दार्मामा २ सय अस्थायी टहरा बने

पुस २, २०८०

विप्लव महर्जन

सल्यान — जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कात्तिक १७ मा गएको भूकम्पले घर क्षति भएपछि त्रिपालमुनि बस्दै आएका दार्माका बासिन्दाका लागि १५ दिनमा स्वयंसेवकहरूले २ सय अस्थायी आवास निर्माण गरेका छन् । भूकम्पबाट घर क्षति भएपछि मंसिर १६ देखि विभिन्न राजनीतिक दल, स्थानीय तथा अन्य गरी ४ सय जना स्वयंसेवक अस्थायी आवास निर्माणमा खटिएका थिए ।

माओवादी केन्द्रका कार्यकर्ताले ५७, नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले २८ र स्थानीय तथा अन्यले १ सय १५ अस्थायी टहरा निर्माण गरेको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए । 

अस्थायी आवासका लागि खटिएका स्वयंसेवक १५ दिन बसेर फिर्ता भइसकेका छन् । अहिले स्थानीय आफैं मिलेर क्षति भएका घर भत्काउने, ढुंगामाटो हटाउने र थप अस्थायी टहरा निर्माणको काम गरिरहेको उनले बताए । उनका अनुसार दार्मा गाउँपालिकामा भूकम्पले १ हजार १ सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएका छन् । 

अस्थायी टहरा निर्माणका लागि पीडित सबैले पहिलो किस्ताबापतको २५ हजार रकम लिइसके पनि युवापुस्ता अधिकांश बाहिर भएकाले जनशक्तिको अभावमा निर्माणको काममा केही ढिलाइ भएको अध्यक्ष केसीले बताए । स्थानीय जनशक्ति अभाव भएपछि जिल्लाका विभिन्न स्थानबाट पुनः स्वयंसेवक आउने तयारी भइरहेको उनको भनाइ छ । भूकम्पले बस्नै नमिल्ने गरी घर क्षति भएपछि दार्मामा १ हजार १ सय ७९ परिवार विस्थापित भएका थिए । यीमध्ये दुई सय अस्थायी टहरामा, एक सय टेन्टमा र एक सय बढी सामान्य मर्मत गरेका घरमा बस्दै आए पनि अझै ५ सय परिवार बढी त्रिपालमा बसिरहेको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताए । 

बाहिरबाट आएका र स्थानीय गरी ४ सय स्वयंसेवकमध्ये आधाभन्दा बढी फिर्ता भएपछि अहिले जनशक्तिको अभाव भएको उनले बताए । युवायुवती प्रायःजसो रोजगारी र शिक्षाका लागि बाहिर गएका कारण बूढापाका र महिलाहरू काममा खटिएको उनको भनाइ छ । प्रतिदिन बढिरहेको चिसोले पछिल्लो समयमा त्रिपाल तथा घरमा बसेका ५ सय बढी जेष्ठ नागरिकमा दम, छाती दुख्ने र फोक्सोसम्बन्धी रोगको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।

चिसोका कारण केही बालबालिकामा निमोनिया र टाइफाइडको पनि समस्या देखिएको उनले जानकारी गराए । कुमाख गाउँपालिकामा १ सय ८० घर पूर्ण रूपमा क्षति भएकामा अहिले ५० भन्दा बढीले अस्थायी टहरा निर्माण गरिसकेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जिल्लाभर १ हजार ७ सय बढी घर पूर्ण रूपमा क्षति भएकामा अहिलेसम्म दार्मामा ४० वटा अस्थायी टहरा निर्माण भएको तथ्यांक आएको र अपडेट गर्न बाँकी रहेको बताए । टहरा निर्माणको काम भने भइरहेको उनले बताए ।

जाजरकोट भुकम्प

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully