प्रधानमन्त्री दाहालले राजनीतिक बेइमानी गरे : कांग्रेस

फाल्गुन २४, २०८०

कान्तिपुर संवाददाता

Prime Minister Dahal committed political dishonesty: Congress

काठमाडौँ — कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । बिहीबार संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादी अध्यक्षसमेत रहेका दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।

आजको बैठकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गरेको लेखकले बताए । 

लेखकले भने, 'गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ । गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरुप नै अघि बढिरहेका थियौँ । तर प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो । त्यो राजनीतिक बेइमानी हो ।'

प्रमुख सचेतक लेखकले कांग्रेस संसद्को ठूलो पार्टी भएकाले विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । साथै कांग्रेस अहिले समीकरण बदल्नभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिकामा देखिने उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully