काठमाडौँ — सन् १९८५ मा आजकै दिन (फेब्रुअरी ५) मा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको जन्म भएको थियो । पोर्चुगलका रोनाल्डो हाल साउदी अरबको अल नासेर क्लबबाट फरवार्डका रूपमा खेल्छन् । रोनाल्डोले स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल करिअर सुरु गरेका हुन् ।
त्यसपछि उनले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट खेल्न थाले । सन् २००९ देखि भने उनले रियल म्याड्रिड क्लबबाट खेल्न थालेका थिए । २०१८ बाट युभेन्ट्सका लागि खेल्न थालेका रोनाल्डो तीन वर्षपछि म्यानचेस्टर युनाइटेड पुगेका थिए ।
व्यावसायिक फुटबल खेल्ने क्रममा ३७ वर्षीय रोनाल्डोले हालसम्म पाँच पटक बालन डी’अर र चार पटक युरोपेली गोल्डेन बुट जितिसकेका छन् । उनी सात लिग टाइटल, पाँच यूईएफए च्याम्पियन्स लिग, यूईएफए युरोपियन च्याम्पियनसिप र यूईएफए नेसन्स लिगसहित जीवनमा ३४ वटा ट्रफी विजेतासमेत हुन् । रोनाल्डोले हालसम्म ११ सयभन्दा बढी व्यावसायिक फुटबल खेलिसकेका छन् । उनले च्याम्पियन्स लिगका १ सय ८३ खेलमा १ सय ४० गोल र ४२ असिस्ट गरिसकेका छन् ।
पोर्चुगलको राष्ट्रिय टिमबाट भने उनले १८ वर्षको उमेरमा २००३ मा खेल्न थालेका थिए । देशका लागि उनले सयभन्दा बढी गोल गरिसकेका छन् । २०१५ मा उनी पोर्चुगिज फुटबल फेडेरेसनबाट सर्वकालीन महान् खेलाडी घोषित भएका थिए । त्यसको अर्को वर्ष पोर्चुगलले युरो कपको उपाधि हात पारेको थियो ।
