जाजरकोट — पक्की घरसमेत भूकम्पले चर्केपछि रावतगाउँकी कल्पना नेपाली, शान्ता नेपाली र पूजा वादीको परिवार आँगनमा एउटै पालमुनि सुत्छन् । घरभित्रका खाट, लुगाफाटा निकालेर सुत्ने व्यवस्था गरेका छन् ।
चारवटा खाटमा तीन परिवारका ६ केटाकेटी र १० वयस्क गरेर १६ जना सुत्छन् । आँगनको सतह नमिलेर खाट यताउति हल्लिन्छ । भूकम्प आएको ठानेर कल्पनाका ३ र १० वर्षका छोराछोरी झस्किन्छन् । ‘केटाकेटीहरू भूकम्प आयो, भागौं भन्दै कराउँछन्, यिनलाई राति सुताउनै सकिँदैन, अलिकति कहीं हल्लियो कि तर्सिहाल्छन्,’ कल्पनाले भनिन् ।
भूकम्पले मृत्यु हुने र घाइते हुनेमा महिला र बालबालिकाकै संख्या नै उच्च छ । जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार १ सय ५ जनाको मृत्यु भएकोमा सबैभन्दा बढी ५४ महिला र ४१ बालबालिका छन् । घाइते हुनेमा पनि महिला र बालबालिकाको संख्या धेरै छ । कक्षा ७ पढ्ने रावतगाउँकी दिया रावतले सुनाइन्, ‘डर लाग्छ नि फेरि भूकम्प आउला भनेर, मरिन्छ भनेर, मर्नेहरू पनि बच्चा र आमाहरू नै बढी छन् ।’
उनी सुर्खेत बसेर पढ्छिन् । दसैंतिहारको छुट्टीमा घर आएकी हुन् । दसैंतिहारको बिदामा पढ्ने बानी नबिग्रियोस् भनेर स्कुलले दिएको गृहकार्य लिएर घर आएकी थिइन् । भूकम्पपछि पढाइमा ध्यान केन्द्रित गर्न नसकेको सुनाइन् ।
जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १५७ पुगेको छ । जसमध्ये जाजरकोटका मात्रै १०५ जनाको मृत्यु भएको छ ।
