भूकम्पका कारण पूरै भत्किएका, मक्किएका र चर्किएका घरको भग्नावशेष पन्छाउन युवा नै छैनन् गाउँमा
रुकुम पश्चिम — सानीभेरी गाउँपालिका–४ गोलचौरकी डम्बरा विक भूकम्पले भत्किएको आफ्नो घरछेउमा अस्थायी टहरा बनाउने सुर कसेको धेरै भयो । तर केही मेसो आएको छैन । कारण हो, काममा सघाउने मान्छेको अभाव । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
आफूलाई घरमा ८ वर्षकी छोरी र ३ वर्षको छोरा हेर्नै ठिक्क हुँदा काममा सघाउने मान्छे छैन । ‘उताबाट पैसा त पठाउनुभएको छ । पैसा दिएर पनि काममा लगाउने मान्छे पाइन्न,’ उनले भनिन् ।
यस्तै व्यथा छ, गोलचौरकै ७७ वर्षीय चमारे ओलीको । भएको एउटा छोरा विदेशबाट फर्किन नमिलेका कारण यतिबेला ओलीलाई अस्थायी टहरा बनाउने त परको कुरा भूकम्पले चिराचिरा परेको घर भत्काउनसमेत सकस छ । कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले छिमेकी रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । यसका साथै जिल्लाका अन्य चार पालिकामा पनि भूकम्पको असर गर्यो ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबारसम्म जिल्लामा १९ हजार ९ सय ३४ वटा अस्थायी टहरा बनाउनुपर्ने छ । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले स्थानीय तहबाट लाभग्राही पहिचान गर्ने क्रम जारी रहेकाले यो संख्या बढ्ने बताए । अहिलेसम्म अनुदानबापतको रकमले १५ सय ५६ र श्रमदानमार्फत ७ सय ९१ वटा मात्रै अस्थायी टहरा बनेको बडुवालले जानकारी दिए ।
रोजगारका सिलसिलामा घरभन्दा पररहेकाले पैसा पठाए पनि ज्यालामा काम लगाउने मान्छे नभएको सानीभेरी–२ का वडाध्यक्ष मानबहादुर पुनले बताए । ‘यो बेला कसलाई काम गर्न आइदे भन्ने ? सबैको घर भत्किएको छ,’ उनले भने, ‘तैपनि टोलहरूमा अर्मपर्ममार्फत काम गर्ने प्रयास गरिरहेका छौं ।’ विभिन्न राजनीतिक दल र संघसंस्थाले गरेको श्रमदानले पीडितलाई टहरा बनाउन धेरै टेवा पुगेको वडाध्यक्ष पुनको भनाइ छ ।
स्थानीय काठपात प्रयोग गरेर अस्थायी आवासका लागि टहरा बनाइरहे पनि चाहिएका बेला पर्याप्त कामदार नहुँदा समस्या भइरहेको आठबिसकोट–११ का दीपेन्द्र मल्लले बताए । ‘काठपातको अभाव छैन, टिन किन्ने पैसा पनि सरकारले दिने भनेपछि झन् सजिलो भएको छ । यहाँ त काममा सहायता दिने मान्छे पो भेट्टाउन मुस्किल भयो,’ उनले भने, ‘विभिन्न ठाउँबाट सहयोग गर्न मान्छेहरू नआएका होइनन् । तर गाउँमा धेरै घर बनाउनुपर्ने छ । यसकारण मान्छे धेरै चाहिएको छ ।’
भूकम्पका कारण पूरै भत्किएका, मक्किएका र चर्किएका घरको भग्नावशेष पन्छाउन अलि ठूलो आँट चाहिने भन्दै आठबिसकोट–१३ का दीपक थापाले यस्तो काममा युवाहरू जरुरी पर्ने बताए । ‘तर गाउँमा युवा नै छैनन् । भएका जति कोही विदेश त कोही देशकै विभिन्न ठाउँमा छन् । गाउँघरको यस्तो हालत हुँदा पनि उनीहरू फर्किन मन गरेनन्,’ थापाले सुनाए, ‘आपतमा समेत गाउँ नफिर्ने सन्तानका कारण एकातिर भत्किएको घर बन्न ग्राहो भयो, अर्कोतिर बुद्ध बाआमाहरूको मनको घर पनि कमजोर भयो ।’
भग्नावशेष व्यवस्थापन तथा अस्थायी टहरा निर्माणका लागि जिल्लाबाट कात्तिक २४ गतेदेखि सानीभेरीमा ३५ र आठबिसकोटमा ४० गरेर ७५ जना नेपाली सेना तथा मुसीकोटमा १०, त्रिवेणीमा १० र चौरजहारीमा १५ जना गरी ३५ जना सशस्त्र प्रहरी खटिएको निमित्त प्रजिअ बडुवालले जानकारी दिए । अस्थायी आवासको काम पूरा नसकिएसम्म यो टोलीले काम गने उनको भनाइ छ ।
गाउँमा मान्छे नहुँदा टहरा निर्माणको काम प्रभावित भएको भन्दै आठबिसकोट–१४ का वडाध्यक्ष हुकुमबहादुर पुनले भूकम्पपीडितलाई अब पनि अस्थायी आवासमा सार्न नसक्ने हो भने उनीहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पर्ने बताए । ‘चिसो बढेकौ बढ्यै छ । अस्थायी आवास बनाएर उनीहरूलाई राख्न सकिएन भने भूकम्पमा परेरभन्दा बिरामी परेर मान्छे धेरै मर्ने खतरा छ,’ उनले भने, ‘के गर्ने, गर्ने भइरहेको छ । सबै आ–आफ्नो ठाउँबाट लागेकै छन् । तर चाहेजति टहरा बनाउन सकिएको छैन ।’ साथै उनले सक्नेले यो बेलामा श्रमदान गरिदिन पनि अनुरोध गरेका छन् ।
