७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

सुदूरको सौन्दर्य चिनाइरहेका युवक

दोलखाको कालिञ्चोकमा हिउँ हेर्ने मानिसको भीड देखेपछि दार्चुलाका हिमालय भट्टको बाटो मोडियो, ६ वर्षयता उनले सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र चिनाइरहेका छन् । 
मेनुका ढुंगाना

अछाम — एक दशकअघि एसएलसी पास गरेपछि दार्चुलाको महाकाली नगरपालिका–३ का हिमालय भट्ट हेल्थ असिस्टेन्ट (एचए) पढ्न महेन्द्रनगर पुगे । एचएको पढाइ सकेर २०७४ मा उनी लोक सेवाको तयारीका लागि काठमाडौं हिँडे । हिउँद याममा साथीहरूले दोलखाको कालिञ्चोकमा हिउँ खेल्न जाने तयारी गरेका थिए ।

सुदूरको सौन्दर्य चिनाइरहेका युवक

हिमाली जिल्लामा जन्मे हुर्केका उनलाई हिउँ नौलो हुने कुरै भएन । तर, कालिञ्चोकमा उनको अनुभव भने बिल्कुल फरक थियो । खासमा हिउँ हेर्न पुगेकाको भीड देखेपछि उनी अचम्ममा परे ।

लोक सेवा परीक्षाको तयारी कक्षा लिइरहेका उनले त्यसपछि भने आफ्नो बाटो मोडे । हिमालयले मनमनै सुदूरपश्चिमको प्राकृतिक सुन्दरता पस्कने योजना बनाउन थाले । ‘हाम्रो ठाउँमा बाह्रै महिना हिउँ परिरहेको हुन्छ, सुदूरपश्चिममा यताका भन्दा धेरै राम्रा ठाउँ छन् । तर ती ठाउँको चर्चा किन हुँदैन भन्ने लाग्यो,’ उनले भने, ‘अब लोक सेवा तयारी छाडेर सुदूरपश्चिमका ठाउँ घुम्दै फोटो देखाएर प्रचार गर्ने योजना बनाएर बिदाको समयमा घर फर्किएँ ।’

त्यसयता २६ वर्षीय भट्ट अहिले सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र चिनाइरहेका छन् । ६ वर्षयता उनी कहिले अछामको रामरोशन पुग्छन्, कहिले बाजुराको बडिमालिका, कहिले खप्तडमा पुग्छन् । कैयौं पटक अपी र सैपाल हिमालको काखमा पुगिसकेका उनले अहिले घुमफिर गरेरै जीविकोपार्जन गरिरहेका छन् । सुदूरपश्चिमका विभिन्न ठाउँलाई सामाजिक सञ्जालदेखि देश/विदेशसम्म देखाइरहेका भट्टले घुमेरै जीवन चलाउन सक्छु भनेर प्रमाणित गर्नका लागि भने धेरै संघर्ष गर्नुपरेको बताए ।

काठमाडौंबाट फर्केपछि उनी कहाँ कसरी घुम्ने भन्ने विषयमा केही पनि योजना नबनाई घरबाट बजार जान भनेर निस्किन्थे । दार्चुलाभित्र प्रचार नभएर ओझेलमा परेका ठाउँ खोज्दै हिँड्न थाले । घरमा कुनै जानकारी नदिएर फोनको स्विच्ड अफ गरेर उनी गाउँगाउँ डुल्न थाले । एचए पढाएर लोक सेवा तयारीका लागि काठमाडौं पठाएको छोरो रित्तो हात फर्केर बेसुरले डुल्न थालेपछि बुबाआमाको गाली मात्रै पाएनन्, गाउँले र आफन्तले ‘फेरुवा’ भन्न थाले । बिनाकाम जथाभावी घुम्ने, फिर्ने व्यक्तिलाई सुदूरपश्चिममा फेरुवा भन्छन् । ‘आमाबुबाको सपना एकातिर, मेरो रहर अर्कोतिर भयो । म नयाँ–नयाँ ठाउँ खोजेर हिँड्न थालेपछि बुबाआमालाई छोरो बिग्रेछ भन्ने लाग्यो । मसँग संगत गर्ने गाउँका साथीभाइका बुबाआमाले फेरुवासँग संगत गरेको भन्दै गालीसम्म गर्न थाले,’ उनले भने, ‘बिस्तारै साथीभाइहरू टाढिए, परिवारबाट गाली पाएँ । तर पनि म आफ्नो उद्देश्य पूरा गर्छु भनेर लागिरहेँ ।’ सुदूरपश्चिमका अन्य जिल्ला घुम्नुअघि तीन वर्ष आफ्नै जिल्लामा घुमें । गतिलो क्यामरा नभएकाले उनी मोबाइलबाटै फोटो खिचेर ‘भिजिट दार्चुला’ नामको फेसबुक पेजबाट प्रचार सुरु गरे ।

‘दार्चुलाभित्रका धेरै ठाउँमा घुमे तर मसँग राम्रो फोटो खिच्ने क्यामेरा थिएन । मोबाइलबाट सोचेजस्तो फोटो आउँदैन थियो । म घुम्न जान्छु क्यामेरा किन्ने पैसा दिनुस् भनेर घरमा भन्न सक्ने अवस्था थिएन,’ उनले सुनाए । आफूसँग फोटो खिच्ने क्यामेरा नभएपछि चार वर्षअघि एक दिन उनले फेसबुकमा स्टाटस लेखे । ‘सुदूरपश्चिम चिनाउने चाहना छ । राम्रा तस्बिर खिच्न सकिरहेको छैन । अहिलेसम्म मोबाइलबाटै खिचिरहेको छु । राम्रो क्यामेरा भएको भए म धेरै राम्रो फोटो खिच्न सक्थें र सुदूरपश्चिमलाई चिनाउन सक्थें ।’

फेसबुकमा स्टाटस लेखेको ४ दिनमै उनलाई क्यामेरा किन्नका लागि १ लाख ३५ हजार रुपैयाँभन्दा बढी सहयोग जुट्यो । उनले अन्य ठाउँबाट पनि सहयोग जुटाएर केही समयमै ‘क्यानन ९० डी’ क्यामेरा किने । त्यसपछि उनलाई घुम्न अझै सहज भयो । नजिकै भए पनि दार्चुलाको सिद्धटोपीबारे धेरैलाई थाहा थिएन । जब हिमालय सिद्धटोपी पुगे, त्यताको फोटो भिडियो खिचे र त्यो ठाउँका बारेमा जानकारी दिए तब दार्चुलाको ठाउँ भन्दै गलत प्रचार गर्ने भन्दै गाली पनि पाए । ‘दार्चुलामा पनि यस्तो ठाउँ छ र भन्दै अचम्म मान्थे । अहिले धेरैजसो घुम्नका लागि जाने गरेका छन्,’ उनले भने ।

अहिले हिमालयसँग ड्रोन क्यामेरा छ, घुम्न जानलाई तीन जनाको टिम छ र पहिलेभन्दा धेरै सहज भएको छ । ‘मैले खिचेका तस्बिरको चर्चा हुने मात्र होइन, मिडियामा नाम आउन थालेपछि अहिले त बुबाआमा पनि खुसी हुनुहुन्छ । श्रीमती र बुबाको जागिर छ । अहिले त घुम्न जान्छु भन्दा परिवारबाट पनि आर्थिक जोहो हुने गरेको छ,’ उनले भने । उनी अहिलेसम्म अपी बेस क्याम्पमा ९ पटक, बाजुरामा पर्ने बडिमालिकामा ४, अछाम रामारोशनमा ६, सैपाल, सुर्मासरोवर, अपी, खप्तडलगायतका सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा धेरै पटक पुगिसकेका छन् । ‘एकै ठाउँमा फरकफरक सिजनमा जाँदा त्यताको सुन्दरतालाई फरकफरक तरिकाबाट देखाउन सकिन्छ, जति सुन्दरताको प्रचार भयो त्यति नै पर्यटक भित्रिन्छन् भन्ने लाग्छ र म घुमिरहन्छु,’ उनले भने, ‘अहिले धेरै पर्यटकीय क्षेत्रमा जानुअघि त्यता पुग्नेले एक न एक पटक त मलाई सम्पर्क गरेकै हुन्छन् ।’ आफूले खिचेका तस्बिरलाई रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेजमा हाल्न थालेपछि तस्बिरहरू पनि बेचिन थालेको उनले बताए । ‘अहिले तस्बिर किन्नेहरू पनि धेरै छन् । तस्बिर बेचेर नै आम्दानी भइरहेको छ,’ उनले भने ।

सरकारी निकायले पर्यटकीय क्षेत्रमा लगानी नै नगरिरहेको उनले बुझाइ छ । ‘कुनै ठाउँका बारेमा २०/२५ मिनेटको भिडियो डकुमेन्ट्री बनायो । प्रचारप्रसार भइहाल्छ भन्ने बुझाइ छ । धेरै बजेट खर्च गर्ने उपलब्धि देखिँदैन,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि पर्यटकीय क्षेत्रका बारेमा ज्ञान र बुझाइ नै छैन ।’ पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका नाममा डोजर चलाउने परम्परालाई रोक्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित : माघ २५, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?