११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘ट्रेन्ड’ पछ्याउँदै

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको बनेपा–७ चाँदनीचोककी २६ वर्षीया एलिसा भैल सामाजिक सञ्जालमा देखिएका नयाँ ट्रेन्डबारे अभ्यस्त छिन् । ट्रेन्डबारे जानकारीसँगै फलो पनि गर्ने गर्छिन् । विशेष गरेर दुलहीका पहिरन र सरसजावटका विषयमा उनले निकै चासो राख्छिन् । पछिल्लो समय दुलहीको चुरामा दुलहा–दुलहीको नाम लेख्ने ट्रेन्ड चल्तीमा छ ।

‘ट्रेन्ड’ पछ्याउँदै

एलिसाले यस विषयलाई ख्याल गर्दै आएकी थिइन् । ‘फेसबुक, इन्स्टाग्राममा ब्राइडल नेम चुरा देख्दै आएको थिएँ,’ उनले भनिन्, ‘विवाहको सिजनमा बढी नै प्रयोग हुँदै आएको देखेको थिएँ । ब्राइडल नेम चुरा बनाउने इच्छा पनि थियो, कहाँ सिक्ने भन्ने लाग्थ्यो, सिक्ने अवसर पाएको थिइनँ ।’ वडा कार्यालयले प्रदान गरेको ब्राइडल नेम चुरा बनाउने तालिममा उनी अहिले सहभागी भएकी छन् । उनका अनुसार यो तालिममा सहभागी हुने इच्छा पूरा भएको छ ।

बनेपा–७ भीमसेनस्थानकी २७ वर्षीया सोनु प्रधान सिर्जनशील कार्यमा व्यस्त हुने गर्छिन् । सरसजावटका सामग्री बनाउने कार्यमा उनले बढी समय दिने गर्छिन् । शुभकार्यमा फोटोसुटका लागि प्रयोग हुने सजावटका सामान उनी आफैं पनि बनाउँछिन् । यस्तै, एयर रिङ, किरिङ, ग्रिटिङ कार्डलगायतका हस्तकलासम्बन्धी सीप छ उनीसँग । फुर्सदको समय उनले हस्तकलाको सीपमा आफ्नो समय व्यतीत गर्ने गरेकी छन् । त्यससँगै वडा कार्यालयले दिएको तालिममा उनले पनि ब्राइडल नेम चुरा बनाउन सिक्दै छिन् । बनेपा–७ भीमसेनस्थानकी ५६ वर्षीया साजना श्रेष्ठ र उनका देवरानीहरू अनिता श्रेष्ठ र रमिता बादे पनि नयाँ सीप सिक्न पाएकामा दंग छन् । ‘आफूले जानेको सीप साथी, आफन्त, छरछिमेकलाई पनि सिकाउँछौं,’ उनीहरू भन्छन् ।

उनीहरू जस्तै बनेपा नगरपालिका–७ का १९ महिलाले अहिले ब्राइडल नेम चुरा बनाउने तालिम लिइरहेका छन् । उनीहरूलाई बनेपाकी ३५ वर्षीया पूजा महाँजुले तालिम दिइरहेकी छन् । उनले ५ वर्षअघि युट्युबमा देखेर ब्राइडल नेम चुरा बनाउन थालेकी थिइन् । पछिल्लो समय दुलहीको शृङ्गारदेखि पहिरन सबै ट्रेन्डअनुसारकै प्रयोग हुन थालेको उनी बताउँछिन् । ‘दुलहीको चुरामा दुलहा–दुलहीको नाम लेख्ने चलनचल्ती बढ्दै गएको छ,’ उनले भनिन्, ‘बजारमा माग पनि राम्रै देखेर व्यवसाय सञ्चालन गर्ने सोच अघि बढेकी हुँ ।’

सुरु–सुरुमा केही गाह्रो लाग्ने भए पनि जानिसकेपछि ५ घण्टामा एक सेट चुरा तयार गर्न सकिने उनको भनाइ छ । एक सेट सामान्य चुराको ५/६ सय रुपैयाँमा पाइने र नाम लेखेको मिहिनेत र सजावटअनुसारको मूल्य थप हुने उनले बताइन् । पछिल्लो समय वैवाहिक वर्षगाँठ, जन्मदिनलगायतका शुभकार्यमा पनि उपहारका लागि यो चुराको प्रयोग हुन थालेको छ ।

प्रकाशित : माघ २७, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?