११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कुसंस्कारविरुद्ध किशोरीहरू

विद्यालयमा गठन भएका परिवर्तनका संवाहक ‘च्याम्पियन अफ चेन्ज’ समूहमा आबद्ध किशोरीले बालविवाह, छाउपडी, जातीय विभेदविरुद्ध अभियानसँगै अनियमित साथीहरूलाई सम्झाइबुझाइ गरेर नियमित विद्यालय जाने बनाएका छन् 

कालीकोट, जुम्ला — कालीकोटको नरहरिनाथ–१ कोटवाडाकी १७ वर्षीया अञ्जु विष्टले दुई वर्षयता छाउगोठमा बस्नुपरेको छैन । १४ वर्षको उमेरमा पहिलो छाउ (महिनावारी) भएकी उनलाई आमाबुबा र बाजेबज्यैले नै गोठमा बसेर छाउ बार्न लगाएका थिए ।

कुसंस्कारविरुद्ध किशोरीहरू

गाउँमा गठन भएको किशोरी समूहमा आबद्ध भएर छाउगोठमा बस्दा हुने जोखिमबारे छलफल चल्न थालेपछि गोठमा नबस्ने सामूहिक निर्णयअनुसार आफूले पनि छाडेको अञ्जुले बताइन् । ‘महिनावारीका बेला अलग्गै गोठ बस्दा सर्पको डर हुने र चिसोमा सुत्दा बिरामी पर्ने समस्या भयो,’ उनले भनिन्, ‘गाउँका सबै किशोरीले छाउ नबार्ने सल्लाह गरेर घरमै बस्न थाल्यौं ।’

समूहमा आबद्ध किशोरीहरूले आफू पनि नबार्ने र घरका दिदीबहिनी, आमा र भाउजूले पनि गोठमा सुते सबैलाई प्रचार गर्ने अभियान चलाउने भनेपछि गोठमा बस्नुपर्छ भन्ने अभिभावक डराएर घर बस्दा पनि केही नभनेको उनले सुनाइन् । ‘गोठमा बस्ने त कोही छैनन् । घरभित्रै अलग्गै कोठामा बस्ने धेरै छन् । दूध, दही खान नदिए पनि घिउले भुटेको तरकारी खान दिन थालेका छन्,’ उनले भनिन् ।

नरहरिनाथ गाउँपालिकाको समन्वयमा पालिकाभित्रका माध्यमिक विद्यालयमा गठन भएका परिवर्तनका संवाहक ‘च्याम्पियन अफ चेन्ज’ (सीओसी) समूहमा आबद्ध किशोरीले बालविवाह, छाउपडी, जातीय विभेदविरुद्ध अभियानसँगै विद्यालय नियमित नआउने साथीभाइलाई सम्झाइबुझाइ गरेर नियमित आउने पनि बनाएको रमा मावि कुमाल गाउँका प्रधानाध्यापक हरिशचन्द्र बटालाले बताए ।

‘विद्यालयका भाइबहिनीमार्फत गाउँमा सचेतनाका काम गरेका छौं,’ उनले भने, ‘स्कुलले पनि प्रत्येक हप्ता कक्षागत अभिभावक बोलाएर बालबालिकाको सरसफाइ, नियमितता, घरमा पढाइ कुनाबारे छलफल चलाउने गर्छौं ।’ उनले विद्यालयमा महिनावारी भएकी किशोरीलाई प्याड फेर्न र आराम गर्न महिनावारी कक्ष पनि बनाइएको बताए ।

विद्यालयमा गठन भएको सीओसी कक्षामा किशोरीहरू सामाजिक कुसंस्कारविरुद्ध बोल्ने र आफैं पनि नमुना बन्ने गरेका छन् । कक्षा ९ मा अध्ययनरत नरहरिनाथ–३ की अञ्जु बुढाले छाउ नबार्ने र बार्न दबाब दिने अभिभावकलाई भेटघाट गरेर सम्झाउने अभियान सञ्चालन गरिरहेको बताइन् । नरहरिनाथका लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमाल गाउँका मावि तहमा गठन भएका किशोरी समूहले कुरीतिविरुद्ध अभियान सञ्चालन गर्छन् । छाउ बार्न छाडेपछि छात्राहरू विद्यालय पनि नियमित आउन थालेको नन्दादेवी मावि कोटवाडाका प्रधानाध्यापक रत्नसिंह साउदले बताए । किशोरीहरूले महिनावारी भएका बेला अचेल गाईभैंसीको दूध, घिउ पनि खाने गरेको नरहरिनाथ–१ का वडा सदस्य मानबहादुर विष्टले बताए । किशोरीकै नेतृत्वमा समाजमा रहेका कुरीति अन्त्य गर्न सहज भएको पाइएकाले वडा/पालिकाले पनि किशोरी समूहका लागि बजेट विनियोजन गरेको उनले बताए ।

समाज बदल्ने अठोट

जुम्ला सिञ्जाको राहदेव मावि मोफ्लामा कक्षा ८ अध्ययनरत १४ वर्षीया किशोरी प्रमिला रोकाया सामाजिक कुरीतिविरुद्धको अभियानमा लागेको तीन वर्ष भयो । उनी कहिले अभिभावकसँग छाउपडी प्रथा अन्त्य गर्ने विषयमा छलफल चलाउँछिन् भने कहिले महिला समूह, धार्मिक अगुवा भेला गराएर बालविवाहका बेफाइदाबारे सुनाइरहेकी हुन्छिन् । उनकी दौंतरी अवगेल परियार पनि महिनामा दुई/तीन पटक गाउँका अगुवासँग यस्तै बहसमा हुन्छिन् । पछिल्लो समयमा स्कुल र गाउँस्तरमा हुने सभा–समारोहमा उनी उद्घोषक पनि हुन् । उनीहरूजस्तै हिमा, कनकासुन्दरी र सिञ्जा गाउँपालिकाका झन्डै एक हजार किशोरकिशोरी कुरीतिविरुद्ध लडिरहेका छन् ।

हिमाको मोफ्ला र देयार गाउँमा मात्रै ५० किशोरीले अभियान चलाइरहेका छन् । उनीहरूले गत वैशाखमा उमेर नपुग्दै हुन लागेका तीन वटा बालविवाह रोकेका थिए । दुवै पक्षकासँग बसेर कानुनी व्यवस्था र कलिलै उमेरमा विवाह गर्दा हुने नोक्सानीबारे सम्झाउँदै तीन वटै पालिकामा किशोरीहरूले १५ भन्दा धेरै बालविवाह रोकेका छन् । उनीहरू विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयभित्र लैजान, अभिभावकलाई आयआर्जनका क्रियाकलापमा लागेर छोरीलाई पढाउन दबाब दिन, कुसंस्कार तोड्न धार्मिक सञ्जालदेखि बुढापाकासँग छलफल तथा स्थानीय सरकारसँग मिलेर नीति निर्माणदेखि कार्यान्वयनमा जोड दिन लागिरहेका हुन्छन् । जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले समाज परिवर्तनमा किशोरीहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा ३ वटा र ०७९/८० मा १५ वटा बालविवाहका घटना रोकिएका छन् । किशोरीहरूको अगुवाइमा उमेर नपुगेसम्म विवाह गर्न नपाइने सहमति गरी बालबालिकालाई अभिभावकको जिम्मा लगाउने गरेको प्रहरी निरीक्षक यमबहादुर बुढामगरले बताए । जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार स्वास्थ्य संस्थामा आर्थिक वर्ष ०७९/८० मा १ हजार ६ सय २९ जना गर्भावस्था जाँच गर्न आएका मध्ये ३ सय १२ जना २० वर्षमुनिका किशोरी छन् । यस्तै ०८०/८१ को कात्तिक महिनासम्म गर्भ जँचाउन आएका ५ सय ३ जनामध्ये १ सय २ जना २० वर्षमुनिका किशोरी रहेको तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्थिक वर्ष ०७८/७९ मा गर्भ जाँच गर्न आउने ५ सय ५६ मध्ये १ सय ८ जना २० वर्षमुनिका किशोरी छन् । यस्तै आर्थिक वर्ष ०७९/८० मा १ हजार ८० मध्ये १ सय ३१ जना २० वर्षमुनिका किशोरी रहेको तथ्यांक छ । चालु आर्थिक वर्षको कात्तिकसम्म गर्भावस्था जाँच गराउन आउने ३ सय ५९ जनामध्ये ३४ जना २० वर्षमुनिका रहेको प्रतिष्ठानका मेडिकल रेक्टर मेघराज बुढाले बताए ।

स्थानीय गैरसरकारी संस्था क्याड नेपालले सार्वजनिक गरेको तथ्यांकमा तीन वर्षयता हिमा गाउँपालिकामा ११ सय ७ जोडीको विवाह भएकामा ७ सय ५५ को बालविवाह भएको छ । सिञ्जामा ३ सय १ जनाले विवाह गरेकामा १ सय ८४ ले बालविवाह गरेका छन् । कनकासुन्दरीमा तीन वर्षमा १ हजार ५३ जोडीले विवाह गरेकामा ५ सय ७१ जनाले उमेर नपुग्दै विवाह गरेका छन् ।

प्रकाशित : माघ २४, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?