तीन फिल्म हलमा

फाल्गुन २६, २०८०

कान्तिपुर संवाददाता

In three movie halls

काठमाडौँ — राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’, ऐतिहासिक तथा सांस्कृतिक विषयवस्तुमा केन्द्रित ‘रंगेली’ र पारिवारिक फिल्म ‘उपहार’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।

नवल खड्काको निर्देशनमा तयार भएको ‘काँडेतार’ नेपाल–भारत सम्बन्ध र सीमा समस्यामा केन्द्रित छ । फिल्ममा खासगरी नेपालको सीमास्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथा फिल्ममा प्रस्तुत गरिएको छ । फिल्मले दुई देशबीचको सीमा समस्या हल गर्न सीमामा काँडेतार लगाउनुपर्ने सुझाव दिएको छ । 

फिल्ममा खड्कासँगै, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीले अभियन गरेका छन् । नादिया खड्का र सनया खड्का बाल कलाकार छन् । 

सामना फिल्म्स् प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र निर्देशक खड्काले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’ को छायांकन सौरभ लामाले गरेका हुन् । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् । 

त्यस्तै, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण मोरङको रंगेलीबारे बनेको फिल्म ‘रंगेली’ फिल्म अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको हो । 

फिल्ममा दयाहाङ राई र मिरुना मगरको जोडीको प्रमुख अभिनय छ । उनीहरूसँगै फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रूपेश झा, सुन्दर धिताललगायतले अभिनय गरेका छन् । फिल्ममा सुशान्त गौतम र हर्कुलस बस्नेतले संगीत भरेका छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ पनि शुक्रबारदेखि नै हलमा लागेको छ । रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, शिशिर राणा, अंशु महर्जनलगायतको मुख्य अभिनय रहेको यस फिल्मलाई सुलभ प्रतीक र समीक्षा देउजाले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, विष्णुकल्पित घिमिरेको छायांकन, मित्रदेव गुरूङको सम्पादन रहेको छ ।

कान्तिपुर

Link copied successfully