कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

मिथिला पेन्टिङको 'फ्युजन'

मिथिला विकास कोषले जनकपुरमा गरेको ६ दिने साहित्य–कला र नाटक महोत्सवमा नेपाल र भारतका करिब एक दर्जन कलाकारले आफ्ना क्यानभासमा मिथिला पेन्टिङको फ्युजन उतारेका छन् 
अजित तिवारी

जनकपुर — गत साता जनकपुरमा पेन्टिङ बनाउन निम्तो आउँदा नवलपरासीका विके नरबहादुरको मनमा जनकपुर, मिथिला, मधेश यस्तै–यस्तै भूगोलले घेरा हाल्यो । उनलाई थाहा थियो, मिथिलाको भूगोल (चौहदी) नेपाल र भारतसम्मै छ । उनले उत्सुक हुँदै विराटनगरका मिथिला पेन्टिङका चित्रकार एससी सुमनसित फोनमा कुराकानी गरे ।

मिथिला पेन्टिङको 'फ्युजन'

त्यसपछि नरबहादुरले मिथिलाको भूगोल विवाद र समाजको बनोटलाई मस्तिष्कको क्यानभासमा उतार्न भ्याइसकेका थिए ।

मिथिला विकास कोषले जनकपुरमा आयोजना गरेको साहित्य–कला र नाटक महोत्सवमा सहभागी हुन बिहीबार उनी जनकपुर पुग्दा सुमनसँगै जानकी मन्दिर र गंगासागर तलाउ वरिपरि डुले । उनले आफ्नो चित्रकलामा मिथिलाको जीवन्त तस्बिर पस्किन एक्लै पनि जनकपुरको अनेक चक्कर लगाए । उनले जनकपुरमा बनाएको पेन्टिङमा मिथिलाको सीमा विवादलाई रंगका अनेक कृतिमार्फत पस्किए ।

मिथिला पेन्टिङको स्वरूपमा नरबहादुरले तयार पारेको पेन्टिङको माथिल्लो भाग (उत्तर) मा हिमाल छ । दक्षिण भागमा उनले गंगा बगेको चित्र कोरेका छन् । पूर्वमा कोशी र पश्चिममा गण्डकी बग्दै गरेको दृश्य छ । उनले हिमालदेखि दक्षिणमा गंगा, पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्मै मिथिला रहेको पेन्टिङमा देखाएका छन् । एकतिर हिमाल र तीनतिरबाट नदीले घेरिएको उनको पेन्टिङको मध्यभागमा भने जानकी मन्दिर छ । जानकी मन्दिरकै मुनि रहेको पोखरीमा एउटा महिला नुहाइरहेको देखाइएको छ ।

‘नुहाइरहेको महिलालाई वस्त्र हाल्न बाँकी छ । यत्तिकै त अश्लील देखिएला,’ नरबहादुरले ठट्टा गर्दै भने । उनले आइतबार पेन्टिङ तयार पार्दा महिलाको शरीरमा सेतो सारी बेरिएको थियो । ‘पेन्टिङमा जनकपुरको कला–संस्कृति, भेषभूषा र रहनसहन पनि समेटिएको छ,’ उनले कान्तिपुरसँग भने, ‘जानकी मन्दिर परिसरमा बयलगाडा पछाडिको भाग सारीले छोपिएको छ । त्यहाँ नवविवाहिता ससुराली जाँदै गरेको बिम्ब छ । मन्दिरसँगैको माटोको घरका भित्तामा मिथिला पेन्टिङ कोरिएको छ ।’

नरबहादुरजस्तै जनकपुरमा पेन्टिङ बनाउने निम्तो पाएका एससी सुमनलाई भने यहाँको तिरहुतिया गाँछीले तान्यो । उनी बाल्यकालमा जनकपुर आउँदा तिरहुतिया गाँछीमा लाग्ने १५ दिने हटियामा खुबै रमाउँथे । त्यतिबेला लाग्ने हटिया पहाड–मधेशको संगम थियो । सुमनलाई हटियामा साँझपख हुने नाचगानको अझै सम्झना छ । ‘कान्छाले कान्छीलाई लगियो, वनको बाटो लालटिन बालेर...’ त्यतिबेलाको तिरहुतिया गाँछीमा लाग्ने हटियाको चर्चित गीत थियो । बिहीबार उनी जनकपुर पुग्दा टेम्पोवालालाई तिरहुतिया गाँछी लग्न भने । त्यहाँ पुग्दा उनी चकित मात्र होइन, आक्रोशित पनि बने । ‘१५ दिने हटिया लाग्ने तिरहुतिया गाँछी छैन,’ सुमनले भने, ‘वरिपरि सरकारी कार्यालय ठडिएका छन् । यो त राज्यद्वारा उजाड पारिएको देखियो ।’

उनले महोत्सवमा तयार पारेको पेन्टिङमा भने पुरानो गुलजार तिरहुतिया गाँछीको बिम्ब उतारेका छन् । उनको पेन्टिङमा विशाल इमलीको पेड (रूख) छ । त्यसको पृष्ठभूमिमा जनकपुर सहर कुँदिएको छ । गोदना शैलीमा बनाइएको सुमनको पेन्टिङमा मठमन्दिर छ र सहरी वातावरणलाई उतारिएको छ । ‘मैले बाल्यकालमा देखेको गुलजार तिरहुतिया गाँछी आफ्नो पेन्टिङमा देखाएको छु,’ उनले भने, ‘त्यहाँ लाग्ने हटियामा रमाइरहेका दृश्य छ ।’

६ दिनसम्म हुने साहित्य–कला र नाटक महोत्सवमा नेपाल र भारतका करिब एक दर्जन कलाकारले आफ्नो कलामा मिथिला पेन्टिङको फ्युजन गरेका छन् । पोखराका इसान परियारको पेन्टिङमा ताल र पानी हुन्छ नै । उनलाई पनि जनकपुरमा पेन्टिङ बनाउने निम्तो आउँदा यहाँको पोखरी र माछाले नै तान्यो । उनले यहाँ बनाएको पेन्टिङमा पोखरा र जनकपुर दुवै ठाउँको झल्को छ । माछापुच्छ्रे हिमाल, ब्रजबाराही मन्दिरसँगैको तलाउमा मयूरको डुंगामा जानकी मन्दिर तैरिरहेको दृश्य उनले क्यानभासमा उतारेका छन् ।

नेवारी चित्रकलामा कनटेम्पररी (समसामयिक) मा पोख्त सविता डंगोलले पनि महोत्सवमा तयार पारेकी पेन्टिङमा नेवार र मिथिलाको संगम झल्किन्छ । उनले बनाएको पेन्टिङमा सीता र धनुषलाई पृष्ठभूमिमा राखिएको छ । सीताको आँखाको बनोट उनले माछाजस्तै कोरेकी छन् । पेन्टिङमा सीताले लगाएको गहना नेवारी रहे पनि त्यसको बुट्टा भने मैथिली नै छ । डंगोलले गहनाको बुट्टामा मिथिलाको माछा, झुम्का र बुन्दीको प्रयोग गरेकी छन् । उनको पेन्टिङको मुनि पोखरी छ, जहाँ माछा तैरिरहेको छ । पोखरीको डिलमा रूख छ । रूखका पातलाई भने काइँयो बनाइएको छ ।

डंगोलको प्रायःजसो पेन्टिङमा काइँयो हुन्छ नै । सबै पेन्टिङमा काइँयो किन ? ‘मैले मास्टर्स गर्दा बनाएको पेन्टिङमा काइँयो थियो । त्यसपछि सबै पेन्टिङमा काइँयोले ठाउँ पाउन थाल्यो,’ डंगोलले भनिन्, ‘कपालमा जट्टा पर्दा काइँयोले सुल्झाउँछ । त्यसरी नै समाज पनि सुल्झियोस् भनेर सबै पेन्टिङमा काइँयो प्रयोग गर्छु ।’ उनी भने थान्का र पौवा पेन्टिङमा पोख्त हुन् । तर, उनलाई मिथिला पेन्टिङको माछाले बढी तान्छ । ‘माछा पानीमा स्वतन्त्र हुन्छ । मैले पनि पेन्टिङमा स्वतन्त्रता खोज्छु । मेरो पेन्टिङका बिम्ब मिथिला पेन्टिङसँग मिल्दोजुल्दो हुन्छ ।’ चित्रकार इसान परियार र डंगोल पति–पत्नी हुन् ।

काठमाडौंका नगेन्द्रप्रसाद पौड्यालले भने महोत्सवमा कन्टेम्पररी मिथिला कला कुँदे । नीलो रंगले पोतिएको उनको पेन्टिङमा पहेँलो रंगको ठूलो तिलक (टीका) बनाइएको छ । जनकपुर आउँदा उनी यहाँका मन्दिरका महन्थको निधारमा देखिएको टीकाको स्वरूप पेन्टिङमा उतारेका छन् । भारतको विहार मधुवनीका सञ्जय जयसवालले भने नेपालमा लोप भइसकेको र भारतमा थोरैमात्र प्रचलनमा रहेका तान्त्रिक पेन्टिङ बनाए । गणेशलाई पृष्ठभूमिमा राखिएको उनको पेन्टिङमा तन्त्रमन्त्रका सिम्बोल प्रयोग गरिएको छ । ‘मिथिला पेन्टिङको सुरुआत पनि कोहवर तन्त्रबाटै भएको हो,’ जयसवालले भने, ‘बोक्सी, तन्त्रमन्त्र, झिझिया, कोहबर तान्त्रिकसँगै जोडिएको हो । त्यसैले तान्त्रिक पेन्टिङ पनि मिथिला पेन्टिङ नै हो ।’

चित्रकार सुमनका अनुसार तान्त्रिक पेन्टिङ नेपालमा लोप भइसकेको छ । ‘भारतमा थोरबहुत यसको प्रयोग अझै छ,’ उनले भने, ‘ग्रह, दशा, दिन कस्तो छ, त्यसबाट मुक्ति कसरी पाउने ? तान्त्रिक पेन्टिङ त्यो परियोजनका लागि बढी बनाइन्छ ।’ उनले नेपालमा लोप भइसकेको तान्त्रिक पेन्टिङबारे जानकारी दिन महोत्सवमा यो विधा समेटिएको बताए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले मिथिला पेन्टिङसँगै रहेका चित्रकलाका अन्य आयामलाई एकैथलोमा राखेर कलाको रंग पस्किएको बताए । ‘सबै चित्रकार एकै थलोमा बसेर एकअर्काको पेन्टिङको फ्युजन गरेका हुन् । सबै कलाकारको क्यानभासमा मिथिला पेन्टिङको प्रयोग भएको छ ।’ शुक्रबारदेखि जनकपुरमा सुरु साहित्य–कला र नाटक महोत्सव बुधबार सम्पन्न हुनेछ ।

प्रकाशित : माघ २३, २०८० ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?