काठमाडौँ — सन् १९९१ मा आजकै दिन (फेब्रुअरी ७) मा बेलायती प्रधानमन्त्री जोन मेजरको हत्या प्रयास गरिएको थियो । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा बैठक चलिरहेका बेला आइरिस रिपब्लिकन आर्मी (आईआरए) ले मेजरलाई लक्षित गरी तीन राउन्ड मोर्टार प्रहार गरेका थिए ।
आक्रमणमा चार जना घाइते भएका थिए । आक्रमणका बेला प्रधानमन्त्री मेजरले खाडी युद्धका विषयमा ‘वार क्याबिनेट’ (सरकारद्वार गठित युद्धसम्बन्धी समिति) सँग छलफल गरिरहेका थिए । आईआरएले प्रहार गरेका तीनमध्ये एउटा ६४ किलोग्रामको मोर्टार डाउनिङ स्ट्रिटको पछाडिको बगैंचामा विस्फोट भएको थियो ।
विस्फोटमा दुई प्रहरीसहित चार जना घाइते भएका थिए । केही उचाइबाट गएका दुई मोर्टार भने डाउनिङ स्ट्रिटभन्दा केही पर खसेका थिए । आईआरएले उत्तरी आयरल्यान्डमा ब्रिटिस शासनविरुद्ध सशस्त्र अभियान चलाएको थियो । त्यसअघि आईआरएले १९८५ मा गरेको आक्रमणमा ९ जनाको ज्यान गएको थियो भने ४० घाइते भएका थिए ।
