अढाई महिनादेखि भूकम्पपीडितलाई ओत न आम्दानी

बाहिर गएर कमाएर ल्याउने जनशक्ति गाउँमै रोकिएपछि आयआर्जन ठप्प, पर्याप्त स्याहार नपाउादा पशुजन्य उत्पादन र बिक्री रोकियो

माघ ५, २०८०

कृष्णप्रसाद गौतम, हरिहरसिंह राठौर

जाजरकोट — नलगाड नगरपालिका–४ का पृथ्वीबहादुर विक दसैं मनाउन असोज अन्तिम साता घर फर्किए । तिहारलगत्तै फर्किने तयारीमा रहेका उनले न मजदुरीका लागि भारत जान पाए न घरमै बस्न । कात्तिक १७ को भूकम्पले घर भत्किएपछि १५ वर्षदेखि कामका लागि भारत आउजाउ गरिरहने उनको दैनिक अवरुद्ध मात्रै भएको छैन, त्यसयता आठ जनाको परिवार कष्टकर रूपमा त्रिपालमा बस्नुपरेको छ । 

‘त्रिपालले मात्र चिसो नथेग्ने भएपछि पुराना लुगा प्रयोग गरी वरिपरि बारेको छु, पालमा पराल बिछ्याए पनि रातभरि शीत चुहिन्छ,’ उनले भने, ‘धन्न पानी परेको छैन, नत्र चिसो थेग्न नसक्दा त्रिपालमै ज्यान गुमाउनुपर्थ्यो ।’ उनका बाबु ६८ वर्षीय पठानबहादुर दमका बिरामी छन् भने ६६ वर्षीया आमा बिर्मी बिरामी भइरहन्छिन् । दुई छोरा र छोरीमा पनि बेलाबेलामा रुघाखोकी र ज्वरोको समस्या देखिने गरेको उनले सुनाए । बारीमै त्रिपाल टाँगिएकाले गहुँ बाली पनि छर्न नपाएको उनले गुनासो गरे । ‘पालिकाले दिएको चामलले अहिलेसम्म धानेकै छ तर आमाबुबा र छोराछोरीलाई जाडोबाट जोगाउन मुस्किल भयो,’ उनले भने, ‘अहिलेसम्म म र जहान (श्रीमती) मात्र बिरामी भएका छैनौं, रोजगारी पनि टुट्यो, अब त के खाने भन्ने चिन्ता छ ।’ 

नलगाड–४ कै ४४ वर्षीय गोविन्द विकलाई पनि माघको चिसोमा श्रीमतीसहित ३ छोराछोरी जोगाउन मुस्किल छ । ‘त्रिपालमा बसेदेखि सुत्ने र खाने मात्र काम भएको छ, टहरा बनाउन कोही आउँछ कि भन्ने आसमा दिन बिताउँछौं, त्रिपालमा भएदेखि प्रत्येक साता कोही न कोही बिरामी परिरहेका हुन्छौं,’ उनले भने । त्रिपालले चिसो नछेकेपछि वरिपरि मकैको ढोडले अस्थायी बासस्थान बारेका छन् । भूकम्प आउनुअघिसम्म पत्नी मैसराले राडीपाखी बुनेर केही घर खर्च निकाल्थिन् भने उनी गाउँ आसपासका बजारमा सिकर्मीको काम गर्थे । अहिले काम नहुँदा आम्दानी रोकिएको छ भने ५ रोपनी जग्गा पनि बाँझै छ । ‘टहराका लागि वडाका कर्मचारी आएर आफैं पैसा दिन्छन् भन्ने सुनेको, अझै यहाँ कोही पनि आएनन्,’ उनले भने, ‘हाम्रो त बिल्लीबाठ भयो । 

भेरी नगरपालिका–१ का केशरबहादुर रावतले त्रिपालको बसाइ कहिले टुंगिने हो भन्ने अन्योल कायमै रहेको बताए । उनले ७ जनाको परिवार र पशुचौपायाका लागि बारीमा २ वटा त्रिपाल टाँगेका छन् । ‘खाना बाहिरै पकाउँछौं, त्रिपालबाट चुहिने शीत र जमिनबाट आउने चिसोले निद्रै पर्न गाह्रो हुन्छ,’ उनले भने, ‘न खेतीपातीको काम छ, न अरू कमाइकाज नै,’ उनले भने, ‘एउटा भैंसी र गाईलाई दिउँसो बारीमा छोडिदिन्छौं, भूकम्पपछि कुँडो पकाउन पनि सकिएको छैन ।’ सरकारले अस्थायी टहरा बनाउने रकम वितरण ढिलो गर्दा भूकम्प आएको दिनभन्दा बढी पीडा दैनिकजसो हुने गरेको उनको गुनासो छ । 

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ७० हजार ५ सय ६७ लाभग्राही कायम भएका छन् । भूकम्प गएको ७८ दिन पुग्दासमेत झन्डै २३ हजार ६ सय ३४ मात्र अस्थायी टहरा बनेका छन् । जाजरकोटमा ४२ हजार ५ सय २४ जना लाभग्राही छन्, जसमध्ये २६ हजार ८ सय ४८ परिवारको खातामा रकम पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार अहिलेसम्म ९ हजार ६ सय ३८ मात्र आवास निर्माण सकिएको छ । जसमध्ये ९ हजार १ सय १६ अस्थायी आवास सरकारी अनुदानबाट र ५ सय २२ आवास गैरसरकारी संस्थामार्फत निर्माण भएका हुन् । ‘सुरुमा स्थानीय तहहरूले समयमै तथ्यांक पठाउन ढिलाइ गर्दा समस्या भयो,’ उनले भने, ‘अहिले त पालिकाहरूको सिफारिसअनुसार आवश्यक रुकम नै भएन ।’ जिल्लामा अस्थायी आवासका लागि १ अर्ब ३ करोड रुपैयाँ आएको थियो । ‘सुरुमा स्थानीय तहहरूले समयमै तथ्यांक पठाउन ढिलाइ गर्दा समस्या भयो,’ उनले भने, ‘अहिले त पालिकाहरूको सिफारिसअनुसार आवश्यक रुकम नै भएन ।’

रुकुम पश्चिममा २८ हजार ४३ जना लाभग्राही कायम भएकामा २२ हजार ६५ जनाको खातामा रकम गएको छ भने १४ हजार ६ अस्थायी आवास निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार जिल्लामा अस्थायी आवासका लागि ७० करोड ८९ लाख रुपैयाँ आएको छ । अस्थायी आवासका लागि पहिलो किस्ताको रकमसमेत नपाउँदा भूकम्पपीडितहरूले सकीनसकी अस्थायी आवास बनाउन थालेको जाजरकोटको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले बताए । उनका अनुसार वडाभरि झन्डै ५ सय घर पूर्ण रूपमा भत्किए पनि ४० वटा टहरा निर्माण भएको जानकारी दिए । नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरले अस्थायी आवासका लागि रकम नआउँदा भूकम्पपीडित निराश बन्न थालेको बताए । उनको वडामा भूकम्पमा परी २७ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका थिए । वडाभरि ८ सय ५० घर पूर्ण रूपमा क्षति भएकामा अझै पनि मुस्किलले ५० वटा मात्र टहरा निर्माण भएका छन् । ‘चिसोले पालैपिच्छे बिरामी छन्, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीलाई बचाउनै मुस्किल हुन थाल्यो,’ उनले भने, ‘संघीय सरकारको रकम आएको छैन, केही टहरा स्वयंसेवकहरूले बनाएका छन्, केही पीडितले त अनुदानको आसै मारेर आफैं टहरा बनाउन थालेका छन् ।’

भूकम्पपछि चिसो, झाडापखाला, ज्वरोलगायतका कारण जाजरकोट र रुकुम पश्चिममा ३४ जनाको मृत्यु भएको छ । जिल्लाभरि भूकम्पपीडितहरू चिसोका कारण धमाधम बिरामी पर्न थालेका छन् । छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले चिसोका कारण दैनिक ५० देखि १ सय बिरामीको उपचार गर्ने गरेको बताए । उनका अनुसार अस्पताल आउनेमा झण्डै ६० प्रतिशत बालबालिका छन् । उनीहरू झाडापखाला, निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्याबाट पीडित भएको उनको भनाइ छ ।

भूकम्पले सबैभन्दा क्षति पुर्‍याएको नलगाड नगरपालिकामा पनि दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए । दुवै जिल्लामा अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताबापत करिब १ अर्ब ४६ करोड रुपैयाँ चाहिने भए पनि दुवै जिल्लामा ५०/५० करोड रुपैयाँ संघीय सरकारले निकासा दिएकाले समस्या भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले बताए । ‘केही ठाउँमा विवाद छ भन्ने कुरा पनि आयो,’ उनले भने, ‘केही स्थानीय तहलाई दिने पैसा नै पुगेन, जसका कारण रकम वितरण गर्न केही समस्या भयो ।’ 

पशुचौपाया र खाद्यान्नमा क्षति

जाजरकोट र रुकुम पश्चिमका १ हजार ५ सय ५३ गोठ भत्किँदा ५ सय १३ पशुचौपायाको मृत्यु भएको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूकम्पप्रभावित जिल्लाका झण्डै १० हजार पशुबस्तु अहिले बिचल्लीमा परेका छन् । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार गोठहरू भत्किँदा ५ करोड ५० लाख र गाईभैंसी, बाख्रा, बंगुरलगायतका चौपाया मर्दा २ करोड ५० लाख रुपैयाँको क्षति भएको छ । त्यस्तै, १ सय ५२ घरका १ हजार ४८ माहुरीको घार नष्ट हुँदा १ करोड १९ लाख र ८८ मेट्रिक टन खाद्यान्न नष्ट हुँदा ३८ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण संकलन गरिएको उनले जानकारी दिए । 

सामान्यतया जाजरकोटको उत्तरी भेग नलगाड र बारेकोटमा २ तले घरमा माथिल्लो तलामा परिवार र तल्लो तलामा गाईबस्तु बाँध्ने चलन छ । घर भत्किएपछि एक सय वर्गमिटरमा पाल टाँगेर बस्नुपर्दा जाजरकोटमा मात्रै १ सय ८२ हेक्टर जमिनको गहुँ र तोरीमा क्षति पुगेको र त्यसबाट ४ सय ८० मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ । 

बाहिर गएर कमाएर ल्याउने जनशक्ति भूकम्पकै कारण रोकिएपछि आयआर्जनमा समेत असर पुगेको बारेकोट गाउँपालिकास्थित पशुपन्छी विकास शाखा प्रमुख गोविन्द सिंहले बताए । उनका अनुसार भूकम्पले उत्पादन र उत्पादकत्व घटेको छ नै भूकम्पका कारण गोरुमा क्षति पुग्दा खेतबारी जोत्ने समस्या हुने र तत्काल पशुमा लगानी गर्ने किसानमा क्षमता नभएकाले पशुजन्य उत्पादनमा ह्रास आएको छ । उनले पर्याप्त स्याहार नपाउँदा पशुजन्य उत्पादन घटेको र बिक्री पनि ठप्प भएको जानकारी दिए । 

भूकम्प प्रभावित जिल्लाका पालिकालाई साबिकको अवस्थामा लैजान पशुपन्छी तथा खोर व्यवस्थापनमा झन्डै १० करोड, सडक, खानेपानी, सिँचाइलगायत १ सय ५० योजनाका लागि ४ करोड ५० लाख र माहुरी उत्पादन कार्यक्रममा १ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले बताए ।

जाजरकोट भुकम्प

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

हरिहरसिंह

Link copied successfully