति कमाए होलान् अनुमान लाउन गाह्रो छैन । 

कोभिड महामारीपछि उनले खाडी छाडे । सन् २०२० को पहिलो लकडाउनपछि उनी घर फर्किए । आफूखुसी फर्किन सरकारले बन्देज लगाएको थियो । यूएईबाट घर फिर्न ४८ हजार नेपालीले फाराम भरेका थिए । जसमा ८ हजारलाई मात्रै फर्किने इजाजत थियो । त्यसमा उनी पनि परे । ‘घर फर्किन पनि नेताहरूको सोर्सफोर्स लगाउनुपर्‍यो,’ उनले हाँस्दै सुनाए । नेपाल फर्किएर केही नयाँ काम थाल्ने योजना त उनले पहिल्यै बुनेका थिए । तर, लकडाउनले भाँजो हालेपछि योजना तुहिएला कि भन्ने त्रासमा परे । तर, संयोग नै भन्नुपर्छ योजना तुहिएन । बरु अझ मजबुत ढंगले अघि बढ्यो । 

कोभिड महामारीताका विदेशबाट फर्किएका ‘रिटर्नी’ हरूलाई उद्यम गर्न सहुलियत ऋणबापत बिनाधितो १० लाख उपलब्ध गर्ने सरकारको योजना थियो । उनले पनि ऋण लिएर उद्यम सुरु गर्ने मनसाय राखे । ऋण लिन झन्झटिला कागजी प्रक्रिया पनि पूरा गरे । 

Coffee making garageसबै काम सकेर ऋण लिन गएका उनलाई वाणिज्य बैंकका मेनेजरले सोधे, ‘ऋण लिन आउनु भा’रैछ धितो छ ?’ यो सुनेर उनी छक्क परे । उनीसँगै धितो नै नभएको त हैन । तर, बिनाधितो भन्ने अनि ऋण दिने बेलामा धितो माग्ने कुरा उनलाई मन परेन । 

ऋण पाउने आशामा ५० लाख बढी त लगानी गरिसकेका थिए । तर, ऋण पाएनन् । ‘बिनाधितो ऋण अभियानले मलाई काम गर्न हौसलाचाहिँ दियो,’ उनले थपे, ‘ऋण पाउने आशामा नै मैले उद्यम सुरु गरेको हुँ ।’ 

ठूलो लगानीमा क्याफे ग्यारेज बनाए दमकमा । दोस्रो, तेस्रो लकडाउन अनि कोभिडका थरीथरीको भेरिएन्टले क्याफे उद्घाटनमा तगारो लगायो । ग्यारेज बनेर थन्किएको छ । लगानी डुब्ने पो हो कि ! भन्ने भयले धेरै समय डेरा जमायो । त्यसमाथि उनले थालेको व्यवसाय दमकको ‘अफसाइट’ मा थियो । तर, अचानक कोभिडको महामारी मथ्थर हुँदै गयो । मुर्झाएका व्यापार व्यवसायहरू तंग्रिन थाले । अनि लुकामा पनि आस पलायो । ‘ग्यारेज बनेको वर्ष दिनपछि मात्रै सुरु गरियो,’ उनले थपे, ‘व्यापारबाट अहिले नसोचेको सफलता प्राप्त भएको छ ।’ 

Coffee making garageविदेशमा रहँदाबस्दा ‘एन्टिक’ टाइपका क्याफेहरू देखेका थिए लुकाले । त्यसलाई उनले आफ्नो उद्यममा जोडे । युवा पुस्ताका रहर, चाहनाबारे अध्ययन पनि गरे । युवाका चाहनाअनुसार नै आफूले क्याफे सुरु गरेको उनी बताउँछन् । ‘युवाहरूलाई मेरो कामले सन्तुष्ट पार्न सक्छु भन्ने विश्वास थियो,’ उनले थपे, ‘नत्र तीन वर्षसम्म क्याफे टिक्ने थिएन ।’ 

अहिले क्याफेमा दुई करोड बढी लगानी गरिसके लुकाले । क्याफेमा कफीसँगै बारिस्टा स्कुल पनि छ । १६ जना युवाले रोजगारी पनि पाएका छन् । पैसाभन्दा पनि भिजन र कन्फिडेन्स जरुरी ठान्छन् उनी । ‘काम गर्ने मान्छेलाई पैसा कहिल्यै बाधक हुँदैन,’ लुकाले आफ्नो अनुभव सुनाए, ‘मुख्य कुरा आइडिया हो, आइडिया भएपछि लगानी ठूलो कुरा होइन रहेछ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully