अछाम — संगीत र साहित्यको सिमाना हुँदैन भनेजस्तै कुनै बेला सुदूर र कर्णालीका कलाकारको सीमाभित्र सीमित देउडा अहिले देशभर फैलिरहेको छ । नेपाली गायन क्षेत्रमा नाम चलेकै कलाकारको रोजाइमा समेत देउडा गायन पर्न थालेको छ ।
सिन्धुपाल्चोकको एकलासे लेकमा जन्मे–हुर्केका गायक राजु लामा र अछाम मेल्लेखका आशिष महरको स्वरमा रहेको देउडा गीत हालै सार्वजनिक भएको छ ।
त्याँ पारि वनका दाउरा, हात लायाले भाग्दा
तेरी दीले गाली हर्यो, साली तेरा लाग्दा
ननु छैन खुर्सानी छैन, इमिलो सान्दैन
तैं मनी यी आँखा जाँदा, मन मेरो मान्दैन
काँ होला रानीको महल, काँ होला दरबार
कैल हो बालबच्चा पाउन्या, कैल हो घरबार
बजाउन्या कृष्णजी हुन् कि, बिन्दा वन बाँसुरी
ख्यालख्यालै हाँसखेल गरी, जाला रंग उडी
देउडाका यी टुक्का एक सातायता सुदूर र कर्णालीका हरेक मेला–महोत्सवमा घन्किरहेका छन् । सुदूर र कर्णालीको मुख्य संगीतका रूपमा रहेको देउडा अहिले अन्य गायक–गायिकाको रोजाइमा पनि परिरहेको छ । मंगोलियन हार्टमा स्पन्दन भर्ने पात्र हुन् राजु लामा । विभिन्न भाषामा गीत गाइसकेका राजुले भर्खरै देउडा पनि गाए । भ्वाइस अफ नेपालमा कोचका रूपमा राजु भएका बेला अछामका आशिष महर पनि त्यहाँ पुगे । राजुले आशिषसँग सहकार्य गरेर सुदूर र कर्णालीका लागि देउडा कोसेली दिने सोच बनाए । सांगीतिक क्षेत्रमा
आफ्नो भविष्य खोज्दै गरेका आशिषले पनि राजुसँग सहकार्य गरेर गीत निकाले । ‘देउडा गाउने रहर धेरै पुरानो हो । यसअघि रहर भए पनि देउडा गाएको थिएन,’ राजुले भने, ‘म हिमाली भेगको मान्छे, सुदूरपश्चिमका शब्द, लवज र टुक्काको मिश्रण गरेर देउडा गाउन सकिएको थिएन । आशिषकै शब्द संकलन हुँदा मलाई धेरै सजिलो भयो ।’ अहिले सबैले देउडा रुचाउन थालेको र देशैभरि देउडाको माहोल हुन थालेको उनको बुझाइ छ ।
नेपाली गायन क्षेत्रका कलाकार प्रमोद खरेलले ६ वर्ष अगाडि ‘देउडा खेल्छु चट्टै’ नामको देउडा गीत अनिता चलाउनेसँगै गाए । आफ्नो बाल्यकालमा देउडा सुदूरपश्चिममा मात्रै गाइन्छ भन्ने सुनेका झापाका प्रमोदले आफैं देउडा गाउन सकिन्छ होला भन्ने सोचेकै थिएनन् । बाल्यकालमा पनि गायक हुन्छु, पेसा पनि कलाकारिता नै होला भन्ने पनि नसोचेका उनी अहिले देउडा पनि गाइरहेका छन् । ‘९ कक्षामा पढ्दा घनघस्याको उकालो भन्ने पाठ पढेदेखि नै सुदूरपश्चिमका शब्द मेरो मानसपटलमा रहिरहेका थिए,’ उनले बाल्यकाल सम्झिँदै भने, ‘सुदूरपश्चिमको शब्द र गायिकीसँग परिचित थिएन । गायन क्षेत्र नै पेसा भएपछि यहाँका साथीहरूसँग परिचय हुन थाल्यो । मलाई सुदूरपश्चिमको भाषा र शब्दहरू पनि एकदमै मन पर्छ । त्यही हुटहुटीले देउडा गाउने बनायो । राइझुमा भन्ने गीत त उहिले नै सुनेको पनि हो । गाइन्थ्यो पनि ।’
डाफ्या राम्डो नौ रंगले, सुवा कोरीबाटी
जन्त घन्काई लैजाउ भन्न्या, काँ होली छोर्याट्टी
मुटु ताकी तीर चलाउन्या, सिकारीकै वन छ
नजरको गोली लागी, घाइत्या हुन्या मन छ
म त सुदूरको चेलो देउडा खेल्छु च्याट्टै
मै गायाको मै नाच्याको हेरी सुवा लट्ठै
डीबी खड्काको शब्द संकलनमा तयार भएको देउडा गीत गाएका खरेल देउडा सुन्दै जाँदा आफूलाई पनि मन पर्न थालेको बताउँछन् । ‘म त सुदूरको चेलो देउडा खेल्छु च्याट्टै भनेर गाइरहँदा म सुदूरपश्चिमकै छोरो हुँ भन्ने महसुस भयो, मैले गाएका देउडा सुदूर र कर्णालीमा मात्रै होइन, देशैभरि मन पराइयो । त्यसपछि देउडाप्रतिको माया झन् बढ्यो ।’
झापाकी रचना रिमाल पनि देउडा गाउनमा उस्तै रुचि राख्छिन् । पूर्वेली लवज, भाषा र संस्कारमा हुर्केकी रचनाले घर त बैतडी नामको देउडा गाएकी छन् । ‘मलाई पहिलेदेखि नै देउडा गाउन मन थियो । एक पटक गाउने अवसर पाएर गाएँ । अब आफ्नै लगानीमा देउडा गाउन मन छ,’ उनले भनिन्, ‘सुरुमा त सुदूरपश्चिमको शब्द सुन्दा पनि अनौठो लाग्थ्यो । अरूले गाएका देउडा सुन्दासुन्दै अहिले त म देउडाप्रेमी भइसकें ।’
पानी पनि सुसाइरन्या, बगिरन्या खोली
जति निको मुहार छ, उति निकी बोली
दिदीबहिनी दुई जना, जेठी हुँ मु घर्की
माया गर्न जान्याकी छु, निको संस्कारकी
रूपक चौधरी र रचना रिमालको स्वरमा रहेको यो देउडा पनि सुदूरपश्चिममा रुचाइएको भाका हो । ‘मलाई देउडा नाच्न पनि मन पर्छ । सुरुमा शब्द उच्चारणमा गाह्रो भए पनि गाउँदै जाँदा सजिलै हुने रहेछ,’ रचनाले भनिन् ।
